ब्रेकिङ न्युज
विज्ञापन
समाज

प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालन

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले कुण्डका संरचनामा क्षति पुर्‍याएको थियो। म्याग्दी नदीको किनारमा रहेको कुण्डमा हिलो, बालुवा र गेग्रान थुप्रिएपछि स्नान सेवा बन्द गरिएको थियो।

मुख्य पोखरी र परिसरमा थुप्रिएको लेदो श्रमदानबाट हटाएर स्नानयोग्य बनाएपछि बुधबारदेखि कुण्ड सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार)ले जानकारी दिए। ‘पुनःसञ्चालन भएको पहिलो दिन २० देखि २५ जनाले स्नान गर्नुभएको छ,’ उनले भने, ‘दसैँपछि स्नान गर्न आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरेका छौँ।’

विज्ञापन

असोज र कात्तिक तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम हो। यही समयमा कुण्ड बन्द हुँदा स्थानीय व्यापार व्यवसायसमेत प्रभावित भएको थियो। कुण्डमा तीन वटा पोखरी छन्। तीमध्ये उपचारका लागि बिरामीले स्नान गर्ने ठूलो र माथिल्लो पोखरीमा बाढी पसेर हिलो थुप्रिएको थियो। पर्यटकका लागि बनाइएको सानो पोखरी बाढीले भत्काएको थियो।

कुण्ड परिसरका अन्य संरचनामा क्षति पुगेको छ। कपडा फेर्ने भवन र तातोपानी भण्डारण गर्ने ट्याङ्की रहेको भवन पहिरोले भत्काएको छ। खुला स्नानस्थल पनि पहिरोले पुरिएको छ। श्रमदानबाट मुख्य पोखरीमा थुप्रिएको हिलो र लेदो हटाइएको हो। अन्य पोखरी तथा क्षतिग्रस्त संरचना मर्मत गर्न समितिले आर्थिक स्रोत खोजिरहेको छ।

कुण्डको पुनःनिर्माण र संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गरिएको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो। उनका अनुसार बाढीपहिरोबाट रु दुई करोडभन्दा बढीको भौतिक क्षति भएको छ।

‘सिङ्गाका विभिन्न टोल, युवा क्लब, आमा समूह, नेपाली सेना र सशस्त्र प्रहरीले श्रमदान गरेका छन्,’ उनले भने, ‘दाता तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनःनिर्माण गरिएको हो।’ पुनःनिर्माण अभियानमा एक हजार ३०० भन्दाबढी स्थानीयवासी, सुरक्षाकर्मी र सङ्घसंस्थाका प्रतिनिधिले श्रमदान गरेका थिए।

गत आव २०८२/८३ मा २१ हजारभन्दा बढीले यस कुण्डमा स्नान गरेका थिए। नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट प्राकृतिक उपचारका लागि यहाँ मानिस आउने गरेका छन्।

म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानी सङ्कलन गरी पोखरीमा स्नान गर्ने व्यवस्था मिलाइएको छ। यहाँको पानीको तापक्रम करिब ५० डिग्री सेल्सियस रहेको छ। पानीमा बिरेनुनको जस्तो गन्ध आउने गर्छ।

तातोपानीमा स्नान गर्दा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक, बाथ तथा चोटपटकका समस्या निको हुने जनविश्वास र अनुभव छ। असोजदेखि वैशाखसम्म तातोपानी कुण्डमा स्नान गर्न उपयुक्त याम मानिन्छ। नौ दिन स्नान गर्नका लागि रु ५०० शुल्क तोकिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।