युईएफए नेसन्स लिगको चौथो चरणअन्तर्गत गएराति आठ खेल सम्पन्न भएका छन्। लिग ‘ए’ मा फ्रान्स र इटालीले जित निकाल्दा लिग ‘बी’ र ‘सी’ का खेलमा पनि महत्वपूर्ण नतिजा आएका छन्। चौथो चरणका बाँकी १० खेल आज राति हुँदैछन्।
समूह ‘ए१’ मा फ्रान्सले बेल्जियममाथि ४-१ को पुनरागमन जित निकाल्यो। पेरिसमा भएको खेलमा बेल्जियमले डोडी लुकबाकियोको गोलमार्फत ३५औँ मिनेटमा अग्रता लिएको थियो।
दोस्रो हाफको अन्तिम १५ मिनेटमा फ्रान्सले चार गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो। ७७औँ मिनेटमा देसिरे डुएले बराबरी गोल गरे। त्यसको चार मिनेटपछि रयान चेर्कीले फ्रान्सलाई २-१ को अग्रता दिलाए। माइकल ओलिसेले त्यसपछि दुई गोल थपेपछि फ्रान्सले ४-१ को फराकिलो जित निकाल्यो।

यस जितसँगै फ्रान्स चार खेलबाट १० अंकसहित समूह ‘ए१’ को शीर्ष स्थानमा छ। इटाली सात अंकसहित दोस्रो, बेल्जियम ६ अंकसहित तेस्रो र टर्की अंकविहीन हुँदै चौथो स्थानमा छन्। फ्रान्सका प्रशिक्षक जिनेदिन जिदानले घरेलु मैदानमा पहिलो जितसमेत हासिल गरेका छन्।
सोही समूहमा इटालीले टर्कीलाई ३-१ ले पराजित गर्यो। जियानलुका स्कामाकाले २६औँ मिनेटमा इटालीलाई अग्रता दिलाए। टर्कीका अराल सिमसिरले ६१औँ मिनेटमा बराबरी गरे पनि इटालीले त्यसपछि लगातार दुई गोल गर्यो।
रिकार्डो कालाफियोरीले ६५औँ मिनेटमा इटालीलाई पुनः अग्रता दिलाए भने पियो एस्पोसिटोले ८०औँ मिनेटमा तेस्रो गोल गरे। जितसँगै इटालीले चार खेलबाट सात अंक बनाएको छ।
समूह ‘बी२’ मा उत्तरी आयरल्यान्ड र जर्जियाले गोलरहित बराबरी खेले। उत्तरी आयरल्यान्डले घरेलु मैदानमा पेनाल्टी पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। बराबरीपछि उत्तरी आयरल्यान्ड समूहको शीर्ष स्थानमा कायम छ।
युक्रेनलाई हंगेरीले २-१ ले पराजित गर्यो। समूह ‘बी४’ मा बोस्निया एन्ड हर्जगोभिनाले पोल्यान्डलाई १-० ले हराउँदा स्विडेनले रोमानियालाई १-० ले पराजित गर्यो।
युईएफए नेसन्स लिगअन्तर्गत चौथो चरणका बाँकी खेल आज हुँदैछन्। आज लिग ‘ए’ देखि ‘सी’ सम्मका १० खेल हुनेछन्। सबैभन्दा आकर्षणमा इंग्ल्यान्ड र चेकिया तथा क्रोएसिया र स्पेनबीचको खेल रहनेछ।
समूह ‘ए३’ मा स्पेन तीन खेलबाट नौ अंक जोड्दै शीर्ष स्थानमा छ। स्पेनले पहिलो खेलमा इंग्ल्यान्डलाई ३-२, दोस्रो खेलमा क्रोएसियालाई ४-१ र तेस्रो खेलमा चेकियालाई ३-१ ले पराजित गरेको थियो। लगातार तीन जित निकालेको स्पेन आज क्रोएसियाविरुद्ध पनि जित निकाल्दै समूहमा आफ्नो अग्रता थप बलियो बनाउने लक्ष्यमा हुनेछ।
