ब्रेकिङ न्युज
विज्ञापन
विचार

राजनीतिमा मेक्यावेलीको प्रतिरूप

राजनीतिक दर्शनको इतिहासमा राज्य, सत्ता र मानिसको शक्ति–तृष्णालाई बुझ्ने दुईवटा स्पष्ट धाराहरू अस्तित्वमा छन्, एउटा प्लेटो र एरिस्टोटलको नैतिक तथा आदर्शवादी धारा एवं अर्को मेक्यावेली, कौटिल्य र हब्सको कठोर यथार्थवादी धारा। सोह्रौँ शताब्दीको पुनर्जागरणकालीन इटालीको खण्डित राजनीतिलाई दृष्टिगत गर्दै निकोलस मेक्यावेलीले आफ्नो कृति ‘द प्रिन्स’ मार्फत राजनीतिलाई परम्परागत धर्म, नैतिकता र आदर्शको काल्पनिक साङ्लोबाट निर्मम ढंगले अलग्याइदिए। सत्ताको आर्जन, त्यसको संरक्षण र राज्यको अखण्डता नै राजनीतिको अन्तिम औचित्य हो भन्ने उनको मान्यताले आधुनिक राजनीतिशास्त्रमा एक अभूतपूर्व बौद्धिक क्रान्ति ल्यायो।

यस यथार्थवादी चिन्तनको जग मेक्यावेलीभन्दा शताब्दीऔँअघि पूर्वीय दर्शनमा चाणक्य (कौटिल्य) को ‘अर्थशास्त्र’ र त्यसको केही समयपछि पाश्चात्य जगत्मा थमस हब्सको ‘लेभियाथन’ मा निर्माण भइसकेको थियो। चाणक्यले राज्यको सुरक्षा र हितका लागि ‘साम, दान, दण्ड, भेद’ को रणनीतिक प्रयोगलाई वैधानिकता दिँदै शासकका लागि नैतिकताभन्दा राष्ट्रिय स्वार्थ र सत्ता सन्तुलनलाई सर्वोपरि माने। उता, हब्सले मानव स्वभावलाई मूलतः स्वार्थी, प्रतिस्पर्धी र भयभीत मान्दै ‘सबैका विरुद्ध सबैको युद्ध’ को प्राकृतिक अराजकताबाट जोगिन एउटा सर्वशक्तिमान् र निरंकुश शासकको अपरिहार्यता पुष्टि गरे। यी तीनै दार्शनिकहरूले फरक–फरक कालखण्ड र भूगोलमा उभिएर राजनीतिको एउटै निर्मम सत्य उजागर गरे – राजनीति दया वा आदर्शको वक्तव्य होइन, यो त शक्ति, सामथ्र्य र परिणामको कठोर खेल हो।

इतिहासका यी कालजयी यथार्थवादी विचारहरू आज पाँच शताब्दी बितिसक्दा पनि समकालीन राजनीतिमा, विशेष गरी नेपालको आधुनिक लोकतान्त्रिक तथा गणतान्त्रिक अभ्यासमा झनै घनीभूत प्रतिरूपका रूपमा प्रकट भइरहेका छन्। दलीय निष्ठा र वैचारिक धरातललाई तिलाञ्जली दिँदै केवल सत्ताप्राप्ति र निरन्तरताका लागि गरिने अप्राकृतिक गठबन्धनहरू, संवैधानिक छिद्रहरूको चलाखीपूर्ण दोहन, र ‘उद्देश्यले साधनको औचित्य पुष्टि गर्छ’ भन्ने मेक्यावेलियाली मन्त्रको अन्धाधुन्ध अभ्यास नेपाली राजनीतिको चरित्र बनिसकेको छ।

