यात्रुको चापसँगै दसैँ, तिहार र छठ पर्वमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले कर्णालीका १० वटै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ।
कार्यालयले तयार पारेको सुरक्षा योजनाअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति, क्षमताभन्दा बढी यात्रु बोक्ने, ओभर लोड, चालकको लापरबाही र जथाभाबी पार्किङ नियन्त्रण गर्न विशेष चेकजाँच गरिनेछ।
मुख्य राजमार्ग, प्रवेश तथा निकास नाका, जोखिमयुक्त सडकखण्ड र दुर्घटना सम्भावित स्थानमा प्रहरी परिचालन गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख (एसपी) मुकुन्द प्रसाद रिजालले बताए।

रिजाल आफै बसपार्क, कर्णाली राजमार्ग जाने मुख्य नाका बाँगेसिमल, दैलेख जाने मुख्य सडक कपासे, जाजरकोट सल्यान र नेपालगन्ज जाने धुलायाविट र सुब्बा कुनामा पुगेर अवस्था बुझेका छन्।
आर्थिक वर्ष २०८२/०८३ मा कर्णालीका १० जिल्लामा १ हजार १ सय ९७ सवारी दुर्घटना हुँदा १ सय ३५ जनाको मृत्यु भएको थियो भने २ हजार ३ सय ५ जना घाइते भएका थिए।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ९ सय ६८ दुर्घटनामा १ सय ३९ जनाको मृत्यु भएको थियो। दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले चाडपर्वमा निगरानी बढाउन लागेको हो।
योजनाअनुसार सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, पश्चिम रुकुम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्लामा नियमित तथा विशेष चेकजाँच गरिनेछ।
साँझ ६ बजेदेखि बिहान २ बजेसम्म विभिन्न बजार क्षेत्रमा मापसेसहित सवारीसाधनको जाँच गरिनेछ। आवश्यकताअनुसार अन्य समयमा पनि चेकजाँच र आकस्मिक गस्ती सञ्चालन गरिने जनाइएको छ।
प्रमुख बसपार्क तथा यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी बढी भाँडा असुली, टिकटमा ठगी, यात्रुका गुनासा तथा हराएका सामानसम्बन्धी समस्यामा सहयोग गरिनेछ।
लामो दूरीका सवारीमा दुई चालक भए–नभएको, सवारीको यान्त्रिक अवस्था, चालकको थकान र यात्रु क्षमतासमेत निगरानी गरिनेछ।
दुर्घटना भए तत्काल उद्धार गर्न क्विक रेस्पोन्स टिम (क्यूआरटी) परिचालन गर्ने, एम्बुलेन्स तथा स्वास्थ्य संस्थासँग समन्वय गर्ने र सडक अवरोध हटाउने व्यवस्था पनि योजनामा छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।