झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म जोड्ने मेची करिडोरअन्तर्गत इलाम-झापा फास्ट ट्र्याक (केचना-कञ्चनजंघा मार्ग) निर्माणको काम वर्षाैंदेखि कचल्टिएको छ।
निर्माण व्यवसायीले चरम आलटाल गरेकै कारण पटक-पटक म्याद थप्दा र ‘काम सक्छु’ भनी गरेको ‘बोक्रे’ प्रतिबद्धता बचनमै सीमित भएको छ। राजनीतिक दलको संरक्षणका व्यक्ति र जनप्रतिनिधिआबद्ध निर्माण कम्पनीले चरम लापरबाही गर्दाको सास्ती चाहिँ इलाम, पाँचथर, ताप्लेजुङवासीले भोगिरहेका छन्।
फिल्डमा काम गरेजस्तो गर्ने तर कामको गति पिटिक्कै नबढाउने कम्पनीको चरित्रले स्थानीय वाक्क दिक्क भइसकेका छन्। बर्खामा मेची राजमार्गको राजदुवाली खण्डमा पहिरोको जोखिम भएपछि प्राय: सवारी साधन बन्द गर्ने गरिएको छ। यसले स्थानीयलाई यातायात सेवामा अझ पीडित बनाएको छ।

विशेषगरी यो सडकअन्तर्गत साढे ९ किलोमिटरको बेलासे-राकसे-गोलाखर्क खण्डको काममा चरम ढिलाइ भइरहेको छ। २०७८ असार २९ मा २ वर्षभित्र कालोपत्रेसमेत सक्नेगरी २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लागेको थियो। लागेको ठेक्काको काम ५ वर्ष बित्दा आधा पनि भएको छैन।
खड्का-कृष्ण-सक्षम जेभीले जिम्मा लिएको काम ४७ प्रतिशतमात्रै भएको सडक डिभिजनले जनाएको छ। ठेकेदारको लापरबाहीकै कारण विभिन्न आर्थिक वर्षमा फास्ट ट्र्याकको झन्डै २० करोड रुपैयाँ फ्रिजसमेत भइसकेको छ। तर, सडक निर्माण नसकिएर उपभोक्ताले भने सधैं हैरानी खेप्नुपरिरहेको छ। बर्खामा पानीले सडक बिगारिरहने हुनाले विभिन्न ठाउँमा मर्मत गरिएको छ। तर, गर्नुपर्ने मुख्य काम चाहिँ सकिने कुनै छाँट छैन।
सुरुमा ठेक्का लाग्दा कामको म्याद २०८० पुस २९ सम्म थियो। तर, काम नसकिएपछि ०८२ असार १८ मा सक्नेगरी थपिएको थियो। थपिएको समयभित्र पनि ४५ प्रतिशतमात्रै काम सकिएको थियो। केही महिनाअघि यही असोज मसान्तमा सकिने गरी म्याद थपिएको छ। ‘तर, अहिले पनि जम्मा ४७ प्रतिशतमात्रै काम भएको छ,’ डिभिजन प्रमुख पवन भट्टराई भन्छन्, ‘निर्माण व्यवसायीले गरेको प्रतिबद्धताअनुसार पिटिक्कै कामको गति अघि बढेन। सकिने त कुनै भएन।’
काममा अझै आलटाल गरिरहेको निर्माण कम्पनीले पुनः म्याद थपका लागि निवेदन दिएको छ। तर, डिभिजन प्रमुख भट्टराईले अब विश्वासिलो आधारबिना म्याद नथपिने बताए। ‘कामको गति चित्तबुझ्दो नहुँदा हामीले कम्पनीलाई लिखित स्पष्टीकरण सोधेका छौं,’ भट्टराईले भने, ‘तर, उसले म्याद थपका लागि निवेदन दिएको छ । स्पष्ट कारणबिना म्याद थपिने छैन, हर्जना लगाएर ठेक्का तोड्ने प्रक्रियामा जानुपर्ने हुन्छ।’
२०८० सालमा कालोपत्रे सकिनुपर्ने सडकमा पाँच किलोमिटर हाराहारीमा ग्राभेल मात्रै भएको छ। कानुनका विभिन्न छिद्र टेकेर, राजनीतिक उन्मुक्ति पाइरहेका निर्माण व्यवसायीले अहिले पनि पुरानै लय समातेको देखिएको छ।
