ब्रेकिङ न्युज
विज्ञापन
समाज

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा कृषि वैज्ञानिक खत्री

कर्णालीको माटो, कृषि र सम्भावना बुझेका वरिष्ठ कृषि वैज्ञानिक डा. भीमबहादुर खत्री प्रदेशको विकास योजना बनाउने जिम्मेवारीमा पुगेका छन्।

आलु अनुसन्धान, उन्नत जात विकास, बीउ उत्पादन प्रणाली र कृषि नीति निर्माणमा चार दशकभन्दा लामो अनुभव हासिल गरेका खत्रीलाई कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष नियुक्त गरिएको छ।

प्रदेशको नीति तथा योजना निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोगको नेतृत्वमा पुगेका उनका लागि अबको मुख्य चुनौती आफ्नो प्राविधिक ज्ञान र प्रशासनिक अनुभवलाई कर्णालीको विकास योजनासँग जोड्नु हुनेछ।

विज्ञापन

शुक्रबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले खत्रीलाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई नियुक्त गरे भने मुख्यमन्त्री मंगलबहादुर शाहीले आइतबार नै उनलाई पद तथा गोपनीयताको शपथ गराए।

गत १२ साउनमा नेकपा एमाले नेतृत्वको सरकार परिवर्तन भएपछि रिक्त रहेको आयोगको उपाध्यक्ष पदमा खत्रीको नियुक्तिसँगै नयाँ नेतृत्व आएको छ।

जुम्लाको तातोपानी गाउँपालिका-४ हाँकुमा जन्मिएका खत्रीको व्यावसायिक जीवन कृषि अनुसन्धान, प्राविधिक विकास र प्राज्ञिक क्षेत्रमा बितेको छ। नेपाल कृषि अनुसन्धान परिषद्मा वरिष्ठ वैज्ञानिकदेखि नेतृत्वदायी जिम्मेवारीसम्म सम्हालेका उनले अनुसन्धान योजना तर्जुमा, कार्यान्वयन, समन्वय र अनुगमनमा काम गरेका छन्।

उनको अनुभव खेतीपातीको प्रविधिमा मात्र सीमित छैन; राष्ट्रिय स्तरका अनुसन्धान कार्यक्रम सञ्चालन, विकास आयोजना व्यवस्थापन र नीतिगत परामर्शसम्म फैलिएको छ।

सन् १९९५ देखि २०१६ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रममा वरिष्ठ वैज्ञानिकका रूपमा काम गरेका खत्रीले करिब २१ वर्ष आलुको जात सुधार, मूल बीउ उत्पादन र वास्तविक आलुको बीउ (टिटिपिएस) प्रविधिको प्रवर्द्धनमा बिताएका थिए।

अन्तर्राष्ट्रिय आलु केन्द्रलगायत संस्थासँग सहकार्य गर्दै अनुसन्धान परियोजना सञ्चालन र किसान उपयोगी प्रविधि विकासमा योगदान गरेका उनले नेपालको आलु अनुसन्धानलाई संस्थागत रूपमा अघि बढाउने काममा भूमिका निर्वाह गरेका छन्।

सन् २०१६ देखि २०१७ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको संयोजक रहेका उनले खुमलटार, ललितपुरमा राष्ट्रिय स्तरको आलु अनुसन्धान, उन्नत जात विकास र मूल बीउ उत्पादनसम्बन्धी कार्यक्रमको नेतृत्व गरेका थिए। त्यसअघि सन् २०१५ देखि २०१६ सम्म बागवानी अनुसन्धान केन्द्र, दैलेखको प्रमुखका रूपमा काम गरेका उनले स्विस विकास तथा सहयोग नियोगअन्तर्गत सञ्चालित राष्ट्रिय आलु विकास कार्यक्रममा मध्य पश्चिमाञ्चलका पहाडी तथा तराई क्षेत्रमा कृषक समूह गठन, बीउमा आत्मनिर्भरता र अनुसन्धान परीक्षणको नेतृत्वसमेत गरेका थिए।

नेपाल कृषि अनुसन्धान परिषद्मा रहँदा देशभरका ६१ अनुसन्धान केन्द्रका अनुसन्धान तथा प्रशासनिक कार्यक्रमको योजना तर्जुमा, समन्वय र अनुगमनको केन्द्रीय नेतृत्व गरेको अनुभव पनि उनीसँग छ।

कृषि विभागअन्तर्गत खुमलटारमा बालीका रोग पहिचान तथा नियन्त्रण र जिल्ला कृषि विकास कार्यालय, रौतहटमा प्रमुखका रूपमा बाली उत्पादन कार्यक्रमको जिम्मेवारी सम्हालेका खत्रीले कृषि क्षेत्रका विभिन्न तहमा काम गरेका छन्।

