गत भदौ १० गते रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको क्षतिबापत बिमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको छ तर बिमा कम्पनीहरूले भुक्तानी गरेको रकम भने तुलनात्मक रूपमा निकै कम छ।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म १८ वटा बिमा कम्पनीमा दुई हजार ४२७ बिमितले दाबी पेस गरेका छन्। तीमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भएको छ। बाढीले जलविद्युत् आयोजना, निर्माणाधीन पूर्वाधार, सवारीसाधन, व्यापारिक सम्पत्ति र अन्य भौतिक संरचनामा ठुलो क्षति पुर्याएको थियो। प्रारम्भिक रूपमा संकलन गरिएका दाबी र क्षतिको विवरण समयक्रममा संशोधन हुँदै आएका छन्।
भोटेकोसी बाढीपछि देशका विभिन्न हिमाली नदी करिडोरहरूमा आएको विनाशकारी बाढीपहिरोले नेपालको जलविद्युत् आयोजना, सडक, पुल, व्यावसायिक तथा निजी सम्पत्तिमा ठुलो क्षति पुर्याएको छ।

भोटेकोसी, कालिगण्डकी र हालै गोरखाको बुढीगण्डकी नदीमा लेदोसहित आएको भीषण बाढीका कारण भौतिक पूर्वाधारमा अर्बौंको क्षति भएपछि नेपालको निर्जीवन बिमा क्षेत्रमा हालसम्मकै ठुलो वित्तीय भार थपिएको छ।
बिमा दाबीमध्ये ठुला जलविद्युत् आयोजना तथा इन्जिनियरिङ क्षेत्रको क्षति मूल्यांकनमा भइरहेको ढिलाइ र पुनर्बिमाको जटिलताका कारण भुक्तानी प्रक्रिया सुस्त बनेको सम्बन्धित विज्ञहरू बताउँछन्।
प्राधिकरणको विवरणअनुसार बाढीपहिरोबाट प्रभावित क्षेत्रहरूमा सबैभन्दा बढी क्षति भौतिक पूर्वाधार र जलविद्युत् आयोजनाहरूमा भएको छ। हालसम्म प्राप्त बिमालेखको प्रकारअनुसार सम्पत्ति बिमाअन्तर्गत ५७२ वटा दाबीमार्फत ९५ करोड ७१ लाख ९८ हजार रुपैयाँको अनुमानित दाबी परेको छ। जसमध्ये हालसम्म आठ करोड ६२ लाख ८३ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। त्यस्तै इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमाअन्तर्गत १७४ वटा बिमालेखबाट ४३ करोड ९७ लाख २६ हजार रुपैयाँको दाबी परेको छ।
सुरुआती चरणमा भोटेकोसी र त्रिशूली करिडोरमा निर्माणाधीन र सञ्चालनमा रहेका हाइड्रोपावर आयोजनाहरूको मात्रै दाबी विवरण साढे १३ अर्बदेखि २० अर्ब रुपैयाँसम्म आकलन गरिएको थियो। यसबाहेक मोटर बिमातर्फ एक हजार ६८ बिमितको २८ करोड ५० लाख ३४ हजार रुपैयाँ दाबी परेकोमा ६ करोड ७ लाख ४४ हजार रुपैयाँ भुक्तानी भइसकेको छ।
परिवहन बिमाअन्तर्गत २३ करोड ४० लाख ५९ हजार रुपैयाँको दाबीमा सात करोड ८२ लाख ७२ हजार रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ। यस बाढीका कारण परेका कुल बिमा दाबीहरूमध्ये हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडमा १५९ वटा बिमालेखबाट सबैभन्दा धेरै ६ अर्ब २७ करोड रुपैयाँ बराबरको दाबी परेको छ।
दोस्रोमा सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडमा २४२ वटा दाबीबाट तीन अर्ब ५० करोड रुपैयाँको दाबी परेको छ। अन्य निर्जीवन बिमा कम्पनीहरूमा पनि करोडौंका दाबीहरू दर्ता भएका छन्।
भुक्तानी सहज बनाउन ‘अल्पकालीन कार्यविधि’
