कहिलेकाहीं आफू जन्मिएको, हुर्किएको गाउँ सम्झिन्छु। गाउँले जीवनको महकमा निकैबेर टोलाउँछु। आँखाभरि छाउँछन् निर्दोष, निर्मल र निश्छल गाउँलेहरूको मुहार। स्वार्थरहित ती सहयोगी हातहरूको त्यो दिव्य माला आज पनि पूजनीय लाग्छ मलाई। एउटा घरमा पाउना आउँदा सम्पूर्ण गाउँ तयार हुन्थ्यो आतिथ्य सत्कारमा। एउटा घरमा श्राद्ध हुँदा पुछारको गाउँदेखि आआफ्नो घरबाट दही, दुध, फलफूल, तरकारी आइपुग्थ्यो कार्जे हुने घरसम्म। सहयोगको बलियो लौरो टेकेर त्यो समाज सुरक्षित थियो। समस्याको समाधान निमेष भरमा सबै मिलेर गर्थे। त्यसैले शान्तिको घुम्टो ओडेर बसेको समाज स्वस्थ पनि थियो।
आजको दिनमा मलाई सकस हुन्छ, ती दिनहरू सम्झिएर हेर्दा। यस्तो लाग्छ अब त हामी यान्त्रिक युगमा छौं, हामी अप्राकृतिक हुँदै छौं, असहयोगी बन्दै छौं। विश्वास छैन कसैलाई कसैप्रति। शंका नै शंकाको माखेसाङ्लोमा बेरिएका छौं। हामी जे हौं, त्योबाट निकै पर पुगिसकेका छौं।
मान्छे जस्तो देखिए पनि हामीबाट मानवता विलुप्त हुँदै छ। शान्त देखिने कोसिस गर्छौं तर हृदयको भित्रभित्र अशान्तिको सुनानी चल्दो छ। शान्त देखिने अभिनय मात्र गर्छौं। अशान्तिको आँधी क्षणभरका लागि मात्र थामिएको हुन्छ। ओठ हाँसे पनि हृदय आँसुमा डुबेको हुनसक्छ। तन, मन र वचनको लय भंग भएकाले जे देखिन्छ, त्यो दिगो नहुन सक्छ।

नवीनता ओड्ने लहडमा चिन्ताको पहाड उचालेर हिँडेका छौं नित्य। थाहा छैन अशान्तिको कारण। बेबास्ता गरेका छौं हामीलाई शान्तिको प्यासले व्याकुल पारेको छ। प्राकृतिक हाँसो भुलिसकेका छौं। हामीलाई हाँस्न, बोल्न, रमाउन, खुसी हुन र आनन्द बटुल्दै हिँड्न पनि विशेष कारण नै चाहिन्छ।
हामी अरूको खुसीमा खुसी हुन जान्दैनौं। रमाउन हामीलाई ठुलै कसरत गर्नुपर्छ। अरूको त कुरै छोडौं, आफूलाई पनि विश्वास गर्न संकोच लाग्ने समयमा उभिएका छौं। विडम्बना दुःखी हुन हामीलाई कुनै कारण नै चाहिँदैन। शंका गर्न कुनै तालिम लिनुपर्दैन तर शान्त हुन हामीलाई अभ्यास गर्नैपर्छ।
पठित, आधुनिक र सभ्य मानव समाजमा धोका, छल, कपट र घात हुन्छ पलपल। जीवन समर्पण गरेर आएकी श्रीमती श्रीमान्बाटै काटिने समयमा छौं। आमाको काखमा सन्तानहरू असुरक्षित हुने युगमा विमूढ भएका छौं। विश्वासको सगरमाथा ढल्दै गरेको डरलाग्दो अवस्थामा छौं। मन खिन्न हुन्छ दैनिक घट्ने यस्ता आतङ्ककारी घटनाहरू पढ्दा र सुन्दा। आखिर समाज, समय र सम्बन्ध किन यति असभ्य, अविश्वासी र आतंकित हुँदै छ?
