भिरालो जमिनमा पाइने रम्बास लोपोन्मुख हुँदै गएको छ। खेतबारीको बार लगाउन तथा पशुपालन र दैनिक जीवनमा आवश्यक डोरी, नाम्लो र जाल बनाउन प्रयोग हुने रम्बासका बोटसँगै यसबाट सामग्री बनाउने परम्परागत सीपसमेत ओझेलमा पर्न थालेको छ।
डोटेली भाषामा रम्बास भनिने यस वनस्पतिको वैज्ञानिक नाम अगाभे अमेरिकाना हो। यसको काँडेदार पातले खेतबारीलाई गाईबस्तु तथा वन्यजन्तुबाट जोगाउन जीवित बारको काम गर्ने गरेको नवदुर्गा गाउँपालिका-४ की शान्ति विष्टले बताए। रम्बासको पातबाट निकालिने बलियो रेसाबाट पशु बाँध्ने डोरी, घाँस, दाउरा, सोतर र स्याउला बोक्ने नाम्लो तथा जाल बनाउने गरिन्थ्यो। अहिले रम्बासका बोट घट्दै जानुका साथै त्यसबाट दैनिक उपभोग्य सामग्री बनाउने सीपसमेत हराउँदै गएको उनको भनाइ छ।
पहिले अधिकांश ग्रामीण परिवार पशुपालनमा निर्भर हुने भएकाले गाई, भैँसी, बाख्रा र भेडा बाँध्न रम्बासबाट बनेका डोरी प्रयोग गर्ने चलन थियो। खेतबारीका डिलमा रम्बास रोपेर बार लगाउने र त्यसको रेसाबाट घरायसी प्रयोजनका सामग्री बनाउने गरिन्थ्यो। आलिताल गाउँपालिका-३ का सुरेश भट्टका अनुसार खोला किनारका बासिन्दाले रम्बासबाट बनाइएका जाल माछा मार्नसमेत प्रयोग गर्ने गरेका थिए। अहिले यी सबै समान बजारबाट प्लास्टिका प्रयोग भइरहेका उनले बताए।

रम्बासबाट डोरी बनाउन यसको पात काटेर काँडा हटाइन्थ्यो। त्यसपछि पातभित्रको हरियो गुदी हटाएर सेता र बलिया रेसा निकालिन्थ्यो। ती रेसालाई पानीले सफा गरी घाममा सुकाएपछि हातले बटारेर डोरी बनाउने गरिन्थ्यो। त्यही डोरीबाट घाँस तथा दाउरा बोक्ने जाल, पशु बाँध्ने डोरीलगायत सामग्री तयार पारिन्थ्यो।
अमरगढी नगरपालिका-७ का ८६ वर्षीय ज्येष्ठ नागरिक दानसिंह बोहराका अनुसार रम्बासबाट सामग्री बनाउने काम गाउँघरकै आँगनमा हुने गर्थ्यो। घरका ज्येष्ठ सदस्यले बालबालिकालाई रेसा निकाल्ने, डोरी बाट्ने र जाल बुन्ने सीप सिकाउने चलन थियो। यसरी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप ग्रामीण समुदायको परम्परागत ज्ञान र आत्मनिर्भरतासँग जोडिएको उनले बताए। अहिले नत रम्बास पाइन्छ नत कोही सिक्न नै चाहान्छ यस्तै धेरै कुरा हराउँदै जानथालेकोप्रति उनले चिन्ता व्यक्त गरे।
आधुनिक सामग्रीको प्रयोग बढ्दै जानु, पशुपालनमा आएको परिवर्तन र परम्परागत सीप हस्तान्तरणमा कमी आउनुले रम्बासको प्रयोग घट्दै गएको स्थानीयको भनाइ छ। रम्बासबाट सामग्री बनाउने पुरानो सीप संरक्षण गर्न नसकिए ग्रामीण जीवनसँग जोडिएको महत्वपूर्ण परम्परागत ज्ञानसमेत हराएर जाने चिन्ता बढेको छ।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुका अनुसार कम पानी, सुक्खा तथा ढुङ्गे जमिनमासमेत सहजै हुर्कने रम्बास कुनै समय ग्रामीण जीवनको अभिन्न हिस्सा थियो। डडेल्धुरासहित डोटी, बैतडी, अछाम, बझाङ र दार्चुलाका गाउँमा रम्बासले परम्परागत कृषि प्रणाली र आत्मनिर्भर जीवनशैलीलाई सहयोग पुर्याउँदै आएको उनले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।