ब्रेकिङ न्युज
विज्ञापन
समाज

इतिहासमा हराएका सुनिता र नरेन्द्र

सुनिता रेग्मी रेडियो नेपालको स्थापनाकालीन समयकी गायिका हुन्। उनले नेपालको आधुनिक गीतसङ्गीतलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलिन्। १९९१ साउन ६ गते ओखलढुङ्गा ३ नम्बर सिंहदेवी गाविसस्थित कुवापानीको ठकुरी परिवारमा जन्मिएकी सुनिताले २००९ सालमा नरेन्द्र रेग्मीसँग विवाह गरेकी थिइन्। ‘मेरो विवाहचाहिँ शंकर लामिछाने (भान्जा) ले मलाई मागेर आफ्ना मामालाई विवाह गराइदिएको हो,’ पंक्तिकारसँगको भेटमा सुनिताले भनेकी थिइन्।

नरेन्द्र रेग्मी नेपाली कांग्रेसको स्थापनाकालताका अर्थात् सन् १९४७ को जनवरी २५/२६ मा भारतको कलकत्ताको भवानीपुरस्थित खाल्सा हाइस्कुलमा घोषणा भएको ‘नेपाली राष्ट्रिय कांग्रेस’को संस्थापक कोषाध्यक्ष थिए। सुनिता र नरेन्द्रका तीन सन्तान भए, दुई छोरा र एक छोरी। तीमध्ये एक छोरालाई नुहाउन जाँदा नारायणीले बगायो। छोरी पनि बितिन्। एक छोरा अमेरिका पुगे। नरेन्द्रको पनि ८९ वर्षको उमेरमा २०६६ वैशाख ४ गते राति नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भयो।

नरेन्द्र रेग्मीको परिवार सम्पन्न र खानदानी थियो। त्यसको छाप उनमा जीवनको अन्त्यसम्म पनि रहिरह्यो। जीवनमा जस्तोसुकै दुःख पर्दा पनि अरूसँग नझुक्ने बानीले उनको स्वाभिमानको परिचय दिन्थ्यो। उनी आत्मनिर्भर थिए। १९७७ पुस २३ गते धनुषाको धनौजी कटैयामा जन्मेका रेग्मीका पिता शिवप्रसाद र माता ललितादेवी हुन्। पुख्र्यौली थलो धादिङको गजुरी भए तापनि रेग्मीका काका बडाबाहरूका सन्तान भने जनकपुरधामतिर पनि बस्ने गर्छन्। उनका पिताको जागिरका कारण नरेन्द्रले धेरैतिर बस्नुपरेको थियो। तीमध्ये दरभंगा, पटना, मुगेर, बैजनाथधाम आदि मुख्य थिए। वनारसचाँही स्थायी बसोबास केन्द्र थियो।–नरेन्द्र रेग्मी अर्थात् नेपाली कांग्रेसका संस्थापक, डा. तुलसी भट्टराई, २०६४) डा. तुलसी भट्टराईकृत पुस्तक ‘नरेन्द्र रेग्मी अर्थात् नेपाली कांग्रेसका संस्थापक’मा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शुभकामना सन्देशमा लेखेका छन्, ‘नेपाली कांग्रेसको स्थापनाकालदेखि यससित सम्बद्ध भएर यसका हरेका गतिविधिमा पार्टीमा क्रियाशील रहेर नेपालमा प्रजातन्त्रको स्थापनामा नरेन्द्र रेग्मीले महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। स्थापनाकाल २००३ देखि २००७ सालसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बनारसमा उहाँकै वासस्थान, ६५ दुध विनायकमा रहेको थियो। अनेक पटक नेपाली कांग्रेसको कार्यालयको खानतलासी लिएर ऐतिहासिक दस्ताबेजहरू नष्ट गरियो। त्यसैले महत्त्वपूर्ण कालखण्डमा इतिहासले सुम्पेको अभिभारा पूरा गर्ने हाम्रा कतिपय सेनानीहरूबारे यथार्थ जानकारी जनसमक्ष आउन सकेन।’

विज्ञापन

नरेन्द्रका चेला श्रीनिवास पौडेलका अनुसार पार्टीगत रूपमा नरेन्द्रको इतिहास खासै उल्लेख भएको देखिँदैन। रेग्मी चितवनबाट गैंडाकोटमा पहिलोपटक विद्युत् लैजानका लागि पहल गर्र्ने व्यक्ति थिए। उनको पहलपछि नै गैंडाकोटमा बिजुली पुगेको थियो। नारायणीमा पुल बन्नुपूर्व अर्थात् २०३९ सालताका नरेन्द्रले गैंडाकोटमा ‘गैंडाकोट कटेज’ पनि सञ्चालन गरेका थिए। पछि त्यो बेचेर ‘अङ्कल लज’ स्थापना गरे। त्यहाँ पुराना चलचित्रहरूको निकै सुटिङ हुन्थ्यो। धरै कलाकारहरू नरेन्द्र र सुनितासँग परिचित थिए।