भोटेकोसी बाढीपछि ठुला जलविद्युत् आयोजना तथा पूर्वाधारको पूर्ण क्षति मूल्यांकन गर्न विदेशी सर्भेयरहरू समेत परिचालन गर्नुपर्ने र यसका लागि महिनौं लाग्न सक्ने भएकाले पुनर्निर्माणको काम नरोकियोस् भनेर अर्थ मन्त्रालय र नेपाल बिमा प्राधिकरणको समन्वयमा अग्रिम दाबी भुक्तानीको व्यवस्था गरिएको छ। जसअन्तर्गत प्रारम्भिक मूल्यांकनका आधारमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने निर्णय सरकारले गरेको हो।
यसैगरी बिमा प्राधिकरणले ‘रसुवाको भोटेकोसी बाढी दाबी भुक्तानी संक्षिप्त कार्यविधि–२०८३’ लागु गर्दै पाँच लाख रुपैयाँसम्मका साना र प्राविधिक रूपमा सरल दाबीहरूका लागि सर्भेयर आवश्यक नपर्ने र कम्पनीकै कर्मचारी खटाएर फोटो, भिडियो तथा स्थानीय निकायको सिफारिसका आधारमा तुरुन्त भुक्तानी दिने व्यवस्था मिलाएको छ। बाढीमा कागजात वा बिमालेख नै बगाएका बिमितहरूका हकमा पनि स्वघोषणा र डिजिटल रेकर्डका आधारमा दाबी प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।
दाबी र भुक्तानीबिच ठुलो अन्तर
बिमा कम्पनीहरूले दाबी भुक्तानी गर्नुअघि क्षतिको वास्तविक अवस्था, बिमालेखको सीमा, जोखिम समेटिएको अवस्था र आवश्यक कागजातको अध्ययन गर्नुपर्छ। ठुला जलविद्युत् आयोजना तथा निर्माणाधीन संरचनाको क्षति मूल्यांकन गर्न प्राविधिक अध्ययन आवश्यक पर्ने भएकाले प्रक्रिया लामो हुन सक्छ।
प्राधिकरणद्वारा हालसम्म सार्वजनिक भएको विवरणअनुसार भोटेकोसी–त्रिशूली बाढीबाट भएको क्षतिमा दुई हजार १८० बिमालेखअन्तर्गत २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक दाबी परेको छ। प्राधिकरणको पछिल्लो विवरणमा भुक्तानी पनि बढेर जम्मा २३ करोड ५२ लाख ५८ हजार रुपैयाँको देखिन्छ।
दाबी रकमको तुलनामा भुक्तानीको अनुपात अझै न्यून छ। यसले प्रभावित व्यवसाय, आयोजना सञ्चालक र अन्य बिमितले क्षतिपूर्ति पाउनुपर्ने प्रक्रियालाई तीव्र बनाउनुपर्ने आवश्यकता देखाउँछ। प्रत्येक दाबीको प्रकृति र मूल्यांकनको अवस्था फरक हुन सक्छ।
बुढीगण्डकी बाढीले थपियो जोखिम
गोरखाको बुढीगण्डकी नदीमा यही असोज २५ गते आएको भीषण बाढीले बिमा क्षेत्रमाथि थप दायित्व सिर्जना गर्न सक्ने देखिएको छ। गोर्खाको चुमनुब्री क्षेत्रमा पहिरोले नदीको बहाव अवरुद्ध गरेपछि बनेको अस्थायी बाँध फुट्दा बुढीगण्डकी नदीमा भीषण बाढी आएको प्रारम्भिक विवरण छ।
सो बाढीले बुढीगण्डकी नदी तटीय क्षेत्रका घर, पुल, दूरसञ्चार तथा विद्युत्का संरचना र जलविद्युत् आयोजनाको निर्माणस्थलमा ठुलो क्षति पुर्याएको थियो तर बुढीगण्डकी बाढीबाट भएको क्षतिबापत बिमा कम्पनीहरूमा कति दाबी परेको छ र त्यसमा कति रकम भुक्तानी भयो भन्नेबारे अझै यकिन विवरण आएको छैन। अहिले सो क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन कार्य जारी छ।
त्यसैगरी कालिगण्डकी नदीमा आएको बाढीपहिरोबाट भएको क्षतिसमेत जोडेर तीन वटै नदीको कुल बिमा दाबी र भुक्तानीको यकिन विवरण आउन बाँकी छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।