ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने गरी काम गर्छु : प्रस्तावित राजदूत पाण्डे

भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल भारतको कुटनितिक सम्बन्ध बनाइराख्न आफूले काम गर्ने बताएका छन्।

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना राख्दै उनले नेपाल–भारतबिच नियमित उच्चस्तरीय भ्रमण, विचारविमर्श र वार्ताबाट द्विपक्षीय समस्या समाधान गर्ने बताए।

चुनौतीहरूको सामना गर्न र आपसी हित प्रवर्द्धन गर्न दुवै देशका सरकार प्रमुखहरूले समय–समयमा समीक्षा गर्नुपर्ने बताउँदै उनले प्रधानमन्त्री बालेन्द्र शाहले छिट्टै भारतको भ्रमण गर्ने बताए।

विज्ञापन

उनले भने,‘ सम्माननीय प्रधानमन्त्रीले छिट्टै भारतको भ्रमण गर्नुहुनेछ। मिति अझै तय हुन बाँकी छ’, उनले भने।

यस्तै, उनले नेपाल–भारत सम्बन्धलाई हाम्रो राष्ट्रिय हितमा, तात्कालिक र दीर्घकालिन आवश्यकता अनुसार राष्ट्रिय सम्मान र जनभावनालाई सर्वोपरी राखेर सम्बोधन गर्न प्रतिवद्ध रहने बताए।

यस्तै, प्रस्तावित राजदूत पाण्डेले भारतसँगको व्यापार असन्तुलन कम गर्न जलविद्युत् निर्यातलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

उनले नेपालमा भारतबाट आयात हुने पेट्रोलियम पदार्थ, ग्यास, फलाम तथा स्टिल, औषधि र मेसिनरी उपकरणजस्ता वस्तुले व्यापार घाटामा ठूलो योगदान पुर्‍याइरहेको बताए। नेपालले जलविद्युत् उत्पादन तथा निर्यात बढाउन सके भारतसँगको व्यापार सन्तुलन सुधार गर्न सकिने उनको तर्क छ ।

‘व्यापार घाटा घटाउन हामीले सबैभन्दा पहिले जलविद्युत् निर्यातलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने। यद्यपि, जलविद्युत् क्षेत्रमा जलवायु परिवर्तन र प्राकृतिक विपत्तिले नयाँ चुनौती थपिरहेको उनको भनाइ छ।

एउटै नदीमा धेरै जलविद्युत् आयोजना केन्द्रित हुँदा विपत्तिका बेला ठूलो क्षति हुन सक्ने जोखिम औँल्याउँदै उनले आयोजनाको विविधीकरण, पावर हाउसको डिजाइन र आपत्कालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।

यस्तै, संसदीय सुनुवाइका क्रममा सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनबारे पनि प्रश्न उठाएका थिए।

पाण्डेले सन् २०१६ मा दुवै देशका सरकारको सहमतिमा गठन भएको ईपीजीले तयार पारेको प्रतिवेदनबारे आफू जानकार रहेको बताउँदै प्रतिवेदन कार्यान्वयनको अवस्था र त्यसमा देखिएका अवरोधबारे थप जानकारी प्राप्त गरेपछि मात्रै प्रभावकारी रूपमा धारणा राख्ने बताए।

‘कार्यभार सम्हालेपछि मात्रै वास्तविक अवस्था थाहा हुन्छ। प्रतिवेदन कहाँ अड्किएको छ र के समस्या छन् भन्ने बुझिसकेपछि त्यसबारे आवश्यक पहल गर्न सक्ने अवस्थामा हुनेछु,’ उनले भने।

प्रस्तावित राजदूत पाण्डेले नेपाल र भारतबीच रहेका विभिन्न द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउनु राजदूतको प्रमुख जिम्मेवारी हुने बताए।

उनले सन् १९५० को सन्धि, ईपीजी प्रतिवेदन, सीमा समस्या तथा डुबानलगायतका विषय समाधान गर्न नियमित संवाद र द्विपक्षीय संयन्त्रबारे आफूले पहल गर्ने बताए।

‘राजदूतको भूमिका भनेको द्विपक्षीय संयन्त्रलाई क्रियाशील बनाउनु हो। हरेक क्षेत्रका संयन्त्रको बैठक नियमित रूपमा बस्न सके धेरै समस्या समाधान गर्न सहज हुन्छ,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।