सुनिता चलचित्र क्षेत्रका धेरैका अभिभावक पनि भइन्। कतिले बिर्से, कतिले सम्झेका पनि होलान्। त्यस्तै, ‘अङ्कल लज’मा आउने बेलायती पर्यटकहरूसँगको सङ्गत र घनिष्ठताका कारण नरेन्द्रले बेलायती टुर अपरेटर ‘टप डेक ट्राभल’को समयमा गैंडाकोटमा २०४६ सालताका ‘सुम्निमा क्लब’ गठन गरे, जुन अहिले सुम्निमा विकास परिषद्का रूपमा छ।

२०४६ सालताका ‘टप डेक ट्राभल’ले बेलायतबाट नेपालमा आउने पर्यटकलक्षित सेवा दिने गथ्र्यो। ‘सुम्निमा क्लब’मा ‘टप डेक ट्राभल’मार्फत नरेन्द्रले ज्ञानोदय पुस्तकालय भवन स्थापनाका लागि पनि ठुलो सहयोग गरे। सुनिता र नरेन्द्र तत्कालीन ‘सुम्निमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड’को संस्थापक सदस्यसमेत रहेका थिए। नरेन्द्र गैंडाकोटका भएका विभिन्न सामाजिक संस्थाको कार्यक्रममा सक्दो सहयोग गर्थे। उनको विशेष घनिष्ठता राजनीतिज्ञ राजेश्वर देवकोटासँग थियो।

नरेन्द्रको निधनपश्चात् एक्लो भएकी सुनिताले व्यक्तिगत जीवनमा निकै दुःख पाइन्। जसको बेलिविस्तार गरेर साध्यै छैन। उनलाई पेटको रोग थियो। पित्तथैलीको अप्रेसनपछि त्यो समस्या झन् बल्झिएको थियो। त्यसपछि विभिन्न औषधिले नै उनको जीवन टिकेको थियो। स्वास्थ्यसम्बन्धि विभिन्न समस्याबाट घेरिरहँदा आफूलाई भेट्न पुग्ने शुभेच्छुकहरूलाई सुनिता छोराले बारम्बार आफूलाई ‘म आउन्जेलसम्म तपाईंले मलाई पर्खनुपर्छ’ भन्ने गरेको सुनाउँथिन्।

यस्तै सिलसिला चलिरहँदा सुनिताको २०८१ साउन २२ गते गैंडाकोटमा निधन भयो। सुनिताले पर्खिरहेको अवधिमा आमा–छोराको भौतिक रूपमा प्रत्यक्ष भेट भने भएन। सुनिताको निधनपश्चात् उनका छोराले सामाजिक सञ्जालमा लेखेका थिए, ‘म उहाँसँग निरन्तर कुराकानी गरिरहन्थेँ। हामी सँधै लड्थ्यौं तर अन्तिम पाँच महिना उहाँ बच्चाजस्तो हुनुभएको थियो। एकदमै प्यारो। उहाँ बित्नुभन्दा १० मिनेट अघि म कुरा गर्न समर्थ भएको थिएँ। यसका लागि पनि म सधैं कृतज्ञ रहनेछु।’

सुनिता काठमाडौंमा रहँदा मण्डीखाटारमा पुराना चलचित्र नियन्त्रक गेहेन्द्र धिमालको रेखदेखमा बस्थिन्। गेहेन्द्रसँग सुनिताको पुरानो चिनजान थियो। उनी गेहेन्द्रलाई भाइ भन्थिन्। गेहेन्द्रको ७३ वर्षको उमेरमा २०७५ कात्तिक २३ गते निधन भयो। गेहेन्द्रको निधनपश्चात् सुनिता केही समय गौतम धिमाल (गेहेन्द्रका छोरा), बद्री लकाईको रेखदेखमा पनि बसिन्।

उस्ताद स्व. भैरवबहादुर थापाबाट सङ्गीतको शिक्षा लिएर यस क्षेत्रमा अघि बढेकी सुनिताले पहिलोपटक नीरविक्रम प्यासीको शब्द र भैरवबहादुर थापाको सङ्गीतमा ‘हेर न पारि हिमालचुली चाँदीझैं झुल्केको…’ गाएकी थिइन्। त्यसपछिका दिनमा उनले स्व. बटुकृष्ण ज्वालासँग युगल गीत पनि गाएकी गाइन्। उनका ‘एकफेर हाँस त मेरो माया गाँस त’, ‘हे मेरा साहिँला मायालु नजाऊ है मुग्लान भागेर…’, ‘फुलेको फूल मायाको ओइलाई कहिल्यै झर्दैन…’ लगायतका दर्जनभन्दा बढी उनका गीत सो समयमा रेडियो नेपालबाट निकै बज्ने गर्थे। निधनअघिको भेटमा सुनिताले पङ्क्तिकारसँग भनेकी थिइन्, ‘अहिले मसँग दुई वटा मात्र गीत छन्। नातिकाजी, शिवशङ्कर मेरो घरमा आउनुहुन्थ्यो। बच्चुकैलाश र हामी सँगै गाउँथ्यौं।’