मस्तिष्कभरि वर्तमान समयको कालो सूर्य मडारिएको वेला मेरो मन पुग्छ पूर्वको पवित्र भूमिमा। जुन भूमिमा चारदिन बिताएर आएकी छु सिमेन्टको यो निर्जीव सहरमा। पूर्वको भूमिमा उभिएर हेर्दा सहयोग, सेवा, सत्कार, सहअस्तित्व र विश्वासको ज्योति चारैतिर देखेर आएकी छु। प्रकृतिको लयबद्ध धुनमा मधुरिए आएकी छु।
मेरो अहोभाग्य, माइजोगमाई गाउँपालिका र थुमकेरानी काव्य उत्सवमा सहभागी हुन गएकी थिएँ। इलामको त्यो ईश्वरीय भूगोलमा जे देखियो, जे भोगियो त्यो कुरा आजको समयमा अपत्यारिलो पनि हुनसक्छ। कारण विशृंखलित समयको साक्षी हुँदै गर्दा स्वार्थरहित सेवाप्रति सजिलै विश्वास नगर्न सक्छौं तर सत्य सबैभन्दा माथि हुन्छ। यथार्थ कल्पनाभन्दा शक्तिशाली हुन्छ। पूर्वको उज्यालो नदेखेसम्म साँच्चै सभ्यता नै बुझ्न मुस्किल हुनेरहेछ। सभ्यताको जननी रहेछ पूर्वको भूगोल।
मलाई यस्तो लाग्दै छ पूर्व भूगोल मात्र होइन, पूर्व त भावना, भरोसा, भविष्य, भाग्य, भगवान् र भकारीको विशाल थलो पनि त रहेछ। पूर्वले त शालीनता र सभ्यताको सुनौलो घुम्टो अडेर बसेको रहेछ। प्रकृतिको स्वर्ग, औषधीको जङ्गल, कला, संस्कृति, रीतिरिवाजको मौलिकताले सुगन्ध छर्दो रहेछ।
अतिथिप्रतिको सत्कार देख्दा लाग्यो पूर्वले त संस्कार, सद्भाव र सभ्यताको अमापनीय आकाश ओडेर बसेको रहेछ। पूर्वको माइजोगमाईको आँगनमा उभिएर हेरेकी छु चारैतिर। स्थानीयहरूको मुहारमा उज्यालो पोखिएको छ। उत्साहीत छन् आआफ्नो कर्ममा र अतिथिहरूको आगमनमा। बोलीमा अपनत्व छ। व्यवहारमा निश्छलता छ। मुहारमा सादगीपन छाएको छ।
साहित्यमा पर्यटन, पर्यटनमा साहित्य थुम्के कविता उत्सव २०८३ को मूल नाराले मलाई निकै उत्साहित तुल्याएको छ। साहित्यको यान चढेर नै म पनि यहाँ पर्यटक बनेर आएकी छु। मेरो चित्त प्रकृतिको मधुशालामा रमाएको छ। पर्यटनमा साहित्य भरिएको छ। आकाश हेर्दा पनि केही कोरौं कोरौं भएकी छु। रूपकी रानी थुम्केरानी आफ्नो सौन्दर्य सजिलै देखाउन मान्दिनन्। छोप्छिन् बादलको घुम्टोले आफ्ना सारा अवयवहरू।
मलाई प्यासी बनाउन लागिपरेकी छन्। माइगोजमाईको मौसम साँच्चै नव यौवना नै रहेछ, चञ्चल, अस्थिर। आकाश पगाल्न सक्ने सामथ्र्य रहेछ माइजोगमाईको धर्तीमा। लाग्थ्यो तातोले पो पगाल्छ तर थुम्केरानीको शक्ति यस्तो छ क्षणभरमै आकाश पगाल्छिन् सुलुलु। हेर्दाहेर्दै निमेषभरमा आकाश ओडेर मस्त निद्रामा जान्छिन्। पलभरमै फेरि पवित्र जलमा स्नान गरेर स्निग्ध भएर मुस्कुराउँछिन्। घरी पानी पार्छिन्। घरी बादलको खोलभित्र आफैं हराउँछिन्। घरी भुइँ कुहिरोलाई बोलाएर लुकामारी खेल्न थाल्छिन्। छिनको छिन घाम, पानी र बादलको होली खेल्छिन् र मलाई रनभुल्लमा पार्छिन्।