विज्ञापन

मेक्यावेलीले शासकमा षड्यन्त्र बुझ्न ‘स्यालको चलाखी’ र खतरासँग जुध्न ‘सिंहको साहस’, चाणक्यले कूटनीतिक ‘भेद र दण्ड’, तथा हब्सले ‘अराजकता नियन्त्रण गर्ने सामथ्र्य’ को वकालत गरे तर विडम्बना के छ भने, आधुनिक शासकहरूले मेक्यावेलीको स्याल कूटनीति, चाणक्यको छलछाम र हब्सको सत्ता–अभिलाषाका प्राविधिक औजारहरू त हुबहु आत्मसात् गर्ने गरेका हुन्छन्, तर राज्यलाई सबल, समृद्ध र सुशासित बनाउने तिनका मूल दार्शनिक ध्येयलाई भने पूर्णतः उपेक्षा गरिरहेका हुन्छन्। यही वैचारिक विरोधाभासको पृष्ठभूमिमा प्रस्तुत लेखले मेक्यावेली, कौटिल्य र हब्सको यथार्थवादी दर्शनको कसमकस वा दाउपेचमा समकालीन नेपाली राजनीति कसरी सत्ताको चक्रव्युहमा फसिरहेको छ भन्ने विषयको विश्लेषणात्मक मीमांसा गर्ने प्रयास गरेको छ।

मेक्यावेली दर्शनमा आधारित राष्ट्रहरू: २१औँ शताब्दीको आधुनिक युगमा मेक्यावेलीको दर्शन वा सिद्धान्तहरूमा आधारित विचारलाई आधिकारिक वा घोषित संविधान बनाएर अपनाउने कुनै पनि देश छैन, यद्यपि उनको दर्शनको सार कडा नियन्त्रण, यथार्थवाद, राज्यहितका लागि जुनसुकै उपायको प्रयोग, नागरिक स्वतन्त्रताभन्दा राज्यको शक्ति र स्थायित्वलाई प्राथमिकता, र कूटनीतिक दाउपेचलाई व्यावहारिक रूपमा अभ्यास गरिरहेका वा त्यससँग निकै मिल्दोजुल्दो शासन व्यवस्था भएका केही आधुनिक राष्ट्रहरू छन्। ती राष्ट्रहरू हुन् सिंगापुर, चीन, साउदी अरेयिबा, खाडीका केही अधिराज्य एवं रूस।

सिंगापुरका आधुनिक संस्थापक ली क्वान युको शासन शैलीलाई धेरै राजनीतिक विश्लेषकहरूले आधुनिक मेक्यावेलियाली नमुना मान्छन्। किनकि ली क्वान युले सार्वजनिक रूपमै भनेका थिए, ‘मलाई मानिसहरूले माया गर्नुभन्दा मेरो डर मान्नु बढी प्रभावकारी हुन्छ।’ उनको त्यो भनाइ र मेक्यावेलीको ‘प्रेम गरिनुभन्दा डराइनु बढी सुरक्षित/प्रभावकारी हुन्छ’ भनेजस्तै हो।

यो ‘शासकका लागि जनताको माया पाउनु भन्दा जनतामा आफ्नो डर कायम राख्नु बढी सुरक्षित हुन्छ’ भन्ने भनाइसँग ठ्याक्कै मिल्छ। संक्षिप्तमा बाहिरबाट हेर्दा सिंगापुरमा अत्यधिक समृद्धि, शून्य भ्रष्टाचार र उच्च विकास भएजस्तो देखिन्छ तर राजनीतिक विरोध, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि राज्यको कडा नियन्त्रण र सूक्ष्म निगरानी छ।

त्यसै गरी अर्को राष्ट्र चीन हो। चीन ‘राज्यहित सर्वोपरि’ र व्यावहारिक यथार्थवाद मान्ने मेक्यावेलीको दर्शनको मुख्य मन्त्र ‘राज्यको शक्ति र स्थायित्व नै अन्तिम औचित्य हो’ भन्ने सिद्धान्तलाई मूल आदर्श मान्दछ। चीनको चिनियाँ कम्युनिस्ट पार्टी सिसिपीको शासन व्यवस्था मेक्यावेलीको यथार्थवाद र दार्शनिक हान फेइजीको ‘कानुनवाद’ सँग धेरै मेल खान्छ। उनका दर्शनसँग मेल खाने अरू देश हुन् साउदी अरेबिया र खाडीका केही अधिराज्यहरू।

