देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो ।
सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको उक्त सुमो दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल र अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै, सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकस्थित सडकमा लु२ख ६९१२ नम्बरको ट्रकले को२५प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-९ बबिया बस्ने ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ ।
उदयपुरको कटारी नगरपालिका-५ भोर्लेस्थित सडकमा प्र १-०५-००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१-००६ ख ६८४४ नम्बरको इभी गाडी एकआपसमा ठोक्किँदा सोही ठाउँ बस्ने ३० वर्षीय मोटरसाइकल चालक सुमन श्रेष्ठको मृत्यु भएको हो ।
धनुषाको जनकपुर उपमहानगरपालिका-१७ तेतरिया पुलस्थित सडकमा ज ११ प ३०५८ नम्बरको मोटरसाइकल र म प्र ०२-००९ प ११५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही ठाउँका १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएका तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोरङको सुनवर्षी नगरपालिका-५ झुङगी टोलस्थित सडकमा बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल र प्र १-०२-०४५ प ८९६६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ ।
रौतहटको मौलापुर नगरपालिका-२ मर्यादपुरस्थित सडकमा बा३७प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार फतुवा विजयपुर नगरपालिका-२ शीतलपुर बस्ने ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ ।
रोल्पाको माडी गाउँपालिका-१ चालाङ भिरस्थित सडकमा घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२-००१ ह १९४७ नम्बरको अटो आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सोही गाउँपालिका-१ घोर्नेटी बस्ने ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।