ब्रेकिङ न्युज
विज्ञापन
समाज

नेपालको पर्यटन क्षेत्र: युवा रोजगारीको दिगो बाटो

नेपाल प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाले भरिपूर्ण देश हो। हिमालदेखि तराईसम्म फैलिएको भूगोल, सयौं जातजाति र भाषाभाषी समुदाय, अनि प्राचीन सभ्यता र परम्पराले नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाएको छ।

विश्वकै उत्कृष्ट तालहरू, हिमाल, धार्मिक तथा ऐतिहासिक सम्पदा मात्र होइन, कृषि पर्यटन, साहसिक पर्यटन र खेल पर्यटनले पनि नेपालको पर्यटन विकासमा टेवा पुर्‍याइरहेका छन्। यस्तो समृद्ध सम्भावना हुँदाहुँदै पनि देशमा युवाहरूको बेरोजगारी दर उल्लेखनीय छ।

बेरोजगारी दर उच्च भएसँगै नेपाली युवाहरू स्वदेशमा कुनै सम्भावना नदेख्दा दिनहुँ विदेशिन बाध्य छन्। राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो अध्ययन अनुसार नेपालमा युवा बेरोजगारी दर १२.७ प्रतिशत रहेको देखिन्छ। आफ्नै देशमा पर्याप्त रोजगारीको व्यवस्था हुन्थ्यो भने आफ्नो घर, परिवार, देश छाडेर पसिना बगाउन बिदेसिनुपर्ने पक्कै थिएन।

विज्ञापन

स्वदेशमै रोजगारीको वातावरण, उद्यमशीलता र कामअनुसारको दामको व्यवस्था हुन्थ्यो भने राज्यको मेरुदण्ड र विकासका संवाहक युवालाई राज्यले गुमाउनुपर्दैनथ्यो। आज देशमा नयाँ राजनीतिक शक्तिको उदय भएको छ। देशको नेतृत्व तहमा युवा पुस्ताको बाहुल्य रहेको छ।

युवाहरूको असन्तुष्टि, पुराना दलहरूप्रतिको निराशा र परिवर्तनको चाहनाले नयाँ शक्तिले सरकारको नेतृत्व पाएको छ। युवाको आशा, भरोसा र समर्थनका कारण बनेको वर्तमान सरकारले जनतामा आशा जगाएको छ।

पर्यटन क्षेत्रलाई युवाका लागि रोजगारी सिर्जनाको प्रभावकारी माध्यमका रूपमा विकास गर्नु आजको आवश्यकता हो। पर्यटन यस्तो क्षेत्र हो जसले थोरै लगानीमा पनि धेरै रोजगारी सिर्जना गर्न सक्छ। होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, यातायात, गाइड सेवा, हस्तकला, सांस्कृतिक कार्यक्रम, कृषि उत्पादन, फोटोग्राफी तथा सूचना प्रविधिसम्मका क्षेत्रमा पर्यटनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अवसर प्रदान गर्छ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, प्राचीन मन्दिर, हिमाली सौन्दर्य, जैविक विविधता तथा यहाँका मौलिक कला–संस्कृतिले नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनाएको छ। हरेक वर्ष हजारौँ विदेशी तथा लाखौं आन्तरिक पर्यटक नेपाल भ्रमणका लागि आउने गर्छन्। पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारमध्ये एक भए पनि यसको पूर्ण सम्भावनालाई अझै प्रभावकारी रूपमा उपयोग गर्न सकिएको छैन्।

विशेष गरी युवालाई रोजगारी सिर्जना गर्ने माध्यमका रूपमा पर्यटनलाई व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्न आवश्यक देखिन्छ। नेपालमा गाउँ पर्यटनको विकासले ग्रामीण युवाको जीवनस्तर परिवर्तन गर्न ठुलो भूमिका खेल्न सक्छ। नेपालका अधिकांश पर्यटकीय आकर्षण गाउँ तथा प्राकृतिक क्षेत्रमा केन्द्रित रहेका छन्।

