आकाशमा रङ्गीचङ्गी चङ्गा उड्न थाल्नु, घरआँगनमा लिङ्गे पिङ हालिनु, बजारमा नयाँ लुगा किन्नेको चहलपहल बढ्नु र रेडियो–टेलिभिजनमा मालश्री धुनसँगै दशैंका गीत गुञ्जिनु;यी सबैले दशैं नजिकिएको सङ्केत गर्छन्। अझ केही यस्ता गीत छन्, जसका धुन सुन्नेबित्तिकै मनमा दशैंको सम्झना आउँछ र गाउँघरदेखि सहरसम्म चाडपर्वको रौनक छाउँछ।
दशैं आउनु केही दिनअघिदेखि नै सञ्चारमाध्यममा दशैंका गीत बज्न थाल्छन्। कतिपय गीतले परिवारसँग बसेर चाड मनाउने खुसी दिन्छन् भने कतिपयले परदेशमा रहेका नेपालीको पीडा, घर फर्किन नपाउँदाको छटपटी र परिवारसँग छुट्टिनुको वेदना सम्झाउँछन्। त्यसैले दशैंका गीत मनोरञ्जनका माध्यम मात्रै होइनन्, नेपाली समाजको जीवनशैली, पारिवारिक सम्बन्ध र परदेशी जीवनका कथासमेत हुन्।
नेपाली सङ्गीतमा दशैंसम्बन्धी गीतको आफ्नै महत्त्व छ। पुराना कालजयी सिर्जनादेखि चलचित्रमा समावेश गीतसम्मले हरेक वर्ष दशैंको माहोल तताउँछन्। दशैंका बेला सर्वाधिक सम्झिइने र गुञ्जिने गीतमध्ये यी सात गीत विशेष छन्।

१. विछोडको पीडा नसकी खप्न दशैंको बेलामा…
दशैंसम्बन्धी गीतको चर्चा गर्दा सबैभन्दा पहिले सम्झिइने गीतमध्ये एक हो;‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा…’। गीतको सुरुवाती आलापसँगै धेरै नेपालीको मनमा दशैंको सम्झना ताजा हुन्छ। यसले चाडपर्वका बेला परिवारबाट टाढा रहनुपर्दाको पीडा र विछोडको भावनालाई जीवन्त रूपमा प्रस्तुत गर्छ।
नेपाली सङ्गीतका कालजयी गायक नारायणगोपालले सन् १९७० को दशकमा दार्जिलिङ पुगेर गायिका दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए। त्यसपछि नारायणगोपाल र दिलमाया खातीको स्वरमा कलकत्तामा रेकर्ड गरिएको यो युगल गीत दशैंको सांस्कृतिक स्मृतिसँग जोडिएको छ।
२. नमुछे आमा दहीमा टीका…
‘नमुछे आमा दहीमा टीका…’ दशैंमा घर फर्किन नपाउने र परिवारबाट टाढा रहेका नेपालीको मन छुने गीत हो। दशैंमा आमाको हातबाट टीका लगाउन नपाउँदाको पीडा यस गीतले मार्मिक ढङ्गले व्यक्त गर्छ।
भारतीय सेनामा रहेका नारायण रायमाझीका दाजु लक्ष्मण रायमाझीले सन् १९९९ तिर भारत–पाकिस्तानबीचको कार्गिल युद्धका बेला यो गीत लेखेका थिए। नारायण रायमाझीले लोकभाकामा गाएको गीत वि.सं. २०५७ मा कृष्णभक्त राईले विभिन्न बाजाको संयोजनसहित गाएपछि थप चर्चित बन्यो।
परदेशमा रहेका नेपालीका भावना, आमाप्रतिको माया र दशैंमा परिवारसँग भेट्न नपाउँदाको छटपटी समेटिएको यो गीत हरेक वर्ष दशैंका बेला उत्तिकै सान्दर्भिक लाग्छ।
३. दशैं नै हो कि यो मेरो दशा फर्किआएको…
दशैं खुसी र उमङ्गको पर्व हो। तर सबैका लागि दशैं समान खुसी लिएर आउँदैन। आर्थिक अभाव, बढ्दो महँगी र पारिवारिक जिम्मेवारीले थिचिएका मानिसका लागि दशैं थप बोझ बन्न सक्छ। यही यथार्थलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने गीत हो;‘दशैं नै हो कि यो मेरो दशा फर्किआएको…’।
योगेश्वर अमात्यको स्वर रहेको यस गीतमा न्ह्यू बज्राचार्यको सङ्गीत र प्रेम बस्नेतको शब्द छ। वि.सं. २०५० को दशकतिर संवादसमेत समावेश गरेर तयार गरिएको यो गीतले दशैंको परम्परागत उल्लासभन्दा फरक सामाजिक यथार्थ उजागर गर्छ।
दशैंमा खर्च धान्नुपर्ने दबाब र आर्थिक कठिनाइका कारण चाडपर्वसमेत बोझिलो बन्ने अवस्थालाई गीतले प्रस्तुत गरेको छ। त्यसैले यो गीत दशैंको रौनकसँगै समाजको अर्को पाटो सम्झाउने सिर्जना बनेको छ।
४. यसपाली दशैंमा ठूलो दाजु आउने रे…
दशैंमा परिवारका सदस्य घर फर्किने खबरले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उत्साहित बनाउँछ। विशेषगरी लामो समयपछि घर आउने आफन्तको प्रतीक्षामा हुने खुसीलाई समेटेको गीत हो;‘यसपाली दशैंमा ठूलो दाजु आउने रे…’।
