नेपाली कांग्रेसको खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित निश्कल राईले अस्पतालमा उपचाररत रहेकै अवस्थामा आफूलाई विजयी गराएको भन्दै महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्।
केन्द्रीय महाधिवेशनको अघिल्लो दिन आकस्मिक शल्यक्रियाका कारण अस्पतालमा उपचाररत रहँदा पनि प्रतिनिधिहरूले आफूलाई विश्वास गरेर भारी मतका साथ विजयी गराएको उनले बताएका छन्।
निर्वाचित भएपछि कृतज्ञता व्यक्त गर्दै राईले प्रतिनिधिहरूले दिएको मतलाई विजय मात्र नभइ विश्वास, आशा र जिम्मेवारीको धरोहरका रूपमा लिएको बताएका छन्।

‘मेरो स्वास्थ्य अवस्था र प्रतिकूल परिस्थितिका बाबजुद तपाईंहरूले ममाथि विश्वास गर्दै भारी मतका साथ खुल्ला केन्द्रिय सदस्यमा विजयी गराउनुभएकोमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूप्रति हृदयदेखि नै हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘यहाँहरूले दिनुभएको यो मत केवल विजयको मत होइन, विश्वास, आशा र जिम्मेवारीको अमूल्य धरोहर हो जस्तो लाग्छ। यसले मलाई थप विनम्र, जिम्मेवार र प्रतिबद्ध बनाएको छ।’
उनले महाधिवेशन प्रतिनिधिहरूको विश्वासलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको विचार, आदर्श र संगठनलाई सुदृढ बनाउन प्रतिबद्ध रहेको बताए।
पार्टी र आम नागरिकको हितमा इमानदारी, निष्ठा र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रतिनिधिहरूको विश्वासलाई व्यवहारबाट प्रमाणित गर्नु आफ्नो पहिलो प्राथमिकता हुने उल्लेख गरेका छन्।
‘यो यात्रामा तपाईंहरूका अमूल्य सुझाव, सल्लाह, मार्गदर्शन र निरन्तर साथको अपेक्षा गर्दछु। तपाईंहरूको विश्वासलाई व्यवहारबाट प्रमाणित गर्नु नै मेरो पहिलो प्राथमिकता हुनेछ,’ उनले भने।
राईले आफूलाई विजयी गराउने महाधिवेशन प्रतिनिधि, शुभेच्छुक, समर्थक तथा स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।