ब्रिटिश गोर्खा समुदायको घनत्व भएको रमाइलो गाउँ लाहुरे छुट्टीमा घर फर्कँदा उनी सबैका आँखैको तारा बन्थे। उनको सम्मानमा पूरै गाउँ नै जाग्थ्यो। आकाशबाटै खसेका देवता जस्ता, गाउँभरि फैलन्थ्यो उनको आगमन, सम्मान र सान। पोटिलो, चटक्क परेको कद काठी सबैलाई कोसेली। तेज, इज्जत र त्यो शान देख्दा, मनै त हो, लोभियो मन मेरो पनि। सुनारको छोरो म आफ्नै पुर्ख्यौली पेसा भएकाले जीविकाकै लागि लाहुरे हुनैपर्छ भन्ने कुनै दबाब ममा थिएन।
१६ वर्षकै त्यो कलिलै उमेरमा जाग्यो ब्रिटिस लाहुरे बन्ने रहर। छाती थियो च्यासे, ज्यान थियो सानो तर सपना थियो सगरमाथा जत्तिकै उच्च! कताकता मनमा कहीँ कतै युद्धमा परेर कालकै मुखमा पुगिने हो कि भन्ने डर अर्कोतिर लाहुरे बन्ने हुटहुटी।
बुबाले डोर्याएर पुर्याउनुभयो गल्लाको त्यो ठाउँमा, मैले पनि तनक्क तन्काएँ छाती, पास हुने आस बोकी मनमा। गल्लाले फिता लगाउँदा मुटुको धड्कन रोकिएझैं भयो, त्यो कलिलो ज्यानले कति ठूलो परीक्षा दियो।

मोटो स्वरमा गल्लाले तिमी फिट छौ भन्दै ढाडमा जब ढाप मार्याे, त्यो बलियो हातको प्रहारले मलाई झन्डै भुइँमा पछार्याे। तीन बित्ता पर उछिटिएँ। आफूलाई सम्हाल्दै उभिएँ। सपना साकार हुने खुसीमा सबै बिर्सिएँ केही क्षण।
सायद त्यो कलिलो मस्तिष्कलाई त्यतिबेला धेरै थाहा थिएन। कलम समाउने कलिलो औंलाले दह्राे बन्दुकको ट्रिगर दबाउँदा कति पीडा हुनेछन् भनेर! सुन्दर संगमस्थल साथीसँग जिस्किँदै अँगालो मार्दै प्रेमको आभास साटासाट गरिने मैदानमा दौतरीसँग रगतको होली खेलिनुपर्छ भनेर। त्यो लाहुरे बन्ने शान र चाहनाभित्र परिवारसँग छुट्टिनुपर्ने पीडा पनि त त्यत्तिकै बेहोर्नुपर्ने थियो।
लाहुरे भर्ती नाम र सानका लागि मात्र पनि त कहाँ थियो र आफ्नो जवानी र रहरहरू विदेशी भूमिमा बन्दुकको नालसँगै आफूलाई बन्धक राख्नुपर्ने समयको बाध्यता पनि त थियो। वीरता बन्दुक र खुकुरीमा देखिन्छ तर पीडा र प्रश्नहरू त वर्दीभित्रै दबिएर रहन्छन्। रहरले होस् या विवशताले, वीर गोर्खाको पहिचान विश्वभर फैलाउने हाम्रा वीर गोर्खाली लाहुरेहरूलाई उच्च सम्मान प्रकट गर्दछु।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।