भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका राज्यमन्त्री एल मुरुगनले मन्त्री पद र राज्यसभा सदस्यताबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले तमिलनाडुमा भारतीय जनता पार्टी (भाजपा) लाई बलियो बनाउन र सन् २०२९ को लोकसभा चुनावको तयारीमा जुट्न यस्तो निर्णय लिएको बताएका छन्।
सूचना तथा प्रसारण र संसदीय मामिला मन्त्रालयमा राज्यमन्त्री रहेका मुरुगनले मंगलबार प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै आफूलाई मन्त्री पदको जिम्मेवारीबाट मुक्त गर्न र राज्यसभा सदस्यता त्याग्न अनुमति दिन आग्रह गरेका हुन्।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले तमिलनाडु फर्केर पार्टी संगठन विस्तारमा काम गर्न चाहेको बताए। मोदीको हालैको तमिलनाडु भ्रमणका क्रममा जनताले देखाएको उत्साह, माया र समर्थनले आफूलाई राज्यमा थप सक्रिय भएर काम गर्न प्रेरित गरेको उनको भनाइ छ।

मुरुगनले सन् २०२९ को लोकसभा चुनावअघि गाउँ तहसम्म पार्टीको संगठन बलियो बनाउने र कार्यकर्तासँगै रहेर काम गर्ने आफ्नो योजना प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख गरेका छन्। उनले पार्टी र प्रधानमन्त्रीको नेतृत्वबाट आफूले धेरै अवसर पाएको भन्दै कृतज्ञता पनि व्यक्त गरेका छन्।
दैनिक ज्यालादारी गर्ने मजदुरको छोराबाट केन्द्रीय मन्त्रिपरिषद्मा पुग्नुलाई उनले आफ्नो जीवनको ठुलो अवसरका रूपमा व्याख्या गरेका छन्। अब तल्लो तहमा फर्केर कार्यकर्तासँगै पार्टीको संगठन विस्तारमा पूर्णकालीन रूपमा खटिने उनको भनाइ छ।
मुरुगनले राष्ट्रिय अनुसूचित जाति आयोगको उपाध्यक्षका रूपमा काम गर्नुका साथै दुई पटक राज्यसभा सदस्य बनेका छन्। उनले पाँच वर्षसम्म केन्द्रीय मन्त्रिपरिषद्मा पनि सेवा गरेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।