ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने : शोकलाई शक्तिमा बदल्दै जीवनको यात्रा तय गरौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्‍बाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र पीडित नागरिकको शीघ्र पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।

बडादसैँको शुभकामना सन्देश जारी गर्दै शाहले देशका विभिन्न क्षेत्रमा बाढी तथा अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको उल्लेख गर्दै विपद्‍बाट प्रभावित नागरिकको पीडा साझा राष्ट्रिय पीडा भएको बताएका छन्।

भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी, असोजमा परेको अविरल वर्षा तथा दसैँको मुखमा आएको बूढीगण्डकीको बाढीका कारण ठूलो क्षति व्यहोर्नुपरेको उनले उल्लेख गरेका छन्।

विज्ञापन

प्रकृतिको नियमलाई स्वीकार गर्दै वातावरण नबिथोलिने गरी सन्तुलन र संरक्षणको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै उनले प्राकृतिक विपद्‍‍बाट हुने दुःख र पीडा न्यूनीकरण गर्न पूर्वतयारी तथा सावधानी अपनाउनुपर्ने बताए।

‘शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै जीवनको यात्रा तय गर्नुपर्ने हाम्रो बाध्यता रहेको तथ्य सर्वविदित नै छ,’ उनले सन्देशमा भनेका छन्।

पूर्वराजा शाहले विपद्‍बाट प्रभावित नागरिकको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तत्काल प्राथमिकता दिनुपर्ने बताए। यस क्रममा बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुने गरी कूटनीतिक चातुर्य अपनाउनुपर्ने उनको भनाइ छ।

‘अतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण तथा पीडित नागरिकहरूको शीघ्रातिशीघ्र यथोचित पुनर्स्थापनाको कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नु पर्ने अहिलेको आवश्यकता हो,’ उनले भनेका छन्, ‘तर यस किसिमको कायमा बाह्य सहयोग लिँदा देशको स्वाभिमान, स्थानीय परम्परा जोगिने गरी कुटनैतिक चातुर्यता अपनाउनु पर्ने हुन्छ।’

उनले नेपाल भूगोल मात्र नभइ साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानसमेत भएको उल्लेख गर्दै देश कठिन परिस्थितिमा रहेका बेला आपसी भाइचारा कायम राख्न र एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिनुपर्ने बताएका छन्।

‘राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति हुन्छ,’ उनले सन्देशमा भनेका छन्।

पूर्वराजा शाहले देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा व्यावसायिक क्षेत्रमा देखिएको अन्योलप्रति पनि प्रश्न उठाएका छन्। राज्य प्रणालीलाई व्यवस्थित बनाउँदै प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ गर्नुपर्ने तथा बदलिँदो विश्व परिवेश र भूराजनीतिक परिस्थितिमा राष्ट्रियता र मौलिक मूल्यलाई दृढ बनाउनुपर्ने उनले बताएका छन्।

राज्य सञ्चालनमा अघि बढेको नयाँ पुस्ताले देशवासीको मुहारमा उत्साह र खुसी ल्याउने अपेक्षा व्यक्त गर्दै उनले एकताबद्ध, आत्मनिर्भर, सबल र सक्षम नेपाल निर्माणका लागि सबैमा सकारात्मक सोच विकास हुनुपर्नेमा जोड दिएका छन्।

विजयादशमीको शुभकामना दिँदै उनले नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना अझ बलियो हुँदै जाओस् भन्ने कामना गरेका छन्। सत्य र न्यायको मार्गमा अघि बढ्न नवदुर्गा भवानीले सबैलाई सद्बुद्धि प्रदान गरून् भन्ने कामनासमेत उनले गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।