ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

ट्रम्पले मागे विवादित राजदूतको राजीनामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफोयललाई अनुचित र सम्भावित गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपपछि राजीनामा दिन भनेका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव केटी जकारियाले मंगलबार यसबारे जानकारी दिएकी हुन्। तर गिलफोयलले राजीनामा दिइसकेकी छन् वा छैनन् भन्ने स्पष्ट भएको छैन।

ट्रम्पले सोमबार पत्रकारसँग कुरा गर्दै गिलफोयलको आचरणसम्बन्धी रिपोर्टप्रति असन्तुष्टि जनाएका थिए। उनलाई पदबाट हटाउने विषयमा विचार भइरहेको हो भन्ने प्रश्नमा ट्रम्पले भने, ‘हामी यसलाई हेरिरहेका छौँ। हामी खुसी छैनौँ।’

विज्ञापन

गिलफोयलमाथि ग्रीक अधिकारीलाई धम्की दिएको, अनुचित उपहार तथा सेवा लिएको र ट्रम्पका एक समर्थकलाई आफ्नो क्रेडिट कार्डको एक लाख डलरको बिल तिरिदिए अमेरिकी प्रशासनका अधिकारीहरूसँग भेटघाटको पहुँच दिलाउने प्रस्ताव गरेको आरोप छ। द वाल स्ट्रिट जर्नलले सेप्टेम्बरको अन्त्यदेखि प्रकाशित विभिन्न रिपोर्टमा यी विषय उठाएको थियो।

ती रिपोर्टमध्ये एकमा गिलफोयलले आफ्नो नियुक्तिसम्बन्धी सुनुवाइ हुनुअघि ट्रम्पका एक समर्थकलाई क्रेडिट कार्डको बिल तिरिदिन आग्रह गरेको उल्लेख छ। बदलामा उनले प्रशासनका अधिकारीहरूसँग पहुँच दिलाउने प्रस्ताव गरेको आरोप छ। अर्को रिपोर्टमा उनले एक कार्यक्रममा अमेरिकाले चाहेमा ग्रीक सरकारलाई कमजोर बनाउन सक्ने बताएको दाबी गरिएको थियो।

यो पनि पढ्नुहोस्

ग्रीसका लागि अमेरिकी राजदूत हटाउने तयारीमा ट्रम्प, के छन् आरोप?

गिलफोयलका वकिलहरूले भने आरोप अस्वीकार गरेका छन्। उनीहरूका अनुसार ट्रम्पका समर्थकसँग मागिएको एक लाख डलर उनको क्रेडिट कार्डको बिल तिर्नका लागि नभई राजदूत नियुक्त हुनुअघि गरेका सार्वजनिक उपस्थिति र भाषण कार्यक्रमको बाँकी भुक्तानी थियो। निजी विमानमा यात्रा गर्दा पनि गिलफोयलले अमेरिकी विदेश मन्त्रालयको निर्देशन र यात्रा नियम पालना गरेको वकिलहरूको दाबी छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सुरुमा गिलफोयलको बचाउ गरेका थिए। तर पछि आरोपबारे पत्रकारले प्रश्न गर्दा उनले ती विषय सत्य हुन् वा होइनन् भन्ने आफूलाई थाहा नभएको भन्दै पुष्टि नभएका आरोपबारे जवाफ दिन अस्वीकार गरेका थिए।

यसैबिच, अमेरिकी विदेश मन्त्रालयका महानिरीक्षकले आरोपबारे छानबिन गरिरहेको हुन सक्ने एक अमेरिकी अधिकारीले बताएका छन्। तर औपचारिक अनुसन्धान सुरु भएको पुष्टि भएको छैन। अमेरिकी संसद्का केही डेमोक्रेटिक सांसदले पनि गिलफोयलमाथि अनुसन्धान गर्न माग गरेका छन्।

गिलफोयल यसअघि फक्स न्युजकी प्रस्तोता र क्यालिफोर्नियाकी सरकारी वकिल थिइन्। उनी ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरसँग करिब छ वर्ष सम्बन्धमा रहेकी थिइन्। उनीहरूले सन् २०२० मा इन्गेजमेन्ट गरेका थिए, तर विवाह गरेनन्। सन् २०२४ मा उनीहरूको सम्बन्ध टुंगिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।