पूर्वबाट हरेक दिन उदय हुने नवीन घाम नित्य पान गरे पनि पहिलो पटक टेकेकी छु पूर्वको यो पून्य भूमिमा। प्राकृतिक सौन्दर्यपानले मेरो हृदय गद्गद् छ। आआफ्नो आकार र अस्तित्व लिएर मुस्कुराइरहेका चियाका गाँछहरू मलाई चिरपरिचित लाग्छन्। सँगीझैं लाग्छ यहाँको पवन। चियाबारीमा भौतिक रूपमा नआए पनि म बारम्बार आएकी छु भन्ने भावनाले उत्साहित भएकी छु। चियाबारीका गाँछमा खसेको शीतका थोपा थोपा बटुलेर हीराको माला बनाउँदै नाचिरहेकी आफैंलाई पाउँछु। धुपी, सल्ला, कटुसका हरिया रूखहरू सबैसबैले अतुलनीय सौन्दर्यको अवर्णनीय स्रोत लिएर मेरै स्वागतमा उभिएका लाग्छन्।
चारैतिर देखिएका पहाडी भूभागमा उभिएका काँडेदार धुपी र सल्लाका स्वरूपको बयान म गरौं कसोरी। प्रकृति शब्दकोशमा मेरा शब्दहरू विलिन हुँदै छन्। मैले इलामलाई मानेकी थिएँ, सुनेकी थिएँ, पढेकी थिएँ तर आज इलामलाई, इलामलाई भोग्दै छु। जान्नु र मान्नुमा कत्रो अन्तर हुनेरहेछ। निमेष भर आँखा बन्द गर्न मन छैन मलाई यो स्वर्गद्वारीमा। समेट्न मन छ सम्पूर्ण प्रकृति आफ्नै आँखामा। अग्ला अग्ला सल्लाका रुखहरू दिव्य आत्माझैं लाग्दै छन्। कल्पकल्पदेखि मागजोगमाईको धरामा समाधिस्थ योगीझैं लाग्दै छन्।
पहाडी भूभागमा अवस्थिति नयाँ बजारले स्वागतको माला लिएर उभिएको छ। बाल गुरुले स्थापना गरेको नयाँ बजार आत्मजागरणमा अगाडि रहेछ। सेवाको विशाल छाता ओडेर बसेको माइगोजमाईको भूमि मातातुल्य नै लाग्दै छ। होटल सञ्चालक चन्द्रमणि काफ्लेज्यूको व्यवहारमा कतै देखिएन व्यापार मात्रको सुक्खापन। आतिथ्य सत्कारमा कृत्रिमता छैन। हृदयभित्रबाट निस्किएको स्फटिक मुहारमा प्रकटित भएको छ। माटो छोडेर उडेका छैनन्, मानव गोडाहरू समृद्धिको परिधिहीन गगनमा। वास्तविक छ व्यवहार। स्थानीयहरू, शिक्षकहरूको मुहारमा उस्तै आत्मीय मुस्कान छ। माइजोगमाई साहित्यिक उत्सवमा समर्पित छन् स्थानीय बुद्धिजीविहरू।
हरियो इलामले हामीलाई शीतलता प्रदान गरेको छ। होटल सञ्चालको व्यवहारमा केवल पैसा कमाउने धपेडी छैन। हार्दिकता र मुस्कानसहितको छ व्यापार। अतिथिहरूलाई खादा लगाएर कोसेली पनि दिएर बिदा गर्ने हृदयले मेरो मन जितेको छ।
हार्दिकतापूर्ण व्यवहार नगरे पनि त पैसा त आउँथ्यो होला नि ! तर सेवा र सत्कारले पैसाको मुख हेर्दैन रहेछ। सम्पन्नता त हृदयको वस्तु रहेछ। मलाई यस्तो लाग्यो कृत्रिमताको अस्मेल बाढीलाई यस्तै यस्तै प्राकृतिक व्यवहारले पराजित गर्नसक्छ।
माइजोगमाई गाउँपालिका–१ मा अवस्थित श्री सांगछोलिङ गुम्बामा केहीबेर आँखा बन्द गरेर बस्दाको अपूर्व आनन्द बयान गर्न असमर्थ छु। शान्तिको विषय त मात्र अनुभवको पाटो रहेछ। शान्तिलाई शब्दमा समेट्न म किमार्थ असक्षम छु। सांगछोलिङ जैविक वुद्ध चिया बगानको चियाले हामीलाई हार्दिकतासहित स्वागत गर्दा मलाई यस्तो लाग्यो, जब मूललाई भेटिसकेको हुन्छ मान्छेले तब कुनै पनि धर्मले विभेद गर्दैन। सबै कुरा स्पष्ट हुन्छ। भेद त अज्ञानको सीमासम्म मात्र नै पो टिक्दो रहेछ। सूर्यको उज्यालोमा विभेद छैन। शीतल पवनले फरक व्यवहार गर्दैन। आकाश पनि भिन्न छैन। सिंगो आकाशले हामीलाई सुरक्षा प्रदान गरेको छ। तर हामी धर्मको नाममा, जातको अहंकारमा, लिंगको उन्मादमा, पद प्रतिष्ठाको दम्भमा किन अरूलाई होच्याउँछौं? किन अशान्ति निम्त्याउँछौं ?
