जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा लगिएको छ। उनलाई लिन शनिबार बिहान ब्युरोको टोली नख्खुस्थित निवासमै पुगेको थियो।
साइबर ब्युरोका उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि बोलाइएको हो।
समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले शुक्रबार श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए। श्रेष्ठले पनि पन्तविरुद्ध सोही ब्युरोमा निवेदन दिएका छन्।

ब्युरो स्रोतका अनुसार दुवै पक्षलाई सँगै राखेर घटनाबारे छलफल गराउने तयारी गरिएको छ।
श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लिएको थियो। त्यसक्रममा प्रहरीले उनको निवासमा खानतलासी गर्नुका साथै ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो।
श्रेष्ठविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न र हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो। त्यसपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।