विदेशी पर्यटकहरू नेपाली गाउँको मौलिक जीवनशैली, स्थानीय संस्कृति, परम्परागत खाना तथा प्राकृतिक वातावरण अनुभव गर्न औधी रुचाउँछन्। जसले गर्दा होमस्टे पर्यटनको अवधारणा नेपालमा लोकप्रिय हुँदै गएको छ।

गाउँमा सञ्चालन हुने होमस्टेले स्थानीय युवालाई आफ्नै ठाउँमा आयआर्जन गर्ने अवसर दिएको छ। यसलाई देशका विभिन्न ठाउँमा विस्तार गरे थप रोजगारी बढाउन सकिन्छ। घरमा उपलब्ध कोठालाई व्यवस्थित गरी पर्यटक बस्ने व्यवस्था मिलाउँदा परिवारको आर्थिक अवस्था सुधार हुन सक्छ। पर्यटकलाई स्थानीय परिकार, लोकनृत्य, मौलिक संगीत तथा गाउँको जीवनशैली प्रस्तुत गर्दा सांस्कृतिक संरक्षण पनि हुने गर्दछ।

स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ तथा पोखराको घान्द्रुकजस्ता स्थानहरूले गाउँ पर्यटनमार्फत आर्थिक समृद्धिको उदाहरण प्रस्तुत गरेका छन्। पर्यटनको विकासले स्थानीय उत्पादन तथा साना उद्योगलाई पनि प्रोत्साहन गराउन सहयोग पुर्‍याउँछ। पर्यटकहरूले स्थानीय हस्तकला, ढाका कपडा, मूर्तिकला, काष्ठकला, हस्तनिर्मित सामग्री तथा स्थानीय परिकार औधी रुचाउने भएकाले ग्रामीण उद्योगले बजार पाउँछन्। सानो लगानीबाट धेरै युवाहरूलाई उद्यमशील तथा रोजगार बनाउन सकिन्छ।

कृषि पर्यटनको अवधारणा विकास गरी पर्यटकलाई गाउँमा कृषि कार्यको अनुभव गराउने, जैविक खाना उपलब्ध गराउने तथा स्थानीय उत्पादन बिक्री गर्ने व्यवस्था गर्न सकिन्छ। यसले पर्यटन र कृषि क्षेत्रलाई एकअर्कासँग जोडेर आर्थिक गतिविधि बढाउन मद्दत पुर्‍याउँछ।

साहसिक पर्यटन नेपालको अर्को महत्त्वपूर्ण क्षेत्र हो। हिमाल, नदी तथा भौगोलिक बनावटका कारण नेपाल साहसिक गतिविधिका लागि विश्वमै प्रसिद्ध रहेको छ। ट्रेकिङ, पर्वतारोहण,र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, जिपलाइनजस्ता गतिविधिमा दक्ष जनशक्ति आवश्यक पर्छ। यी क्षेत्रमा युवाले तालिम लिएर राम्रो आम्दानी गर्न सक्छन्।

विशेष गरी पोखरा साहसिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकसित भएको छ। जहाँ हजारौं युवाले प्याराग्लाइडिङ, होटल व्यवसाय, ट्रेकिङ गाइड तथा पर्यटन सेवामा रोजगारी पाइरहेका छन्। सरकारले आवश्यक सुरक्षा मापदण्ड, पूर्वाधार र अन्तर्राष्ट्रिय प्रचारप्रसारमा ध्यान दिन सके साहसिक पर्यटन अझ विस्तार हुने सम्भावना हुन्छ, जसले नेपाली युवाहरूलाई रोजगारको अवस्था सिर्जना गर्न सक्छ।

नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटनले पनि युवालाई व्यापक अवसरका ढोकाहरू खुला हुन सक्छन्। हिन्दु र बौद्ध धर्मावलम्बीका लागि नेपाल पवित्र भूमि मानिन्छ। पशुपतिनाथ मन्दिर, मुक्तिनाथ, जनकपुरधाम, स्वयम्भूनाथ तथा बौद्धनाथ स्तूपजस्ता धार्मिक स्थलमा हरेक वर्ष लाखौं तीर्थयात्री नेपाल आउने गरेका छन्।