२०८२ असोज १८ र १९ को बाढीले केचना-कञ्चनजंघा सडकअन्तर्गत माइखोलाको पुल क्षति गरेकामा अहिले मर्मत भइसकेको छ। यही सडकको पुवाखोवामा बेली ब्रिज र ठाडेखोलामा बक्स कल्भर्टसमेत बनिसकेको छ। तर, सडक समयमा निर्माण नसकिँदा विशेषगरी ठुला सवारीका साधन गुडाउने विकल्प बन्दझैं भएको छ। मेची राजमार्गको राजदुवाली खण्डबाट अहिले पनि ठुला सवारी साधन खुलेका छैनन्। फास्ट ट्र्याक पनि कष्टकर हुँदा स्थानीयले दुःख पाइरहेका छन्।
२०८४ असार मसान्तसम्ममा कालोपत्रेसमेत सक्नेगरी लोदियादेखि सोक्तिमसम्मको २ किलोमिटर, बेलासे पुलदेखि चिसापानीतर्फको २ सय मिटर र माइपोखरीछेउ नमुना चोकदेखि इलाम बजारतर्फको ८ सय मिटरको काम भगवती निर्माण सेवाले लिएको छ। अहिले सोक्तिम-लोदिया खण्डमा २-३ फिटसम्म हिलो जमेर सवारी साधन गुडाउनुपर्ने बाध्यता छ। यसको म्याद १ वर्ष रहेकाले म्यादभित्र सकिने डिभिजनले जनाएको छ। अहिले बर्खाले बिगारेको ठाउँ मर्मत, स्ट्रकचरलगायतका काम भइरहेका छन्। अहिले यहाँको काम १२ प्रतिशत सम्पन्न भएको छ।
सोक्तिमदेखि बेलासमेसम्मको केही किलोमिटर सडक कालोपत्रे भइसकेको छ। धुलिखेल-आले जेभीले ६ करोड ३६ लाख ३६ हजार रुपैयाँमा २०७९ जेठ १९ देखि ०८० जेठ १८ मा काम सक्नेगरी ठेक्का लिएको थियो। तर, काम नसकिएपछि २०८१ पुस २६ सम्म म्याद थपिएको थियो। त्यो ठेक्काको काम सकिए पनि यो खण्डको २ किलोमिटरमा अझै कालोपत्रे गर्ने काम भइरहेको डिभिजनको भनाइ छ।
यो सडकका विभिन्न खण्डमा ठेक्का लागेयता धमाधम काम भइदिएको भए अहिलेसम्म इलाम सदरमुकामदेखि झापा (बिर्तामोड)को दूरी करिब आधार छोटिने थियो। मेची राजमार्ग भएर इलामबाट ८४ किलोमिटरमा पार गर्नुपर्ने दूरी यो सडक भएर ४७ किलोमिटर हाराहारीमै पार हुन्छ। तर, सडक कच्ची भएका कारण सवारीका साधन चलाउन मुस्किल हुने गरेको छ।
ठेकेदार मेयरले भने- ‘महाधिवेशनमा छु, अहिले बोल्न मिल्दैन’
बेलासे-राकसे-गोलाखर्क सडक खण्डको काम २ वर्षमा सक्नेगरी ठेक्का लिएर ५ वर्षमा आधा पनि पूरा नगर्ने खड्का-कृष्ण-सक्षम जेभीका प्रोप्राइटर जाजरकोटका प्रकाश खड्का हुन्। तर, उनको नाममा मुख्य निर्माण व्यवसाय गर्ने व्यक्ति चाहिँ उनका बुबा रत्नबहादुर खड्का हुन्, जो जाजरकोटको छेडागाड नगरपालिकाका मेयर हुन्।
छोराको नाममा कम्पनी राखे पनि निर्माणको काममा प्रत्यक्ष रूपमा रत्न नै सक्रिय छन्। उनी ‘फास्ट ट्र्याक जसरी पनि निर्माण गरिसक्छु’ भन्दै गत असारमा इलाम आएका थिए। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल इलाम आएका बेला उनकै ठाडो निर्देशनमा तोडिने प्रक्रियामा जान लागेको ठेक्का रत्नकै प्रतिबद्धताअनुसार पुनः उनैलाई नै जिम्मा दिइएको थियो। र, डिभिजनले भनेको थियो- ‘यो उनलाई अन्तिम मौका हो।’
गत असारमा खड्काले २० दिनमा यो सडक हिलोमुक्त बनाउने र असोजभित्र कालोपत्रे सक्ने प्रतिबद्धता गरेका थिए।
तर, अहिले सडकको निर्माण प्रगतिबारे प्रतिक्रिया लिन खोज्दा उनी बोल्न चाहेनन्। ‘म अहिले कांग्रेस महाधिवेशनमा काठमाडौंमा छु, बोल्न मिल्दैन,’ रत्नले संवाददातासँग टेलिफोनमा भने, ‘यहाँ महाधिवेशनको तनाव छ, तपाइँ बाटोको कुरा गर्नुहुन्छ।’ २ पटक सम्पर्क गर्दा उनले यति भनेर फोन राखिदिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।