गुम्बामा पलेंटी मारेर दीर्घ श्वास फेर्दा मलाई पृथक् लागेन यहाँको वायु। प्रत्येक श्वासको स्पन्दनले मेरो रोमरोम रोमाञ्चित हुँदै छ। गुम्बाको प्राङ्गणमा आँखा बन्द गरेर मैले फेरेका हरेक श्वास लयबद्ध भएर मलाई आनन्दित तुल्याउँदै छ। श्वासको स्पन्दनबाट उठ्ने तरंगमा कुनै भिन्नता छैन। अझ मेरो श्वासको झन्कारबाट ऊर्जा उत्पन्न हुँदै छ। म झुल्दै छु श्वासको अद्भुत पिङमा।
आनन्दको सागर हृदयभित्र नै विराजमान रहेछ। स्थान त सहायक तŒव मात्र त रहेछ। परम शान्तिलाई विभाजन गरेर विरोधको स्वर ठुलो पार्नु त ! सत्यको बोध नभएर पो रहेछ। अशान्त हृदयले प्रेमको भाषा सायद बुझ्न सक्दैन। अस्थिर मनले विभेदको सुस्केरा मात्र ओकल्दो रहेछ। गुम्बाभित्रको आतिथ्य सत्कारको अनुभवले हृदयको बारीमा समानता, संस्कार र सन्तुष्टिको ढकमक्क फूल फुल्दै छ।
घरमा पाउना आउँदा हामीले गर्ने व्यवहारले कति अन्तर पार्ने रहेछ। हृदयबाट उठेको प्रेमलाई बुझ्न समय नलाग्दो रहेछ। माइजोगमाईको भूमिमा प्रकृति मात्र होइन, मान्छे पनि प्राकृतिक रहेछन्। प्रकृति हाँसेको हेर्न जाने आधुनिक मनुवाहरू स्वयं मुस्कुराउन भुल्दै छन्। ओठमा मुस्कान लिएर हिँड्नु पनि कला हो। भेटिएका मान्छेलाई केही दिन नसके पनि कम्तिमा एक मुस्कान त छोड्न सक्छौं नि तर हामी मुस्कानमा पनि कन्जुस्याइँ गर्छौं। अपेक्षा गर्छौं खुसीको। खुसी हुन त पहिले आफूलाई हलुका बनाउन सक्नुपर्छ। सरल, सरस र स्वच्छ बनाउन सक्नुपर्छ। जबसम्म हामी अनावश्यक तर्क र विचारको भारी बोकेर हिँड्छौं, तबसम्म हामी जकडिँदा रहेछौं।
हामी कलाकार पनि त हौं तर आफ्नै आनन्दको हत्या गरेर गरिएको अभिनयको के अर्थ ! आफूलाई नै संकुचित र साँगुरो पारेर हिँडेको यात्राको पनि के काम। पलपल छुट्दै छ समय। समय नै त हो सम्पत्ति।
समयलाई सदुपयोग गरेर हाँस्ने कला सिक्न माइजोगमाईकी स्थानीय मिरा भण्डारीको घरले मलाई सिकायो। कति हार्दिकतापूर्ण व्यवहार। कति सहयोगी दम्पती। सहयोग, शान्ति, समानता र शालीनताको पाठ पढ्न विश्वविद्यालय धाउनै नपर्ने रहेछ। मिरा दिदीलाई विश्वविद्यालय जान नपाएको ठुलो खेद रहेछ तर मलाई यस्तो लाग्यो प्रकृतिको काखमा सिकेको यो अपार ज्ञान र मानवताको विशाल शिक्षा सहर पसेर कागजमा समेटिएको भए आज मैले माइगोजमाईमा आउँदा मिरा भण्डारीको यो दिव्यता कहाँ लेख्नसक्थें होला र ! तीनदिनको भेटले मलाई यस्तो अनुभव गरायो कि हामी त वर्षैंदेखि सँगसँगै छौं। देखावटीपन नै त रहेछ तनावको आधार। हामीलाई हामी जे होइनौं, त्यही देखाउने लालसा हुन्छ अनि चिन्ताको असिनाले नित्य चुट्छ।
