उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजया दशमी धार्मिक आस्थाको विषय मात्र नभइ मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्।
विजया दशमी, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सत्य, न्याय, धर्म र सदाचार अन्ततः विजयी हुन्छन् भन्ने युगीन सन्देश बोकेको बडादसैँले मानिसलाई आफ्नो आचरण र व्यवहारलाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने बताएका छन्।
‘विजया दशमीले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि मानवता, विवेक र नैतिक शक्तिको विजय सुनिश्चित हुने विश्वासलाई थप बलियो बनाउँछ’, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन्।

विजया दशमीले समाजमा सहिष्णुता, आत्मानुशासन, संयम र कर्तव्यप्रतिको निष्ठालाई प्रवर्द्धन गर्ने उल्लेख गर्दै उनले लोभ, घृणा, अहङ्कार, ईर्ष्या र वैमनस्यजस्ता दुर्गुणलाई त्यागी सहकार्य, समर्पण, सद्भाव र मानवीय संवेदनाको मार्गमा अघि बढ्न दसैँले प्रेरणा दिने बताएका छन्।
व्यक्तिको आन्तरिक शुद्धीकरण र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम राख्न विजया दशमीको विशेष महत्व रहेको उनको भनाइ छ।
दसैँ पुनर्मिलन र आत्मीयताको महापर्व भएको उल्लेख गर्दै उपराष्ट्रपतिले शिक्षा, रोजगारी, व्यवसाय वा अन्य कारणले परिवार र समुदायबाट टाढा रहेका व्यक्ति यस अवसरमा आफ्ना प्रियजनसँग भेटघाट गरी सम्बन्धको नवीकरण गरिँदै आइएको बताए।
‘ज्येष्ठको आशीर्वाद, अग्रजप्रतिको सम्मान र कनिष्ठप्रतिको स्नेह आदानप्रदानले पारिवारिक तथा सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्राप्त हुन्छ’, उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘यस अर्थमा विजया दशमी धार्मिक संस्कारमा मात्र सीमित नभई सामाजिक एकता र मानवीय सम्बन्धको उत्सवका रूपमा स्थापित भएको छ।’
हाम्रा परम्परागत संस्कार, लोककला, लोकसङ्गीत, सांस्कृतिक अभ्यास तथा सामुदायिक क्रियाकलापले राष्ट्रिय पहिचानलाई समृद्ध बनाएको जनाउँदै उनले यस्ता सांस्कृतिक आयामको संरक्षण र प्रवर्द्धनमा विजया दशमीजस्ता पर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन्।
आजको परिवर्तित विश्व परिदृश्यमा सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहअस्तित्वको भावना अझ बढी आवश्यक भएको उल्लेख गर्दै उपराष्ट्रपतिले विभाजन र वैमनस्यताभन्दा माथि उठेर साझा राष्ट्रिय हित, सामाजिक समरसता र समुन्नत नेपालको निर्माणतर्फ अग्रसर हुन विजया दशमीले प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।
उपराष्ट्रपतिले विजया दशमी, २०८३ ले प्रत्येक नेपाली नागरिकको जीवनमा आशा, ऊर्जा, आत्मविश्वास र सफलताको नयाँ अध्याय प्रारम्भ गराओस् भनी शुभेच्छा व्यक्त गरेका छन्। उनले विजया दशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।