कुल पोखरेलको स्वर रहेको यो गीत दशैंको पारिवारिक आत्मीयता र बालसुलभ उत्साहसँग जोडिएको छ। सरल भाव र मन छुने प्रस्तुतिका कारण गीतले बालबालिकासमेत धेरैको मन जितेको छ।
कुल पोखरेलको निधनपछि पनि यो गीतको लोकप्रियता घटेको छैन। विभिन्न गायकले यसलाई पुनः गाएर र कभर संस्करण तयार पारेर युट्युबलगायतका माध्यममा सार्वजनिक गरेका छन्। दशैंमा घर आउने आफन्तको प्रतीक्षालाई सम्झाउने यो गीत अहिले पनि धेरैको रोजाइमा पर्छ।
५. यो दशैंमा म घर आइनँ…
परदेशमा रहेका नेपालीका लागि दशैं सधैँ खुसीको पर्व मात्रै हुँदैन। काम, बाध्यता र परिस्थितिका कारण घर फर्किन नसक्दा परिवारसँग टाढिएर दशैं मनाउनुपर्ने पीडा उनीहरूले भोगिरहेका हुन्छन्। यही भावनालाई समेटेको लोकदोहोरी गीत हो;‘यो दशैंमा म घर आइनँ…’।
एसएसएस म्युजिकले बजारमा ल्याएको यस गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा तथा गीता कोइरालाले स्वरमा साथ दिएका छन्। गीतले घर फर्किन नपाएका नेपालीको व्यथा, परिवारसँगको दूरी र चाडपर्वमा झन् गहिरिने भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्छ।
लोकदोहोरीका पारखीमाझ लोकप्रिय यो गीत दशैंका बेला विशेष रूपमा सम्झिइन्छ। विदेश वा घरबाट टाढा रहेका नेपालीको मनमा परिवारसँगै बसेर चाड मनाउने चाहना जगाउने यस गीतले दशैंको अर्को यथार्थ उजागर गर्छ।
६. रातो टीका दशैंको जमरा…
दशैंका बेला चलचित्रका गीतले पनि घरघरमा रौनक थप्छन्। नेपाली चलचित्र ‘मनमन्दिर’ मा समावेश ‘रातो टीका दशैंको जमरा…’ त्यस्तै लोकप्रिय गीत हो।
अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहको अभिनय रहेको यस गीतले दशैंको परम्परा, उल्लास र पारिवारिक जमघटको झल्को दिन्छ। दशैंमा टीका र जमराको महत्त्वलाई सम्झाउने यो गीत पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका दर्शक–श्रोतामाझ परिचित छ।
चलचित्रको दृश्य र गीतको लयले दशैंको माहोललाई थप जीवन्त बनाउँछन्। त्यसैले वर्षौंदेखि दशैंका बेला यो गीत विभिन्न सञ्चारमाध्यममा गुञ्जिने गरेको छ।
७. दशैं आयो…
‘दशैं आयो…’ नेपाली चलचित्र ‘मुग्लान’ मा समावेश लोकप्रिय दशैं गीत हो। चाडपर्वको उमङ्ग, रमाइलो र सामूहिक उत्सवको भाव बोकेको यस गीतले विशेषगरी युवा पुस्तामाझ राम्रो लोकप्रियता कमाएको छ।
अभिनेता दिलीप रायमाझी, सुशील क्षेत्री तथा अभिनेत्री विपना थापालगायतका कलाकारको अभिनय रहेको यस गीतमा दशैंको खुसी र रमाइलो प्रस्तुत गरिएको छ। दशैंका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम, मेला र जमघटमा यो गीत बज्दा युवाहरू नाच्दै रमाउने गर्छन्।
मुग्लानमा काम गर्न गएका नेपालीका लागि घर र परिवारको सम्झना विशेष भावनासँग जोडिन्छ। यही कारण पनि परदेश, घरफिर्ती र दशैंको सम्बन्ध सम्झाउने यस गीतले धेरैको मन छुन्छ।
दशैंसँगै गुञ्जिने अर्को प्रिय गीत
यी सात गीतसँगै सुगम पोखरेलको स्वरमा रहेको ‘वर्ष र दिनमा लै लै…’ अर्थात् ‘दशैं तिहार’ पनि दशैंको माहोल बनाउने लोकप्रिय सिर्जनामध्ये पर्छ। रवि श्रेष्ठको शब्द रहेको यस गीतले परदेशमा रहेका नेपालीको भावना र चाडपर्वको उल्लासलाई समेटेको छ। दशैंदेखि तिहारसम्म गुञ्जिरहने यो गीत युवा पुस्तामाझ पनि उत्तिकै लोकप्रिय छ।
दशैंका गीतमा खुसी, विछोड, पारिवारिक माया, घर फर्किने प्रतीक्षा र आर्थिक कठिनाइका अनेक कथा भेटिन्छन्। कुनै गीतले आमाको हातको टीका सम्झाउँछ, कुनैले परदेशमा रहेका आफन्तको प्रतीक्षा गराउँछ भने कुनैले दशैंको रौनकमा लुकेको सामाजिक यथार्थ देखाउँछ।
त्यसैले दशैंका गीत केवल चाडपर्वका धुन होइनन्, नेपालीको भावना र जीवनसँग जोडिएका सांस्कृतिक सम्पदा हुन्। रेडियो, टेलिभिजन वा मोबाइलमा यी गीत गुञ्जिन थालेपछि धेरै नेपालीको मनले एउटै सन्देश दिन्छ;दशैं आयो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।