मिरा दिदीको व्यवहार मलाई सन्तको जीवनजस्तै लाग्दै छ। उता हेमा भण्डारी, प्रभा पौडेल, चन्द्रमणि काफ्ले जोडी, विष्णुप्रसाद आचार्य, नारायण चँदार, केशवराज पौडेल, ढाकानाथ खतिवडा आदिको सरलता कति सादगीपूर्ण। प्रकृतिको संरक्षणभन्दा अगाडि त स्वयं प्राकृतिक जीवनयापनमा उत्रिनुपर्ने रहेछ भन्ने दिव्य ज्ञानले मलाई आलोकित पार्छ। प्रकृतिभन्दा भिन्न रहेर प्रकृति पूजा त अर्थहिन हुनेरहेछ। प्रकृतिले अभिमान गर्दैन, अन्याय गर्दैन र विभेद पनि जान्दैन। प्रकृतिमा उचनिच, धनी गरिब र छलकपटको त सम्भावना नै छैन तर छलकपट बोकेर हिँडेको छद्म मान्छे प्रकृति संरक्षणको फुस्रो नारा लगाउँछ।
ताक परे तिवारी, न त गोतामेको अवस्थामा प्रकृति प्रेम प्रकट भएको आभास हुन्छ मलाई। पर्यावरणको चिन्ता गर्ने मान्छे चुरोटको खिल्ली उडाउँछ हावामा। नदीको कविता लेख्ने कवि मलमुत्र प्याँक्छ नदीमै। प्लास्टिकको विरोध गर्ने यात्री खान्छ चक्लेट र हुत्याउँछ खोल बाटोमा, संरक्षणको नारा घोक्ने कवि पानी पिएर फ्याक्छ बोटल माटोमा। मिलेको छैन जीवनको लय। जीवन नै विशृंखलित भएको मान्छेले कसरी गर्छ प्रकृतिको रक्षा ?
सरलतालाई स्वीकार्न नजान्ने मान्छे कुनै हालतमा पनि प्रकृति प्रेमी हुन सक्दैन। आजको सभ्य समाजलाई छल, कपट, घृणा र तिरस्कारले गाँज्दै लगेको छ। हामी त अज्ञानको पगरी गुथेर जान्ने बन्ने भ्रममा छौं, जुन अनिश्चितता र असफलताको यात्रा हो। प्रकृतिभन्दा पर बसेर हासिल गरेको ज्ञानमा अभिमान मडारिएर बसेको छ। अप्राकृतिक विचारमा छैन शालीनता र सादगीपन। रिसको आगो आँखामा पौडिन्छ।
विरोध मात्र ओकल्न जानेका ओठहरूले सात्विक विचारलाई कसरी व्याख्या गर्छन् ! प्राकृतिक जीवन त सात्विक जीवन रहेछ। सात्विकाहार मात्र होइन, वाणीमा पनि सात्विक भाव हुनुपर्छ, विचारमा पनि अनि पो प्रकृतिलाई बुझ्न सकिन्छ अनि पो इलामलाई जान्न सकिन्छ। अनि पो पूर्वको उज्यालोलाई समेट्न सकिन्छ। माइजोगमाई, थुम्केरानी, नयाँबजार, फिक्कल र कन्याम घुमेर आएपछि मेरा स्वरहरू लयबद्ध हुँदै छन्, ‘बिउँझौंला कहाँ पूर्वको पैलो उज्यालै नरहे …।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।