राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यसपर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुद बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
बडादसैँले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्धत पुर्याएको उनको भनाइ छ।

राष्ट्रपति पौडेलले विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराउँदै दसैँ अन्यायमाथि न्यायको एवम् असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने उल्लेख गरेका छन्।
दसैँमा पारिवारिक जमघट एवं पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरिने उल्लेख गर्दै राष्ट्रपतिले पारिवारिक, समाजिक, धार्मिक, साँस्कृतिक एवं राष्ट्रियताका हिसाबले दसैँको अत्यन्तै महत्व रहेको बताएका छन्।
साथै, देशका विभिन्न भागमा आएको विनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
राष्ट्रपतिले बाढी प्रभावित व्यक्तिको पुनःस्थापनाका लागि एकताबद्ध भई अघि बढ्न सबै पक्षलाई अपिल गरेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।