ब्रेकिङ न्युज
विज्ञापन
समाज

धरानमा हिउँदमा खानेपानी अपुग

राणा शासनको समयमै उपत्यकापछि सहरी उपभोक्तालाई लक्षित गरेर व्यवस्थित खानेपानी वितरण र व्यवस्थापन गरिएको सहर धरान भए पनि हिउँदमा पानी अभाव हुने गरेको छ।

विसं १९९५–९६ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले फुस्रेमा ट्यांकी निर्माण गरी धरानमा खानेपानी वितरण सुरु गरेका थिए। धरानमा सन् २०१७ मा एडिबीको अनुदान सहयोगमा खानेपानी परियोजना सञ्चालन गरिएको थियो। २०७७ सालमा खानेपानी संस्थानलाई गाभेर धरान उपमहानगरपालिकाको स्वामित्वमा रहने गरी खानेपानी व्यवस्थापन बोर्ड गठन गरिएको थियो।

खानेपानी बोर्डमार्फत दैनिक तीन करोड लिटर पानी वितरण हुने गरेको छ। यी पानी धरान नगरपालिका हुँदा रहेका १५ वटा वडामा वितरण हुने गरेको छ। बोर्डमार्फत धरान वडा नं ४, ५, ६, १७ का आधा भाग र वडा नं २० गरी पाँचवटा वडामा भने वितरण हुँदैन।

विज्ञापन

धरानका बर्खाका बेला खानेपानी अभाव नभए पनि हिउँदका बेला साविकको नगरपालिका क्षेत्रका १५ वटा वडामा मात्रै कम्तीमा ५० लाख लिटर अभाव हुने खानेपानी बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोखरेलले बताए। ‘पहिला त बर्खामा पनि पानी अभाव धेरै हुने गथ्र्यो, अहिले बर्खामा त अभाव हुँदैन’, उनले भने, ‘हिउँदमा भने अभाव हुने गर्छ।’

उनका अनुसार पछिल्लो समय धरानमा बसाइँ सरेर आउनेले घर बनाउने क्रम तीव्र रूपमा वृद्धि भइरहेकाले गर्दा पनि दिनदिनै पानी अभावमा पनि वृद्धि हुनेछ।

धरानमा खासगरी २०७९ को स्थानीय तह निर्वाचनपछि तत्कालीन समयमा स्वतन्त्रबाट उम्मेदवार दिएका हर्क साम्पाङले पानीको मुख्य मुद्दा लिएर चुनाव जितेपछि सर्दु खोलाबाट झन्डै एक हजार सात सय मिटरमाथि रहेको पकुवा खोलाको मुहानबाट पाइपमार्फत पानी सर्दु खोला झार्ने ‘पकुवा प्रोजेक्ट’ सफल गरेसँगै पानी अभाव सहज हुन ठुलो सफलता मिलेको थियो। सर्दु खोलाको पानी धरानसम्म आउँदा ५० प्रतिशत हाराहारी धरानका बासिन्दाले भोग्दै आएको पानी समस्या समाधान भएको हो।

खानेपानी बोर्डले धरानका १५ वटा वडामा २९ हजार धारा जडान गरी पानी वितरण गर्दै आएको छ। तत्कालीन मेयर साम्पाङले खानेपानीको मुख्य एजेन्डालाई केही हदसम्म पूरा गरेसँगै गत फागुनमा भएको प्रतिनिधिसभा सदस्यमा समेत विजयी भए।

धरान खानेपानी व्यवस्थापन बोर्डबाहेक वडा नं ४ मा तीनभन्दा बढी खानेपानी उपभोक्ता समितिले विभिन्न उपाय लगाएर खानेपानी उपयोग गर्दै आएका छन्। यसमा सयभन्दा बढी घरका लागि लक्षित गरेर सुमनटार मनुवाटार खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छ। प्रदेशस्तरीय खानेपानी डिभिजन कार्यालय इटहरीले चार वर्षअघि सुरु गरेको खानेपानी आयोजना पूरा गर्न अझै एक वर्ष लाग्ने सुमनटार मनुवाटार खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर राईले बताए। उनका अनुसार अहिले सो बस्तीका बासिन्दाले भने मनुवाटारको वाइम खोलाबाट पानी पाइपमार्फत रिजर्भ ट्यांकीमा जम्मा गरेर वितरण गर्ने गरिएको छ। यो पानीबाट ६० घरपरिवार लाभान्वित छन्।

धरान वडा नं ४ मा ढाँडे तेलनपुर खानेपानी आयोजनाअन्तर्गत पाइपलाइन विस्तार कार्य भइरहेको छ। यस्तै पत्रनबारी खानेपानी आयोजनाअन्तर्गत मुहानदेखि आउने पाइपलाइन विस्तार गरिसकिएको छ। अब पक्कीको टयाङ्की निर्माण गरेर पानीलाई स्थायी रूपमा संकलन गरिने अनि वितरण गरिने प्रदेशस्तरीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीले जनायो।

खानेपानी कार्यालयका अनुसार धरान वडा नं ४ मै पटनाली खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छ। खानेपानी कार्यालयका सबइन्जिनियर रितेश श्रेष्ठका अनुसार पटनालीमा धारा वितरण गरिसकिएको छ। यद्यपि यतिबेला एउटा मात्र बोरिङ चालु छ। यहाँका बासिन्दाले बर्खायामबाहेक हिउँद समयमा उम्रेको पानी पनि उपयोग गर्ने गरेका छन्।

