रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट चार जिल्लामा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुगेको हो।
प्रारम्भिक सर्वेक्षणअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा ७ हजार ३१६ घरपरिवार तथा प्रतिष्ठान प्रभावित भएका छन्। तीमध्ये ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा प्रतिष्ठान रहेका छन्।

नुवाकोटमा सबैभन्दा बढी ४ हजार १६४ घरपरिवार तथा प्रतिष्ठान प्रभावित भएका छन्। त्यस्तै, रसुवामा १ हजार ९७७, धादिङमा १ हजार ५२ र गोरखामा १२३ घरपरिवार तथा प्रतिष्ठान प्रभावित भएका छन्।
यस्तै, बाढीबाट चार जिल्लामा ३२ हजार ८७२ जना प्रत्यक्ष प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ। प्रभावितमध्ये १६ हजार ७१४ पुरुष, १६ हजार ८० महिला तथा ७८ जना अन्य लैङ्गिक पहिचान भएका वा पहिचान नखुलेका व्यक्ति छन्।
जिल्लागत रूपमा नुवाकोटमा १७ हजार ९५४, रसुवामा ९ हजार ६७६, धादिङमा ४ हजार ५८४ र गोरखामा ६५८ जना प्रभावित भएका छन्।
४ हजारभन्दा बढी भवन संरचनामा क्षति
बाढीबाट ३ हजार ६७ घरधनीका ४ हजार १५१ वटा भवन संरचनामा क्षति पुगेको छ। तीमध्ये नुवाकोटमा २ हजार २५६, रसुवामा १ हजार २३६, धादिङमा ६३० र गोरखामा २९ वटा संरचनामा क्षति पुगेको सर्वेक्षणमा उल्लेख छ।
क्षतिग्रस्त संरचनामध्ये २ हजार ७९२ घर, २८८ गोठ, धन्सार तथा मतान, ६५१ ट्रस, २६३ टहरा र १४२ अन्य प्रकारका संरचना छन्। १५ वटा संरचनाको प्रकार भने खुल्न सकेको छैन।
सर्वेक्षणअनुसार २ हजार ९८९ वटा अर्थात् ७२.०१ प्रतिशत संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, ५०८ वटा भवनमा माटो तथा लेदोले पुरिएको, ३०२ वटामा आंशिक क्षति पुगेको, १४१ वटा ढल्किएको र १९२ वटामा सामान्य क्षति भएको पाइएको छ।
क्षतिग्रस्त संरचनामध्ये ३ हजार १९४ वटा अर्थात् ७६.९५ प्रतिशत संरचना पुनः प्रयोग गर्न नसकिने अवस्थामा छन्। ३३२ वटा संरचना पूर्ण मर्मतपछि र ३२० वटा सामान्य मर्मतपछि प्रयोग गर्न सकिने देखिएको छ।
त्यस्तै, ९७ वटा संरचना मर्मत नगरी पनि प्रयोग गर्न सकिने अवस्थामा छन् भने २०८ वटाको पुनः प्रयोग गर्न सकिने वा नसकिनेबारे विवरण खुलाइएको छैन।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।