म्याच फिक्सिङमा संलग्न भएको आरोपमा सर्बियाका टेनिस खेलाडी स्टेफान मिलिसेभिचलाई २४ वर्षको प्रतिबन्ध लगाइएको छ। टेनिसमा आजीवन प्रतिबन्धबाहेक भ्रष्टाचारविरुद्धको अनुसन्धानबाट लगाइएका कडा कारबाहीमध्ये यो एक हो।
अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी अथोरिटी (आईटीआईए) का अनुसार २९ वर्षीय मिलिसेभिचमाथि ६ खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेको थियो। तीमध्ये पाँच खेलमा उनी आफैँ सहभागी थिए। सन् २०२२ देखि २०२४ को अवधिमा थप ६ खेलको नतिजा प्रभावित पार्ने प्रयास गरेको आरोप पनि उनीमाथि छ।
मिलिसेभिचमाथि भ्रष्ट सञ्जालको हिस्साका रूपमा अन्य व्यावसायिक खेलाडीलाई भर्ती गरेको वा भर्ती गर्ने प्रयास गरेको आरोपसमेत लगाइएको छ। उनले भर्ती गर्न खोजेका खेलाडीहरू पनि म्याच फिक्सिङमा संलग्न भएको आरोपमा अनुसन्धानको दायरामा आएका छन्।

आईटीआईएका अनुसार अनुसन्धानमा सहयोग नगरेका कारण उनको प्रतिबन्ध थप कडा भएको हो। स्वतन्त्र अनुसन्धान संस्थाले सात पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि उनले अनुसन्धान प्रक्रियामा सहभागिता जनाएनन्।
सन् २०१४ मा विश्व वरीयतामा १ हजार ३३८औँ स्थानसम्म पुगेका मिलिसेभिचलाई ५३ हजार पाउन्ड जरिवानासमेत गरिएको छ। प्रतिबन्ध सन् २०५० अक्टोबरमा समाप्त हुनेछ। त्यसबेला उनी ५३ वर्षका हुनेछन्।
प्रतिबन्ध लागू रहँदासम्म उनले विश्व टेनिस, डब्लूटीए, एटीपी, ग्रान्डस्लाम प्रतियोगिता वा राष्ट्रिय टेनिस संघबाट आयोजना अथवा स्वीकृति प्राप्त प्रतियोगितामा खेल्न, प्रशिक्षण दिन वा उपस्थित हुन पाउने छैनन्।
यसअघि गत डिसेम्बरमा फ्रान्सेली टेनिस खेलाडी क्वेन्टिन फोलियोलाई पनि म्याच फिक्सिङ प्रकरणमा २० वर्षको प्रतिबन्ध लगाइएको थियो। आईटीआईएका अनुसार उनी म्याच फिक्सिङमा संलग्न खेलाडीहरूको सञ्जालका प्रमुख व्यक्तिमध्ये एक थिए।
सन् २०२२ मा विश्व वरीयतामा ४८८औँ स्थानसम्म पुगेका फोलियोले सन् २०२२ देखि २०२४ सम्मका ११ खेलसँग सम्बन्धित आरोप अस्वीकार गरेका थिए। तीमध्ये आठ खेलमा उनी आफैँ सहभागी थिए। तर सुनुवाइका क्रममा ३० आरोपमध्ये २७ वटा आरोप पुष्टि भएका थिए। ती आरोप ११ मध्ये १० खेलसँग सम्बन्धित थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।