बाढीले क्षति पुर्याएको मालढुङ्गा पुलको पहुँचमार्ग पुनर्निर्माण भएपछि बागलुङ र पर्वतबीच १५ दिनदेखि अवरुद्ध सिधा यातायात सेवा सञ्चालनमा आएको छ। पुल खुलेसँगै प्रभावित व्यापार, पर्यटन र स्थानीय जनजीवन सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको पर्वततर्फको पहुँचमार्ग बगाएपछि यातायात ठप्प भएको थियो। यसबाट बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपालका विभिन्न जिल्लाका नागरिक प्रभावित भएका थिए।
सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोली र कामदारले चौबीसै घण्टा काम गरेपछि सोमबार बिहान १० बजेदेखि पुल सञ्चालनमा आएको हो। पुल खुलाउन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन भएका थिए।

यातायात अवरुद्ध हुँदा दसैँको समयमा बागलुङको बजार, होटल तथा पर्यटन व्यवसाय प्रभावित भएका थिए। प्रसिद्ध बागलुङ कालिका मन्दिर, पञ्चकोट र ढोरपाटन जाने पर्यटकको आवागमनसमेत घटेको थियो। अत्यावश्यक सामग्री ढुवानीमा पनि समस्या भएको थियो।
मालढुङ्गा पुल राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको महत्त्वपूर्ण सम्पर्क बिन्दु हो। पुल सञ्चालनमा आएसँगै यातायात सहज हुने र सुस्ताएको व्यापार तथा पर्यटन क्षेत्र चलायमान बन्ने आशा स्थानीय व्यवसायीले गरेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।