धार्मिक पर्यटकका लागि होटल, यातायात, पूजा सामग्री, स्थानीय बजार तथा गाइड सेवाको आवश्यकता पर्ने भएकाले यसले हजारौं युवालाई रोजगारी दिन सक्छ। यदि ती क्षेत्रको सरसफाइ, सुरक्षा, सूचना केन्द्र तथा पर्यटकमैत्री वातावरण सुधार गर्न सकियो भने धार्मिक पर्यटन थप प्रभावकारी बन्न सक्छ। यसमा पनि युवाहरूलाई जोड्न सकिन्छ।

विश्वमा डिजिटल युगले फड्को मारेसँगै पर्यटन क्षेत्रसँग सूचना प्रविधि र डिजिटल माध्यमको सम्बन्ध अपरिहार्य बनिसकेको छ। धेरै पर्यटकले सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत आफूले घुम्ने गन्तव्यहरूको छनोट गर्ने गरेका हुन्छन्।

नेपाली युवाले सामाजिक सञ्जालका युट्युब, फेसबुक, टिकटक र इनस्टाग्राम तथा विभिन्न वेभसाइटहरूको प्रयोगबाट नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण सहयोग पुर्‍याउन सक्छन्। यात्रा अनुभव, भिडियो सामग्री, फोटोग्राफी तथा ब्लग लेखनमार्फत उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाइरहेका छन्। यसले पर्यटन प्रचारसँगै डिजिटल आम्दानीको अवसर पनि सिर्जना गरेको छ।

आधुनिक प्रविधिको प्रयोग गरी अनलाइन बुकिङ, डिजिटल गाइड सेवा तथा पर्यटनसम्बन्धी एप विकास गर्न सके युवाले नयाँ व्यवसाय सुरु गर्न सक्छन्। यसका लागि युवाहरूलाई राज्यले उचित तालिम दिएर सक्षम बनाउन सक्छ।

नेपालको पर्यटन क्षेत्रमा युवाहरूलाई रोजगारसँग जोड्न सकिने प्रचुर सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रमा अझै पनि धेरै चुनौतीहरू रहेका छन्। कतिपय पर्यटकीय क्षेत्रमा सडक, यातायात, विद्युत्, इन्टरनेट तथा सरसफाइजस्ता आधारभूत सुविधा पर्याप्त पुग्न सकेका छैनन्।

पर्यटन क्षेत्रको मुख्य आधार अन्तर्राष्ट्रिय प्रचारप्रसार अझै कमजोर छ। धेरै स्थानमा राजनीतिक अस्थिरता, अव्यवस्थित सहरीकरण तथा वातावरणीय प्रदूषणले पर्यटनमा नकारात्मक असर पारेको छ। साथै पर्यटनसम्बन्धी दक्ष जनशक्तिको अभाव पनि अर्को मूल समस्याका रुपमा देखा परेको छ।

सरकारले पर्यटन नीतिलाई व्यावहारिक बनाउँदै युवालाई सीपमूलक तालिम, सहुलियत ऋण तथा उद्यमशीलतामा प्रोत्साहन गर्न आवश्यक छ। निजी क्षेत्र र स्थानीय समुदायबिच सहकार्य गरी दिगो पर्यटनको अवधारणा लागू गर्न सके पर्यटन क्षेत्रलाई थप प्रभावकारी बनाउन सकिन्छ।

पर्यटन क्षेत्र नेपालका युवाको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण आधार बन्न सक्छ। नेपालमा रहेका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको उचित संरक्षण र व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई आधुनिक तथा व्यवस्थित बनाउने हो भने लाखौं युवाले आफ्नै देशमा सम्मानजनक रोजगारी पाउन सक्ने अवसर सिर्जना हुन सक्छ। जसले बेरोजगारी घटाउनुका साथै वैदेशिक पलायन कम गर्न, ग्रामीण विकास गर्न तथा राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन पनि अतुलनिय योगदान पुर्‍याउनेछ। तसर्थ नेपालको पर्यटन क्षेत्रलाई घुमफिरको आकर्षक गन्तव्यसँगै युवाको समृद्धि र राष्ट्रको विकाससँग जोडिएको महत्त्वपूर्ण क्षेत्रका रूपमा हेर्न आवश्यक छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।