क्रोएसिया भने तीन खेलबाट तीन अंक जोडेर तेस्रो स्थानमा छ। उसले पहिलो खेलमा चेकियालाई पराजित गरे पनि त्यसपछि स्पेनसँग ४-१ र इंग्ल्यान्डसँग ७-० को फराकिलो हार बेहोरेको थियो। घरेलु मैदानमा स्पेनलाई रोक्दै क्रोएसिया प्रतियोगितामा फर्किने प्रयासमा हुनेछ।
सोही समूहमा इंग्ल्यान्डले चेकियासँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्ड पहिलो खेलमा स्पेनसँग ३-२ ले पराजित भएपछि चेकियालाई २-० र क्रोएसियालाई ७-० ले हराउँदै लगातार दुई जित निकाल्न सफल भएको थियो। तीन खेलबाट ६ अंक जोडेको इंग्ल्यान्ड आज चेकियालाई हराउँदै स्पेनमाथिको दबाब कायम राख्न चाहन्छ।
इंग्ल्यान्डका कप्तान ह्यारी केनले प्रतियोगिताका तीन खेलमा चार गोल गरेका छन्। आज चेकियाविरुद्ध मैदान उत्रँदा उनी इंग्ल्यान्डका लागि १२५औँ अन्तर्राष्ट्रिय खेल खेल्नेछन्। यो इंग्ल्यान्डका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरी हुनेछ।
चेकिया भने तीन खेलबाट अंकविहीन छ। उसले तीनै खेलमा हार बेहोरेको छ। स्पेन र इंग्ल्यान्डजस्ता बलिया टोलीविरुद्ध पराजित भएको चेकिया आज इंग्ल्यान्डविरुद्ध अंक जोड्दै समूहमा आफ्नो स्थिति सुधार्ने लक्ष्यमा हुनेछ।
लिग ‘बी’ को समूह ‘बी१’ मा आज स्कटल्यान्ड र स्लोभेनिया तथा स्विट्जरल्यान्ड र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ। स्विट्जरल्यान्डले यस समूहका तीनै खेल जितेको छ भने नर्थ म्यासेडोनिया अंकविहीन छ। स्कटल्यान्ड र स्लोभेनियाबीचको खेल पनि समूहको अंकतालिकाका लागि महत्वपूर्ण हुनेछ।
लिग ‘सी’ अन्तर्गत समूह ‘सी३’ मा कजाखस्तानले फारोइ आइल्यान्ड्स तथा मोल्डोभाले स्लोभाकियासँग खेल्नेछन्। समूह ‘सी१’ मा अल्बानिया र सान मारिनो तथा बेलारुस र फिनल्यान्ड आमनेसामने हुनेछन्। समूह ‘सी४’ मा इस्टोनिया र आइसल्यान्ड तथा लक्जेम्बर्ग र बुल्गेरियाबीच खेल हुनेछ।
आजको पहिलो खेल काजकिस्तान र फारोइ आइल्यान्ड्सबीच हुनेछ। यो खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ। त्यसपछि बाँकी नौ खेल राति १२ः३० बजे सुरु हुनेछन्।
नेसन्स लिगमा आज हुने खेलमध्ये इंग्ल्यान्ड-चेकिया र क्रोएसिया-स्पेनलाई विशेष महत्वका साथ हेरिएको छ। स्पेनले जित निकाल्दै समूहमा आफ्नो शतप्रतिशत नतिजा कायम राख्ने लक्ष्य राख्दा इंग्ल्यान्ड पनि चेकियाविरुद्ध तीन अंक जोड्दै शीर्ष स्थानको दौडमा आफूलाई बलियो अवस्थामा राख्न चाहन्छ। क्रोएसियाका लागि भने स्पेनविरुद्धको खेल लगातार दुई हारपछि पुनरागमन गर्ने महत्वपूर्ण अवसर हुनेछ।
आजका खेलपछि नेसन्स लिगको चौथो चरण पूरा हुनेछ। प्रतियोगिताका बाँकी दुई चरण नोभेम्बरमा हुनेछन् र त्यसपछि समूहको अन्तिम अवस्थाका आधारमा नकआउट चरण तथा रेलिगेसनको समीकरण तय हुनेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।