ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न, फिफा परिषद् बैठक आज

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व र संस्थाको सुशासनलाई लिएर विवाद चर्किएका बेला फिफा परिषद्को बैठक आज स्विट्जरल्यान्डको ज्युरिखमा बस्दैछ।

विश्वकपसहित फिफाका प्रमुख प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजना असफल भएपछि इन्फान्टिनो पहिलोपटक फिफाका शीर्ष पदाधिकारीसँग छलफलमा सहभागी हुन लागेका हुन्। युरोपेली फुटबल महासंघ (यूईएफए), एसियाली फुटबल महासंघ (एएफसी) र उत्तर तथा मध्य अमेरिकी एवं क्यारिबियन क्षेत्रको फुटबल महासंघ (कन्काकाफ) का अध्यक्षहरूले उनको नेतृत्व परिवर्तनको माग गर्दै आएका छन्।

बैठकमा अफ्रिका, दक्षिण अमेरिका र ओसिनियाका फुटबल पदाधिकारीसमेत सहभागी हुनेछन्। फिफाको ‘फिफा फर्वार्ड इन्टरप्राइज’ योजनाको असफलता, संस्थाको सुशासन, आर्थिक सञ्चिति र सदस्य राष्ट्रलाई उपलब्ध गराइने विकास रकमबारे छलफल हुने अपेक्षा गरिएको छ।

विज्ञापन

इन्फान्टिनोले गत जुलाईमा फिफाको व्यावसायिक सहायक कम्पनीको अल्पांश हिस्सेदारी निजी लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव अघि सारेका थिए। अमेरिकी लगानीकर्ता जोसुवा कुुस्नरले स्थापना गरेको कम्पनीलाई प्रमुख लगानीकर्ताका रूपमा अघि सारिएको थियो। तर, प्रस्तावको व्यापक विरोध भएपछि केही दिनमै योजना फिर्ता लिन उनी बाध्य भएका थिए।

योजनाले विश्व फुटबलमा नेतृत्वसम्बन्धी मतभेद उजागर गरेको थियो। यूईएफएका अध्यक्ष अलेक्जान्डर सेफेरिन, एएफसीका अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफा र कन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानीले फिफाको नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताएका छन्।

यद्यपि, इन्फान्टिनोले आफ्नो समर्थन जुटाउने प्रयास जारी राखेका छन्। गत साता केप भर्डेमा अफ्रिकी फुटबल पदाधिकारीसँगको भेटमा उनले उभिएर गरिएको स्वागत पाएका थिए। दक्षिण अमेरिकी फुटबल नेतृत्वले पनि सन् २०२७ को निर्वाचनमा उनलाई समर्थन गर्ने अपेक्षा गरिएको छ। एसियाका केही राष्ट्रले समेत उनको पक्षमा समर्थन जनाएका छन्।

इन्फान्टिनो सन् २०१६ देखि फिफाको अध्यक्ष छन्। उनी सन् २०२७ मार्चमा हुने निर्वाचनमा पुनः अध्यक्ष बन्ने तयारीमा छन्। उम्मेदवारी दर्ताको अन्तिम मिति नोभेम्बर १८ तोकिएको छ। स्विट्जरल्यान्डका पूर्वराष्ट्रिय खेलाडी तथा टोटनह्यामका पूर्वरक्षक रामोन भेगाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। तर, आवश्यक पाँच राष्ट्रिय फुटबल संघको समर्थन प्राप्त भएको पुष्टि उनले गरेका छैनन्।

बैठकमा फिफाको सुशासन संरचना र अध्यक्षको अधिकार सीमित गर्ने विषयले पनि प्राथमिकता पाउने अपेक्षा छ। फिफा काउन्सिलका ३७ सदस्यले संस्थाको आर्थिक सञ्चिति र सदस्य संघलाई कति रकम उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल गर्नेछन्।

गत महिना यूईएफए र कन्काकाफले फिफाका २११ सदस्य संघलाई जनही एक करोड अमेरिकी डलर उपलब्ध गराउन माग गरेका थिए। इन्फान्टिनोको प्रस्तावित योजनाअन्तर्गत सदस्य संघले दुई करोड डलरसम्म विकास सहायता पाउन सक्ने र थप दुई करोड डलरसम्म पहुँच प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको थियो।

यसैबीच, फिफाले सन् २०२६ देखि २०३० सम्मका लागि ६ अर्ब ३५ करोड अमेरिकी डलरको विकास कोष स्थापना गर्ने योजना बनाएको छ। समाचार संस्था एएफपीका अनुसार उक्त प्रस्ताव आजको परिषद् बैठकबाट अनुमोदनका लागि पेस गरिनेछ। योजनाअनुसार फिफाका २११ सदस्य संघले जनही दुई करोड ५० लाख अमेरिकी डलरसम्म प्राप्त गर्न सक्नेछन्। सन् २०२६ को विश्वकपबाट प्राप्त हुने व्यावसायिक आम्दानीपछि फिफाको आर्थिक सञ्चितिबाट समेत रकम जुटाउने योजना छ।

खेलकुदमा पारदर्शिता र सुशासनका लागि काम गर्दै आएको स्पोर्ट इन्टिग्रिटी ग्लोबल एलायन्सका प्रमुख इमानुएल मेडेरोसले ज्युरिख बैठकमा फिफाको सुशासनबारे स्पष्ट छलफल हुनुपर्ने बताएका छन्। यद्यपि, सन् २०१६ मा फिफाको सुशासन समितिका अध्यक्ष रहेका मिगेल मादुरोले संस्थाको विगतको कार्यशैलीका कारण बैठकबाट ठोस सुधार आउनेमा आशंका व्यक्त गरेका छन्।

फिफाले गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेको ‘फिफा शान्ति पुरस्कार’बारे पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ। निजी लगानीसम्बन्धी योजना असफल भएपछि फिफाको नेतृत्व, आर्थिक पारदर्शिता र संस्थागत सुधारका विषयमा बढेको विवादका बीच यो बैठक हुन लागेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।