ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

अमेरिकाका अनुभूति, नेपालको सम्झना

हरिप्रसाद उप्रेतीले नियात्रा विधाका दुइटा कृति प्रकाशित गरेका छन्। पहिलो नियात्रा कृति २०८० सालमा ‘अमेरिका यात्राका डोबहरू’ शीर्षकमा प्रकाशित भएको छ। त्यस कृतिले उप्रेतीको नियात्रा विधामा उनको लेखकीय वैशिष्ट्य स्थापित भइसकेको छ।

उप्रेतीको दोस्रो नियात्रा संग्रह पनि अमेरिकाकै हो। उनी २०८० साल असारमा अमेरिकाको दोस्रो भ्रमणमा निस्किए र तीन महिना उता बसे। स्वदेश फर्कंदा उता घुमेडुलेका ठाउँका स्मृति चित्रहरू, भेटिएका नयाँ मान्छेका स्मृतिबिम्बहरू अनि पाइलैपिच्छे आफूले गरेका नयाँ अनुभव र अनुभूतिका परिकार पनि लिएर आए। तिनै दृश्य, बिम्ब र अनुभूतिको लेखकीय सौगात हो– ‘अलोहा’।

नेपाली पाठकलाई ‘अलोहा’ नयाँ शब्द हो। यसको अर्थ ‘सहृदयी स्वागत, मित्रता, समादर, करुणा, भेट र बिदाइको हार्दिकतापूर्ण सम्बोधन जनाउने शब्द’ भनेका छन् लेखकले। विशेषतः अमेरिकाको हवाई द्वीपको स्थानीय जनबोलीमा लोकप्रिय रहेछ ‘अलोहा’। हवाई द्वीपको स्थानीय भाषामा ‘अलोहा’ एक अर्कोमा मनको शुभकामना, हार्दिकता, आत्मीयता, प्रसन्नता बाँड्ने, प्रकट गर्ने शब्द रहेछ भनेर बुझ्न सकिन्छ।

विज्ञापन

उप्रेतीलाई यस शब्दको भावार्थ प्रिय लाग्यो अनि नियात्रा कृतिको शीर्षकमै सम्मानित भयो ‘अलोहा’ शब्द। यो पुस्तक पढेर कोही पनि नेपाली हवाई पुग्यो भने उसले त्यहाँको स्थानीयसँग आफूलाई जोड्ने पहिलो शब्द ‘अलोहा’ हुनेछ। नियात्रा कृतिको शीर्षक नै ‘अलोहा’ राखेर नियात्राकारले हवाईवासीको परम्परागत सांस्कृतिक भाषा र हृदयलाई सम्मान गरेका छन्।

इन्डियाना राज्यमा पर्ने फोर्टवेन भन्ने ठाउँमा छोराबुहारी (आलेक र सदीक्षा) ले घर किनेका छन्। आफूले किनेको घर देखाउने छोराबुहारीको हृदयको आग्रहलाई बुबाआमाले टार्न सक्ने कुरा थिएन। यसै सन्दर्भमा हरिप्रसाद उप्रेती दम्पती अमेरिका पुगे। नियात्रा कृतिमा दोस्रो पटकको उप्रेतीको अमेरिका यात्रा र त्यसक्रममा भएका पारिवारिक हाँसोखुसी र आत्मीयताका पलहरू मगमगाएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–टर्कीको इस्तानबुल र अमेरिकाको सिकागो विमानस्थलसम्मका सप्ठ्यारा अप्ठ्यारा अनुभवहरू सँगाल्दै जब धर्मपत्नी यशोदासहित उप्रेती छोराबुहारीले किनेको फोर्टवेनको घरमा भित्रिन्छन्, त्यो क्षणको वर्णन गर्न उनीसँग शब्दहरू छैनन्। अति प्रसन्नताको क्षण निःशब्द रहन्छ।