खत्रीको अनुभव कृषि अनुसन्धानमा मात्र सीमित छैन। नेपाल सरकारको ‘कर्णाली अञ्चल विशेष कृषि विकास कार्यक्रम’ (सन् २००२-२००५) र विश्व बैंकको सहयोगमा सञ्चालित ‘कृषि तथा खाद्य सुरक्षा आयोजना’ (सन् २०१४-२०१७)को संयोजकका रूपमा काम गरेका उनले विकास कार्यक्रम सञ्चालन र समन्वयको अनुभव हासिल गरेका छन्।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)मा विज्ञ परामर्शदाताका रूपमा उनले कोभिड-१९ महामारीपछिको सामाजिक-आर्थिक पुनरुत्थान तथा कृषि उत्पादन चक्र प्रवर्द्धनसम्बन्धी काम गरेका थिए।

यसअघि कर्णाली प्रदेश मन्त्रिपरिषद्बाट गठित ‘बजेट खर्च तथा कार्यान्वयन कार्यविधि छानबिन समिति’को संयोजकसमेत रहेका खत्रीलाई प्रदेशको योजना निर्माणसँग जोडिने अवसर र चुनौती दुवै छन्। कर्णालीको भौगोलिक विविधता, कृषि उत्पादनको सम्भावना, पूर्वाधारको आवश्यकता र सीमित स्रोतसाधनलाई ध्यानमा राखेर योजना तर्जुमा गर्नु आयोगको महत्त्वपूर्ण काम हुनेछ।

अनुसन्धान र विकास आयोजना व्यवस्थापनमा उनको अनुभवले यस प्रक्रियामा योगदान दिन सक्ने अपेक्षा गर्न सकिन्छ। तर, त्यसको प्रभावकारिता योजना छनोट, बजेट विनियोजन र कार्यान्वयनमा देखिने परिणामले निर्धारण गर्नेछ।

वि.सं. २०१४ फागुन ३ गते जुम्लाको तातोपानी गाउँपालिका-४ हाँकुमा बुवा पूर्णप्रसाद र आमा ललिता न्यौपानेका सन्तानका रूपमा जन्मिएका खत्री सरकारका सेवानिवृत्त वरिष्ठ वैज्ञानिक हुन्। उनले २०३१ सालमा चन्दननाथ माध्यमिक विद्यालयबाट एसएलसी र २०३४ सालमा नेपालगन्ज क्याम्पसबाट कृषि विज्ञानमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए।

त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पस, चितवनबाट स्नातक गरेका उनले फिलिपिन्सको बेङ्गेट स्टेट विश्वविद्यालयबाट बागवानीमा स्नातकोत्तर र अस्ट्रेलियाको तस्मानिया विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान अध्ययन संस्थानबाट कृषिमा विद्यावारिधि गरेका हुन्।

सन् २०२१ देखि बागवानी विषयका प्राध्यापक रहेका खत्रीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत कीर्तिपुरमा स्नातकोत्तर तहका विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन्। त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका स्नातकोत्तर तथा विद्यावारिधि तहका शोधार्थीको मुख्य सल्लाहकार र शोध निर्देशकका रूपमा पनि उनी सक्रिय छन्।

आलु, तरकारी, फलफूल तथा जलवायु अनुकूलनसम्बन्धी उनका दुई दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित छन्।

कृषि, गरिबी निवारण र खाद्य सुरक्षा क्षेत्रका परियोजनाको स्वतन्त्र मूल्यांकनमा समेत संलग्न रहेका उनले हेफर इन्टरनेसनल, विनरोक इन्टरनेसनल, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी), युरोपेली संघ, प्राक्टिकल एक्सन र गुड नेबर्स इन्टरनेसनललगायत संस्थाका परियोजनाको मूल्याङ्कन टोली प्रमुखका रूपमा काम गरेका छन्। उनी नेपाल कृषि वैज्ञानिक समाज, एग्रिकल्चर कन्सर्न्ड सोसाइटी (नेपाल) र नेपाल बागवानी समाजका आजीवन सदस्य हुन्।

नेपालका ६४ जिल्लामा स्थलगत अध्ययन तथा प्राविधिक भ्रमण गरेका खत्रीले अस्ट्रेलिया, भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, नेदरल्यान्ड्स, पेरु, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिंगापुर, बंगलादेश, कम्बोडिया र हङकङलगायत १७ विदेशी राष्ट्रको भ्रमण गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।