मेक्यावेलीले शासकले सत्ता जोगाउन जनतालाई आर्थिक रूपमा सन्तुष्ट (सब्सिडी, सुविधा) राख्ने तर राजनीतिक अधिकार भने नदिने रणनीति सिकाएका थिए। साउदी अरेबिया वा युएई जस्ता देशहरूमा शासकले जनतालाई कर छुट, निःशुल्क आवास, शिक्षा र उच्च जीवनस्तर दिएका छन्, तर शासक वा राजतन्त्रविरुद्ध बोल्ने, राजनीतिक दल खोल्ने वा विरोध गर्ने छुट कसैलाई छैन।

मेक्यावेलीले भनेझैँ ‘जनताको सम्पत्ति र सुखमा हात नहालेसम्म शासकविरुद्ध विद्रोह हुँदैन’ भन्ने सिद्धान्त यहाँ लागू भएको देखिन्छ। त्यसै गरी अर्को देश हो रूस। ‘शक्ति, डर र भू–राजनीतिक दाउपेच’ को दृष्टिले मेक्यावेलीले ‘द प्रिन्स’ मा शासकसँग षड्यन्त्र बुझ्ने चलाखी, विरोधीलाई सिध्याउने शक्ति र छिमकीलाई सन्तुलनमा राख्ने कूटनीति हुनुपर्छ भनेझैँ रूस त्यही नीतिमा देखिन्छ। भ्लादिमिर पुटिनको शासन शैलीलाई आधुनिक विश्वमा मेक्यावेलियाली राजनीतिको प्रत्यक्ष उदाहरण मानिन्छ।

नेपालको सन्दर्भमा मेक्यावेली, दर्शनकको अभ्यास: जहाँसम्म नेपालको सन्दर्भमा सत्ता केन्द्रित राजनीतिक घटनाक्रममा केन्द्रित भइरहँदा धेरै पर नगईकन २०६२ देखि आजको दिनसम्म भएका सत्ता उलटपुलटलाई हेर्ने हो भने वैचारिक शून्यता र ‘अंकगणितीय भागबन्डा’ नैतिक संकटको उत्कर्षमा नै बितेको देखिन्छ।

२०७२ मा संविधान बन्यो। त्यसपछि निर्माण भएको सरकार जनताको हितका निम्ति कम्मर कसेर लाग्नुपथ्र्याे तर अंकगणितीय खेल खेल्दै पुनः सत्तामा पुग्न खोज्दा सुशील कोइराला दोस्रो पटक प्रधानमन्त्री बन्न असफल भए। त्यसपछि क्रमशः माओवादी, कांग्रेस, एमालेलाई २०६२ अघिकै राजनीतिक अवस्था सत्ताका लागि जे पनि गर्ने अवस्थामा पु¥यायो। दलहरू सम्पूर्ण रूपमा सत्ता नै प्रमुख हो भने मार्गमा लागे। संविधानमा जनतालाई सार्वभौम र अधिकार सम्पन्न बनाउने उद्देश्य लेख्ने तर व्यवहारमा उल्टो उल्टो गर्ने गर्नाले दलहरू लिग आउट भएको रेलजस्तै बन्न पुगे।

२१औं शताब्दीको प्रगतिशील नेपालका प्रमुख पार्टी कांग्रेस, माओवादी, एमाले तथा मधेसवादी दललाई ठ्याक्कै मेक्यावेलीको दर्शनको सत्ता केन्द्रित राजनीतिमा पु¥यायो। त्यसले लोकतन्त्र र संघीय गणतन्त्रको मात्र होइन सारा नेपाली जनताको भावना र भविष्यमाथि नै भद्दा मजाक ग¥यो। किनकि नेपाली जनताले उनीहरूलाई सत्ता निर्माण र गिराउने खेल खेल्न मात्र पठाएका थिएनन्, राष्ट्रलाई समृद्धिको बाटोमा लैजान मत दिएका थिए।

जनताको चाहनालाई बेवास्ता गर्दै सत्ता स्वार्थमा केन्द्रित भइरहेका देख्दा पहिलो कुरा जनताले पार्टी र नेतालाई विश्वास गर्न छाड्दै गए भने अर्कोतिर दक्षिणपन्थी अतिवादी र पुनरुत्थानवादीलाई राजनीतिक मसला हुन पुग्यो।