धरान वडा नं ५ मा निशानडाँडा खानेपानी आयोजनाको ट्यांकी निर्माण हुने क्रम पनि पूरा हुने अवस्थामा रहेको छ। यही वडामा देवीगाउँ खानेपानी आयोजनामार्फत वितरण गरिएको पानीले नपुगेर मुहान थप्ने काम भइरहेको छ। यस आयोजनामार्फत ५८० घर परिवारले पानी उपयोग गरिरहेका छन् तर पानी अभाव भएकाले नयाँ मुहान थप्ने काम भइरहेको छ। वडा नं ५ कै मुक्तिला खानेपानी आयोजनाका लागि पाइप बिछ्याउने काम भइरहेको छ। यो योजना पूरा भएपछि लगभग ३५ घरपरिवार लाभान्वित हुनेछन्।

वडा नं ५ मै देउराली खानेपानी तथा सरसफाइअन्तर्गत पाइपलाइन विस्तार भइरहेको छ। यहाँका बासिन्दालाई पर्याप्त पानी पुर्‍याउने लक्ष्यका साथ पम्पिङ गरेर पानी थप्ने काम भइरहेको हो। यसका लागि बोरिङदेखि साढे चार किलोमिटर पाइपलाइन विस्तार भइसकेको छ।

धरान वडा नं ६ पानमारीमा चैत र वैशाखका बेला पानीमा समस्या हुने गरे पनि अरूबेला भने सहजै हुने गरेको छ। वडा नं ६ मा २०५८ साल पुस २२ देखि पानमारी खानेपानी आयोजना सुचारु भएसँगै खानेपानीका लागि सहज भएको हो। खानेपानी आयोजनाका अध्यक्ष मचिन्द्र गुरुङका अनुसार यस वडामा दुई हजार ४ सय ३९ घरमा धारा गरी खानेपानी सुविधा पु¥याइएको छ।

धरान वडा नं २० मा अहिले प्रदेशस्तरीय खानेपानी तथा सरसफाइ आयोजनामार्फत चारवटा योजना निर्माणाधीन अवस्थामा रहेका छन्, जसमा धार्ने खानेपानी आयोजना विद्युत् भोल्टेज नपुगेर पानी लिफ्टिङ गर्न नसक्दा विद्युत्सँग समन्वय गरेर पानी वितरण गर्न पहल भइरहेको छ।

यस्तै चिन्डेडाँडा खानेपानी मुहान संरक्षणका लागि पक्की ट्यांकी निर्माण गर्न बाँकी रहेको छ। अर्को नयाँ खानेपानीको पाइपलाइन विस्तारसँगै मर्मत, बुुढाहाङ खानेपानी र हर्दिया खानेपानी आयोजनाको काम पनि भइरहेको छ।

वडा नं २० का अध्यक्ष पदमबहादुर लिम्बुका अनुसार यस वडाको सबैभन्दा बढी पानीको दुःख सुवारा टोलमा रहेको छ। त्यो टोलमा करिब १२० घरपरिवार रहेका छन्। त्यो बस्तीका बासिन्दाले खोलाबाट पानी पम्पिङ गरेर खाने गरेका छन्। वडा नं २० को अन्य स्थानमा भने उपभोक्ता समितिमार्फत खानेपानी योजना सञ्चालन गरी पानी उपयोग गर्दै आएका छन्। ‘वडा नं २० का बासिन्दाले सहजै नभए पनि जसोतसो पानी उपयोग गर्दै आएका छन्’, वडाध्यक्ष लिम्बुले भने।

यहाँ पानी वितरण गर्न वडा नं १३ मा शिवधारा खानेपानी, वडा नं १७ मा खैरेनी खानेपानी स्रोत व्यवस्थापन, वडा नं ३ मा शखरमार्ग कुवा मर्मत, वडा नं १४ मा खानेपानी मुहान संरक्षण तथा पानी वितरण केन्द्रीय प्राविधिक क्याम्पस, वडा नं १३ मा ट्यांकी बनाउने कार्य, वडा नं १ को भोर्लेनीटोल खानेपानी आयोजनाको काम भइरहेको छ। नेपालको राष्ट्रिय जनगणना २०७८ का अनुसार धरानको कुल जनसंख्या एक लाख ६६ हजार ५३१ रहेको छ।

त्यसो त धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत वितरण गरिएको खानेपानी शुल्क एक करोड ५१ लाख ५४ हजार २६६ रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ। संस्थामा कुल २९ हजार धारा रहेकोमा एक हजार ९ सय ५२ धाराको बक्यौता बुझाउन बाँकी रहेको व्यवस्थापन बोर्डको रकेर्डमा रहेको छ।

पछिल्लो समय बोर्डले पटकपटक ताकेता गरेपछि एक करोड नौ लाख ५६ हजार ८३० रुपैयाँ बक्यौता ग्राहकले बुझाएका छन्। ताकेता गर्दा ७१५ उपभोक्ताले बक्यौता बुझाएका हुन्। खानेपानी व्यवस्थापन बोर्डले बक्यौता नबुझाउने २८२ धाराको लाइन काटिदिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।