उप्रेती फट्याङ्गे्रदेखिको आफ्नो जीवनको उकाली–ओराली, झापा–सुरुङ्गाको जीवनक्रम एवं पारिवारिक जीवनका अनेक भोगाइहरू भोग्दै छोराबुहारीले अमेरिकामा घर किनेर आफूलाई बोलाएसम्मका संयोगहरू एकपछि अर्को गरी आउँदैजाँदै गरेको स्मृतिका अन्तहीन पत्रहरू पल्टाउँदै अश्रुमय बन्छन्।

फोर्टवेनस्थित घर वरिपरिको सुरम्य प्राकृतिक वातावरणबाट मुग्ध भएका बेला नजिकैको पोखरीले उप्रेतीको कविहृदयको परीक्षण गर्छ। उप्रेती ‘मेरी तलावरी’ शीर्षकमा पोखरीसँग प्रेमिल काव्यिक परीक्षा दिन्छन्।

घुमेका ठाउँहरूपिच्छे फरकफरक अनुभवहरू भइ नै हाल्छन्। नेपालजस्ता विपन्न मुलुकका क्रेता वा बिक्रेताबिचको लुवाइमा फरक हुनु स्वभाविक हो। उप्रेती अमेरिकी हाटमा त्यस्तो नेपालमा देखिनेजस्तो भिन्नताको अनुभव गर्दैनन्।

उप्रेतीले पहिले पनि अमेरिकी जीवनशैलीको वास्तविक चित्र पहिलो नियात्रा ‘अमेरिका यात्राका डोबहरू’मा लेखेका छन्। यसपटकको दोस्रो यात्राक्रममा पनि त्यहाँको सम्पन्न समाज र त्यसभित्रको मानवीय यथार्थलाई झन् छर्लंग हुने गरी मूल्यांकन गरेका छन् उनले। पुँजीवादी विश्वको सामाजिक धरातलीय यथार्थ केलाउने क्रममा आफूले तत्काल पुनः प्रत्यक्ष अनुभव गरिरहेको अमेरिककी माटोमा उभिएर उप्रेती बाह्य मुलुकबाट अमेरिकामा आई बसोबास गरिरहेका आप्रवासीहरूको भोगाइका अन्तर्व्यथाहरू छाम्न पुग्दछन्। प्रवासीयाहरूको जीवनको बडो मार्मिक चित्रण उप्रेतीले गरेका छन्। अमेरिकामा स्थायी रूपमा बस्दै आएका आप्रवासीहरूको मन विभाजित छ। बाह्य सुखसुविधाको चञ्चलाश्रीमा कावा खाइरहे पनि मनको भित्री तहमा लघुताभाषको पीडा छ, भय र अनिश्चितता छ।

लेख्नु मात्र ठुलो कुरो होइन, कसरी लेख्ने त्यो बढी महत्त्वपूर्ण मानिन्छ। अमेरिकामा जन्मिएका आप्रवासी अमेरिकी सन्ततिको नियतिलाई पनि उप्रेतीले बडो मार्मिक मूल्यांकन गरेका छन्। यस्ता सन्दर्भहरूलाई नियात्रा लेखनका क्रममा जोड्दै गर्दा उप्रेती सामाजिक चिन्तकका रूपमा देखिन्छन्। उप्रेतीले अमेरिकामा पुगेर रमाइरहेका आप्रवासीहरूका हाँसोभित्र लुकेको आँसुलाई पनि देखेका छन्।

वर्तमानको अमेरिकाली संसार कसरी बन्यो त ? बेलायतको उपनिवेशका रूपमा रहेको अमेरिका स्वतन्त्र भएपछि त्यसअघिका अन्य मुलुकका मानिसहरू जो शताब्दीऔंदखि बस्दै आएका थिए, ती पनि अमेरिकी भए। क्रमशः विश्वभरिबाट आप्रवासीहरू थपिँदै गए। पुर्खा र पुर्खाको देश स्मृतिबाट हराएपछि ती अमेरिकी भए। उप्रेती लेख्छन्, ‘जुन दिन इतिहास चटक्कै बिर्सिन्छन्, त्यस दिन मात्र उनीहरूका हर सन्तान यताका हुन्छन् अनि उताकाले पनि हाम्रो भनेर गर्व गर्न छोड्छन् सायद। अनि नयाँ भूगोलको सान्निध्यले नयाँ इतिहासको निर्माण गर्दै जानेछ।’ (पृ. ६४)

