उदयपुरको बेलका नगरपालिका-१, बानडाँडास्थित धानखेतमा एक जंगली वयस्क हात्ती मृत फेला परेको छ। सुनसरी र उदयपुरको सीमावर्ती क्षेत्रमा मंगलबार राति हात्ती मृत भेटिएको हो।
डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्र श्रेष्ठका अनुसार किसानको धानखेतमा मृत भेटिएको सो हात्ती नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रकै हो।
घटनास्थल आरक्ष केन्द्रबाट करिब एक किलोमिटर दूरीमा मात्र पर्दछ।

आरक्षसँग सीमा जोडिएका कारण यस क्षेत्रमा बेलाबेला हात्ती आउजाउ गर्ने गरेका थिए। वन कर्मचारीहरूका अनुसार मृत हात्ती करिब २५ वर्ष उमेरको रहेको अनुमान गरिएको छ।
मृत हात्तीको शवलाई डिभिजन वन कार्यालय र आरक्षका कर्मचारीको संयुक्त टोलीले बुधबार आरक्ष केन्द्रतर्फ लगेको छ। ‘आरक्ष केन्द्रमै मृत हात्तीको शव परीक्षण गरेपछि मात्र मृत्युको कारण पत्ता लाग्नेछ,’ प्रमुख श्रेष्ठले भने।
प्रारम्भिक अनुसन्धानले हात्तीको मृत्यु प्राकृतिक कारणले नै भएको आशंका गरे पनि यथार्थ विवरण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डिभिजन वन कार्यालयले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।