गायनपछि सुनिताको प्रवेश रङ्गमञ्चतिर हुन्छ। सुनिताको प्रतिभाको ज्ञान भएपछि बालकृष्ण समले त्यस समयमा ‘साहेब’ (सुनिताले पति नरेन्द्र रेग्मीलाई सम्बोधन गर्ने शब्द) लाई भनेर उनलाई यस क्षेत्रमा प्रवेश गराएका थिए। त्यसपश्चात् सुनिताले समका मुकुन्द इन्दिरा, प्रह्लाद, अन्धवेगलगायतका थुप्रै नाटकमा काम गरिन्।

सुनिताले पङ्क्तिकारलाई बताएअनुसार उनले पहिलोपटक आर्मी हेडक्वाटरमा बालकृष्ण समका तीन वटा नाटक खेलेकी थिइन्। त्यतिखेर उनको र बालकृष्ण समको चिनाजान थिएन। सुनितालाई उनका मितदाइ (कृष्णमान डंगोल)ले लगेका थिए।’

यस्तै, सुनिताले चलचित्र ‘माइतीघर’मा पनि अभिनय गरेकी छिन्। यस चलचित्रमा उनले सासूको भूमिका निर्वाह गरेकी थिइन्। चलचित्रमा सिपी लोहनी छोरा र बुहारी माला सिन्हा थिए। चलचित्र माइतीघरमा गरेको योगदानको कदरस्वरूप सुनितालाई तत्कालीन राजा वीरेन्द्रले २०५६ साउन ४ गते सम्मानसमेत गरेका थिए। यसैगरी सुनिताले नेपालमा छायांकन गरिएको हिन्दी चलचित्र ‘हरेराम हरेकृष्ण’मा अभिनय गरेकी थिइन्।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा नरेन्द्र रेग्मीको स्थान र उनले खेलेको भूमिकाका बारेमा बेवास्ता भइरहँदा सुनिता बेखुस थिइन्। उनी भन्थिन्, ‘जरुर अन्याय भएको छ। हाम्रो बनारसको घरमै नरेन्द्र यन्त्रालय (छापाखाना) राखेर प्रजातान्त्रिक आन्दोलनमा ठुलो योगदान गरेका थियौं।

महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट सम्पादित हुने युगवाणी पत्रिका र महाकविकै पहाडीपुकार, डा. ईश्वर बरालद्वारा सम्पादित ‘झ्यालबाट’ र नरेन्द्रजीकै सम्पादनमा आधुनिक नेपाली कवितासङ्ग्रह आदि हाम्रै प्रेसबाट प्रकाशित भएको हो। उहाँका बारेमा भन्नुपर्दा २००५ आश्विन ४ गते गुरुबारको ‘युगवाणी’ पत्रिकाको वर्ष २ अङ्क ५ पृष्ठ ६ मा सविस्तार उल्लेख छ। नेपाली कांग्रेसका तत्कालीन कोषाध्यक्ष श्री नरेन्द्र रेग्मीको घर नं. ६५, दुग्ध विनायक, वाराणसीमा स्थित छ र समस्त नेपाली जगत्मा कांग्रेस भवन सरह नै सम्मानित भएको प्रमाणित हुन्छ।

उहाँजस्तो प्रजातन्त्रका योद्धासित सहयात्रा गर्न पाएकाले नै म गौरवान्वित हुन्थेँ। बिपी कोइराला, बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका पहिलोपुस्ताका नेताहरू बितेसँगै नेपाली कांग्रेसले पनि यस परिवारले दिएको योगदानबारे भुलिसकेको छ। जीवनका अन्तिम वर्षहरूमा सुनिताले थुप्रैपटक कांग्रेसको नेतृत्व तहमा रहेका केन्द्रीय पदाधिकारीहरूसँग भेट्न खोजिन्, भेट्नका लागि विभिन्न व्यक्तिलाई भनिन् तर उनको प्रयास सफल भएन।

अब त यो स्मृति भइसक्यो। सायद कतिपय इतिहास नलेखिई त्यतिकै हराउँछन्। नरेन्द्र र सुनिताको योगदान र स्मृतिलाई चिरस्थायी बनाउन त्रिवेणी साहित्य परिषद्मार्फत ‘नरेन्द्र रेग्मी तथा सुनिता रेग्मी साहित्य पुरस्कार’ पनि स्थापना भएको थियो तर अब यो पनि एउटा इतिहास भइसक्यो। त्यसलाई अब निरन्तरता कसले देला र?

– अभिलेख तथा अभिलेखनको कार्य गर्दै आएका बडाल कला, संस्कृति, इतिहास, संगीतका विविध विधाको खोज, अध्ययन–अनुसन्धानमा सक्रिय छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।