फेरि पनि बसुन्जेल फोर्टवेन घुम्नुछ, छोराबुहारीसँग जता जाऊ भन्छन् उतै जानुछ उप्रेती दम्पतीलाई। जहाँ पुग्छन् उप्रेती त्यहाँको गहिरो अवलोकन गर्छन्, त्यसलाई टिप्छन्। जनजीवनको बाँच्ने शैली र संस्कार मौसम, सवारी साधनको गति, सपिङ मलमा सजाइएका सामानका मूल्य, सहरिया घर वरिपरिको प्राकृतिक सौन्दर्य, फोहोरमैला व्यवस्थापनको तौरतरिका, विभिन्न ठाउँमा रहेका सुन्दर उद्यानहरू, नयाँ सहरहरूमा आफूहरू पुग्दाका आपसी वार्तालापहरू आदि अनेक सन्दर्भहरूलाई उप्रेतीले सविस्तार वर्णन गरेका छन्।

स्थानविशेषका प्राकृतिक सौन्दर्यसँग उप्रेती सबैभन्दा बढी रमाउँछन्। म्याकिन्याक आइल्यान्डमा टेक्नेबित्तिकै लोभलाग्दा पंक्तिहरू लेख्छन्, ‘लेकको मौनतरंगमा सूर्यको किरण ठोकिँदा चम्किने पानी हिरामय भएको छ। अलि परसम्म नजर पु¥याएर टोलाउँदा चाँदीका चमकदार टुक्राहरू पौडिएको र तिहारमा घरबाहिर बालिने ससाना दियोले छर्ने उज्यालो जस्तो बत्तीको दृष्टि भएर थोपाथोपा भई जलाशयमा झरेको जस्तो देखिन्छ।’ (पृ. ८६) सूर्यका किरणमा पानी टल्केको वर्णन, क्या सुन्दर ! घरतिरको सम्झनाले उनलाई घरिघरि नेपाल पु¥याइरहन्छ।

प्रशान्त महासागरको गहिराइजत्तिकै उप्रेती अनुभूतिको गहिराइमा डुबेर आनन्दमा सुवर्णदानाहरू टिप्छन् र शब्दका माला गाँस्छन्– ‘सूर्यास्तको लालित्य आकाशमा छाउँदा प्रशान्त महासागरको पानीमा पनि लाली चढेको छ। आकाशमा बादलहरू पनि रक्तिम रंगमा डुबेका छन्। तिनीहरू सुनका डल्लामा चाँदीको किनारा जडिएका गहनाजस्तै देखिएका छन्।’ (पृ. १४४)

छोराबुहारीसँग बिदा भएर नेपाल फर्किने क्रममा हवाईमार्गको वर्णन पनि उप्रेतीले सविस्तार लेखेका छन्। पश्चिम नेपालको आकाशमाथि जहाज आइपुग्दा उनी रमाउँछन्। केहीबेरपछि एयरपोर्टमा ओर्लेर आफ्नो देशको माटो छोएपछि आमालाई भेट्न आइपुगेको अनुभूतिमा डुब्छन् उप्रेती।

जतिसुकै अव्यवस्थित भएपनि आफ्नो देश, आफ्नो माटोमा टेक्न आइपुगेका उप्रेती जन्मदात्री आमालाई सँगसँगै सम्झन्छन्। केही महिना विदेशमा बस्दाको मनोभावलाई क्रमशः आफ्नो माटो र परिवेशबाट उत्पन्न मनोभावले विस्थापित गर्दै जाने अनुभूतिलाई समेत समेटेका छन्।

जीवनलाई संयोगै संयोगको शृंखला मान्ने नियात्राकार उप्रेतीको ‘अलोहा’ अमेरिका भ्रमणका असंख्य संयोगहरूको अभिलेखन बनेको छ र यो नेपाली नियात्रा साहित्यको एक सुन्दर प्राप्ति बन्न पुगेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।