ब्रेकिङ न्युज
विज्ञापन
समाज

साढे चार सय परिवारको दसैं होल्डिङ सेन्टरमै

सुकुम्बासी र बाढीपीडित गरी करिब साढे चार सय परिवारले यस पटकको दसैं होल्डिङ सेन्टरमै मनाउने भएका छन्। होल्डिङ सेन्टरमा दसैं मनाउने भोटेकोसी बाढीपीडित परिवार ३ सय ५० छन्।

त्यस्तै गत वैशाखदेखि एक सय नौ सुकुम्बासी परिवारहरू होल्डिङ सेन्टरमा छन्। उनीहरूको होल्डिङ सेन्टरको बसाइ कहिलेसम्म लम्बिन्छ भन्ने टुंगो छैन। सरकारले भोटेकोसी बाढीपीडितका लागि भने तत्काल अस्थायी आवास बनाउने घोषणा गरेको छ। यसका लागि जग्गा पहिचानसमेत भइसकेको छ।

पूर्वाधार विकास मन्त्रालयमातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव मच्चाकाजी महर्जनका अनुसार अझै पनि एक सय नौ सुकुम्बासी परिवार विभिन्न तीन वटा होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनीहरू भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्र, खरिपाटीस्थित विद्युत् तालिम केन्द्र तथा काठमाडौंको इचंगुनारायणस्थित अपार्टमेन्टमा बस्दै आएका छन। उनीहरूका लागि आवासको व्यवस्था सरकारले गर्दै आएको छ। होल्डिङ सेन्टरमा नबसेका सुकुम्बासी परिवारलाई महिनाको १५ हजार रुपैयाँका दरले सरकारले भाडा खर्च दिने गरेको महर्जनले बताए।

विज्ञापन

सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका सुकुम्बासीलाई हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले १९ वटा सुकुम्बासी बस्ती डोजर लगाएर भत्काएको थियो।

सुकुम्बासी बस्तीबाट हटाइएका तीन सय ८८ परिवारलाई सुरुमा नगरकोट, बनेपा, कीर्तिपुर, बोडे, खरिपाटी, बालाजुका विभिन्न होटल र इचंगुनारायणमा राखिएको थियो। बिस्तारै सरकारले होल्डिङ सेन्टर खाली गराउन थाल्यो। केही होल्डिङ सेन्टर खाली पनि गराइए। हाल तीन वटा होल्ङि सेन्टरमा सुकुम्बासी छन्।

सुकुम्बासी बस्ती हटाउने क्रममा वैशाखमा दुई हजार ६ सय ८७ घरटहरा भत्काइएका थिए। त्यसमा आठ सय ९० पक्की र एक हजार सात सय ९७ कच्ची संरचना थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार १५ हजार तीन सय १६ जना सुकुम्बासी बस्तीबाट विस्थापित भएका थिए। विस्थापितमध्ये ६ हजार आठ सय ५८ पुरुष, पाँच हजार तीन सय २५ महिला, एक हजार चार सय ३७ बालक, एक हजार ६ सय ९६ बालिका थिए।

रसुवाको भोटेकोसीमा गत भदौ १० गते आएको बाढीबाट घरबारविहीन भएकामध्ये तीन सय ५० परिवार विभिन्न होल्डिङ सेन्टरमा छन्। सघन सहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख शशीन्द्र घिमिरेका अनुसार नुवाकोटको विदुर नगरपालिकास्थित पाँच वटा होल्डिङ सेन्टरमा बाढीपीडित बसिरहेका छन्। होल्डिङ सेन्टरमा बस्दै बाढीपीडितलाई भोजनको व्यवस्था स्थानीय, प्रदेश र संघ सरकारसँगै विभिन्न संघसंस्थाले गरिरहेका छन्।

होल्डिङ सेन्टरमा बसेका बाढीपीडितको संख्या हरेक दिन फेरबदल हुन्छ। सहरी विकास तथा भवन विभागका अनुसार भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सरकारी, सार्वजनिक र निजी गरी सात हजार ५७० भवन भत्किएका थिए। रसुवाको गोसाइँकुण्डमा एक हजार ४३, कालिकामा ११२, आमाछोदिङ्मोमा ५७ र उत्तरगयामा ५६७ घर भत्किएका छन्।

नुवाकोटको बेलकोटगढीमा २१२, विदुरमा तीन हजार ३६, किस्पानमा ६९६ र तारकेश्वरमा ४३ घर भत्किएका छन्। धादिङको बेनीघाटमा एक हजार ३७, गजुरीमा १०७, गल्छीमा ७९ र सिद्धलेकमा २२८ घर भत्किएका छन्। गोरखाको गण्डकीमा २४८ र सहिद लखनमा १५ गरी घर भत्किएका छन्। चितवनको इच्छाकामनामा एक सय घर भत्किएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।