भौगोलिक विकटता र यातायातको असहजताका कारण पशु स्वास्थ्य सेवा पाउन कठिन हुने हिमाली बस्तीसम्म पुगेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका पशु सेवा प्राविधिकले पशु स्वास्थ्य सेवा प्रदान गरेका छन्। समुद्र सतहबाट ४ हजार २०० मिटर उचाइसम्म पुगेर सञ्चालन गरिएको शिविरमा पशुको स्वास्थ्य परीक्षण, स्थलगत उपचार तथा परामर्श दिनुका साथै खोरेत रोगविरुद्धको खोप अभियानसमेत सञ्चालन गरिएको छ।
गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिकले याङ्मा, घुन्सा र ओलाङचुङगोला बस्तीसम्म पुगेर हिमाली क्षेत्रका पशुलाई सेवा दिएका हुन्। समुद्र सतहबाट ४ हजार २०० मिटर उचाइमा रहेको याङ्मा, ३ हजार ४०० मिटर उचाइको घुन्सा र ३ हजार २०० मिटर उचाइमा रहेको ओलाङचुङगोलामा पशु स्वास्थ्य शिविर तथा स्थलगत उपचार कार्यक्रम सञ्चालन गरिएको हो।
गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक सञ्जय मेन्याङ्बो लिम्बूका अनुसार हिमाली बस्तीमै पुगेर पशुको स्वास्थ्य परीक्षण, उपचार, आवश्यक परामर्श तथा खोरेत रोगविरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको हो।

भौगोलिक विकटताका कारण पशुपालकले पशु स्वास्थ्य सेवा तथा परामर्श लिन कठिनाइ भोग्दै आएका छन्। यस्तो अवस्थामा पशु प्राविधिकलाई नै बस्तीसम्म पुर्याएर सेवा दिँदा स्थानीय पशुपालकलाई राहत पुग्ने गाउँपालिकाको अपेक्षा छ।
गाउँपालिकाको पशु स्वास्थ्य शाखाका प्रमुख (सहायक पाँचौँ) शशांक पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका पशुपालकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थलगत शिविर सञ्चालन गरिएको हो।
पौडेलका अनुसार गाउँपालिकाका सातवटै वडामा खोरेत रोगविरुद्धको पहिलो चरणको खोप अभियानसमेत सम्पन्न भएको छ। वडा नं. १ सावादिन, वडा नं. २ खेजेनिम, वडा नं. ३ लिङ्खिम, वडा नं. ४ इखाबु, वडा नं. ५ तापेथोक, वडा नं. ६ लेलेप र वडा नं. ७ ओलाङचुङगोलामा खोप अभियान सञ्चालन गरिएको हो।
हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा पशुपालनको महत्त्वपूर्ण भूमिका रहेकाले पशुको स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण र समयमै उपचारको पहुँच विस्तार गर्न गाउँपालिकाले स्थलगत सेवा सञ्चालन गरेको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।