ब्रेकिङ न्युज
विज्ञापन
समाज

इजरायल पठाउने नाममा ठगी

नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भयो। २०७७ सालमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली धन्दाबाट सुरु भएको काण्डले पूर्वगृहमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्मलाई तान्यो। उक्त काण्डमा भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै पैसा उठाइएको थियो। लगभग त्यस्तै शैलीमा भएको अर्को ठगी काण्डको अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ।

सन् २०२४ मा इजरायलले कियर गिभरमा कामदार लैजाने भन्दै लिएको परीक्षा पास गरेका तर ‘लक्की ड्र’मा पर्न नसकेकासँग इजरायल पठाइदिने भन्दै पैसा असुली गरेको विषयमा सिआइबीले अनुसन्धान गरिरहेको छ। यो विषयमा सिआइबीले आरोपित भरत चौलागाइँ, बालिका शिवाकोटीसहितलाई नियन्त्रणमा लिएको छ। चौलागाईं नेपाली कांग्रेस रामेछापका नेता एवं महाधिवेशन प्रतिनिधि हुन्।

प्राप्त घटना विवरणअनुसार गत साउनमा लक्की ड्रमा नपरेपछि इजरायल जान नपाएका ११ सय ५२ जनामध्ये केहीले सञ्चार माध्यममा समेत काम गर्ने शिवाकोटीलाई भेट्छन्। उनीहरूले इजरायल जाने उपाय भए सुझाउन आग्रह गर्छन्।

विज्ञापन

इजरायल जान पैसा बुझाउनसमेत उनीहरू तयार भएपछि शिवाकोटीले कांग्रेस नेता चौलागाईंसँग काम मिलाउन प्रस्ताव राखेकी थिइन्। यस्तो प्रस्ताव आएपछि चौलागाईंले आफ्नो सम्बन्ध प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनसँग रहेकाले मन्त्रिपरिषद्बाटै निर्णय गराएर काम गर्ने, यसका लागि पाँच करोड रुपैयाँ चाहिने शिवाकोटीलाई भनेका थिए। चौलागाइँले सुरुमा १५६ जनासँग जनही ६ लाख रुपैयाँका दरले उठाउने र मन्त्रिपरिषद्बाट निर्णय गराएर इजरायल पठाइदिने आश्वासन शिवाकोटीलाई दिएको अनुसन्धानबाट खुलेको छ।

पैसा उठान शिवाकोटीले लक्की ड्रमा नपरेकैमध्येलाई प्रयोग गरेको अनुसन्धानबाट देखिएको छ। सुरुमा प्रकाश कार्की नाम गरेका व्यक्तिले शिवाकोटीलाई एक करोड रुपैयाँ संकलन गरेर बुझाएको खुलेको छ।

विश्वास दिलाउन शिवाकोटीले कार्कीलाई जमानीबापत डेढ करोड रुपैयाँको चेक काटेर दिएकी थिइन्। त्यसपछि संकलन भएको रकम शिवाकोटीले चौलागाईंलाई बुझाएकी थिइन्।

शिवाकोटीले गत भदौ २२ गते १ करोड र २४ गते एक करोड ५० लाख रुपैयाँ नगद चौलागाईंलाई बुझाएको बयान दिएको सिआइबी स्रोतले बतायो। शिवाकोटीसँग पैसा लिन जाँदा चौलागाईंले कुमार बेनको चालक भन्दै एक जनालाई सँगै लैजान्थे। चालक भनिएका ती व्यक्तिको खोजी सिआइबीले गरिरहेको छ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार चौलागाईंले शिवाकोटीलाई विश्वास दिलाउन मन्त्रिपरिषद्को निर्णय (नक्कली) समेत बनाएका छन्। उनले शिवाकोटीको विश्वास जित्न ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’ लेटरप्याडमा भदौ १८ गतेको मन्त्रिपरिषदको तीन बुँदे निर्णय तयार पारेका थिए।

तीनबुँदै निर्णसहितको उक्त लेटरप्याड उनले शिवाकोटीलाई देखाएका थिए। निर्णयको पहिलो नम्बरमा ‘भदौ १० गतेको बाढीपहिरोको राहत सम्बन्धमा, दोस्रो बुँदामा ‘मित्रराष्ट्र इजरायलमा जिटुजेड सिस्टमअन्तर्गत नेपाली कामदार पठाउने कामका लागि रोक्का रहेको प्रावधान खुलाउने र परीक्षा पास भई प्रतीक्षा सूचीमा रहेका कामदारको आवश्यक प्रक्रिया सुरु गर्ने सम्बन्धमा’ र तेस्रो बुँदामा ‘केही मन्त्रालयका सचिव तथा विभागीय प्रमुख हेरफेर सम्बन्धमा’ भन्ने विवरण राखिएको छ।

इजरायल जाने आशामा पैसा बुझाएका व्यक्तिहरू जति सक्दो छिटो पठाउन शिवाकोटीलाई दबाब दिइरहेका थिए। शिवाकोटीले उनीहरूलाई काम हुँदै छ भन्दै चौलागाईंले तयार पारेका ‘कागजात’ देखाइन्। पैसा बुझाएका पक्षबाट उक्त निर्णयका बारेमा प्रधानमन्त्री कार्यालयम बुझ्दा त्यस्तो कुनै पनि निर्णय नभएको खुल्यो। त्यसपछि बल्ल उनीहरूले ठगिएको थाहा पाए।

चौलागाईंले मन्त्रिपरिषद्को निर्णय भन्दै उक्त विवरणसहितको लेटरहेड तयार पार्ने जिम्मा ज्ञानबहादुर कार्कीलाई दिएका थिए। कार्कीले पनि त्यो विवरण तयार पार्न शिवराम श्रेष्ठलाई पठाएको अनुसन्धानबाट खुलेको छ। कार्की र श्रेष्ठ दुवै पक्राउ परिसकेका छन्। श्रेष्ठले कहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको लेटरहेड तयार पारे भन्ने खुलेको छैन तर चौलागाईं र शिवकोटीको ठगी शैली नक्कली भुटानी शरणार्थी प्रकरणसँग जस्तै भएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन्।

पीडित पक्षको उजुरीका आधारमा असोज १ गते चौलागाईं पक्राउ परेपछि धन्दा पत्ता लागेको हो। चौलागाईंले उठाएको पैसाको व्यवस्थापन गरेको आरोपमा सिआइबीले कांग्रेस नेत्री बिनिता खडकालाई पनि पक्राउ गरेको थियो। अदालतले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि उनी मुक्त भएकी छन्। उनी महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

सिआइबीले खडकाको बुढानीलकण्ठस्थित घर तथा बैंक खाता रोक्का राख्न पत्राचार गरिसकेको छ। चौलागाईंको पनि १२ आनामा बनेको घर तथा अन्य सम्पत्ति र बैंक खाता रोक्का गरिएको छ। सिआइबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अहिले यो प्रकरणमा चार जना हिरासतमा छन भने अन्य आरोपितको खोजी भैरहेको छ।

चौलागाईमाथि नक्कली कागज बनाएर पैसा असुल गरेको आरोपमा संगठित अपराध मुद्दामा म्याद लिएर अनुसन्धान भैरहेको एसएसपी जबराले बताए। अन्यसँग पैसा उठाएर चौलागाईंलाई बुझाएका इजरायल जान तयार समूहकै दुईजनालाई पनि मुद्दा चलाउने सिआइबीको तयारी छ। संगठित अपराधमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।