यति मात्र होइन दलहरूको सत्ताप्राप्तिको भिडन्तले शक्ति पृथकीकरणको संस्थागत विघटन ग¥यो। जसलाई जसरी हुन्छ सत्तामा पुग्ने ‘हब्सियन’ नियन्त्रणको प्रयासमा राष्ट्र पुग्यो। त्यसै गरी पार्टीहरू ‘नीतिगत क्रूरता’ र हब्सियन अराजकताको आह्‍वानमा पुगे।

कम्युनिस्ट एकता र विभाजन: २०७४ मा वाम गठबन्धन बनाएर लगभग दुई–तिहाइ बहुमत ल्याए पनि पछि सत्ता र पदको खिचातानीका कारण नेकपा फुट्यो। त्यस बेला कम्युनिस्ट नेताहरूले अराजकता देखाए। त्यति मात्र होइन संसद् विघटन र अध्यादेशको अस्त्र सत्ता जोगाउन वा विरोधीलाई सिध्याउन प्रयोग भयो। पटकपटक संसद् विघटन गरिनु र दलीय विभाजन सहज बनाउने अध्यादेश ल्याइनु यसको उदाहरण हो।

सिद्धान्तहीन गठबन्धनहरू: वैचारिक रूपमा बिलकुलै विपरीत ध्रुवमा रहेका दलहरू जस्तै कडा विरोधी मानिएका माओवादी, एमाले, कांग्रेस, र राजावादी/मधेसवादी दलहरू केवल कुर्सी जोगाउनका लागि रातारात गठबन्धन बनाउने र भत्काउने खेलमा केन्द्रित भए। लोकतन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसका नेतृत्वले संसद्मा प्रतिपक्षको राम्रो भूमिका खेल्न नसक्दा कम्युनिस्ट पार्टीहरूले एकलौटी दादागिरीपूर्ण अराजकता प्रदर्शन गरे।

झन्डै डेढ दशक (२०६२/६३) देखि नेपालको राजनीति भन्नलाई लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित भने पनि पूर्ण रूपमा मेक्यावेलियाली यथार्थवादमा चल्यो।

विशेषगरी माओवादी, एमाले र मधेसवादी दलहरूले सत्ता हासिल गर्न र जोगाउन मेक्यावेलीका सबै औजारहरू छलछाम, अप्राकृतिक गठबन्धन, र नीतिगत क्रूरता प्रयोग गरे तर मेक्यावेलीले नै दिएको अन्तिम चेतावनी ‘नागरिकमाझ चरम घृणा फैलिएपछि कुनै पनि शासक वा व्यवस्था जोगिन सक्दैन’ लाई भने उपेक्षा गरे, जसका कारण आज सिंगो राजनीतिक प्रणाली नै नागरिक अविश्वासको भुमरीमा पुग्यो। जसले नेपाललाई परिवर्तनगामीको हातबाट खोसेर दक्षिणपन्थी अतिवादीहरूको हातमा पु¥यायो। सत्ताकेन्द्रित हुँदा हामीले गल्ती ग¥यौं भन्ने याचना प्रचण्डले गरिसके भने कांग्रेस एमाले गरेका छैनन्।

अन्त्यमा नेपालको राजनीतिक इतिहास र वर्तमानको राजनीतिक घटनाहरूलाई हेर्दा दलका नेतृत्वहरूले शासक बन्नु, मेक्यावेली विचारले ‘सत्ता कसरी हत्याउने, कसरी जोगाउने र कसरी छलछाम गर्ने’ भन्ने पाठ त पूरै घोकेतर मेक्यावेलीले नै दिएको ‘अत्याचार र क्रूरताको दुरुपयोगले जनतामा घृणा जन्माउँछ र त्यसले सत्ताको सर्वनाश गर्छ’ भन्ने गम्भीर चेतावनीलाई भने पूर्ण रूपमा भुले, नेपालको वर्तमान राजनीतिक संकट यही मेक्यावेलियाली विचारबाट निर्मित चक्रव्यूहको परिणाम हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विचार बाट थप

थप — विचार

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।