उदयपुर जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ। वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन हुनेमा तीन हजार १२० मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयुपरले जनाएको छ।
जिल्लामा उत्पादन हुने मासुको ६१ प्रतिशत स्थानीय बजारमै खपत हुने गरेको छ भने बाँकी ३९ प्रतिशत अन्य जिल्लामा बिक्री तथा ढुवानी हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख शुक्रराज लिम्बूले बताए।
उनका अनुसार गत आव जिल्लामा सबैभन्दा धेरै सुँगुर-बङ्गुरको मासु उत्पादन भएको छ। उक्त अवधिमा दुई हजार १३९ मेट्रिकटन सुँगुर-बङ्गुरको मासु उत्पादन भएको थियो।

त्यसैगरी, खसीबोकाको एक हजार ९४४, कुखुराको एक हजार ८३५ र राँगाको एक हजार ७५८ मेट्रिकटन मासु उत्पादन भएको थियो। भेडाको एक दशमलव पाँच र हाँसको १० मेट्रिकटन मासु उत्पादन भएको केन्द्रले जनाएको छ।
गत आव २०८२-८३ मा उदयपुरमा सात हजार ७९१ मेट्रिकटन मासु उत्पादन भएको छ। यो अघिल्लो आवको तुलनामा २२१ मेट्रिकटन बढी हो।
भेटेनरी अस्पतालका प्रमुख लिम्बूका अनुसार उदयपुरमा अघिल्लो आवमा वार्षिक तीन प्रतिशतको दरले मासु उत्पादन दर बढेको छ। आव २०८१-८२ मा जिल्लामा सात हजार ५७० मेट्रिकटन मासु उत्पादन भएको थियो। त्यसअघि आर्थिक वर्ष २०८०-८१ मा सात हजार ६०७ मेट्रिकटन उत्पादन भएको थियो।
तथ्याङ्कअनुसार आव २०८०-८१ को तुलनामा २०८१-८२ मा मासु उत्पादन ३६ मेट्रिकटन घटेको थियो। तर, त्यसपछिको आवमा उत्पादन उल्लेख्य बढेको छ। पछिल्लो एक वर्षमा मासु उत्पादन करिब २.९२ प्रतिशतले वृद्धि भएको हो।
केन्द्रका प्रमुख लिम्बूले जिल्लामा आवश्यकताभन्दा बढी मासु उत्पादन हुने गरेको बताए। ‘हाम्रो तथ्याङ्कअनुसार जिल्लामा कुल उत्पादनको ६१ प्रतिशत खपत हुन्छ। बाँकी मासु जिल्ला बाहिर जाने गरेको छ’, उनले भने। उनका अनुसार उदयपुरमा आवश्यकपर्ने मासुमध्ये कहिलेकाहीँ मात्रै बाहिरी जिल्लाबाट बोइलर कुखुरा ल्याउनुपर्ने हुन्छ। सुनसरीको बराह क्षेत्र आसपास र सप्तरीको सिसबारी क्षेत्रबाट कुखुरा आउने गरेको उनले बताए।
दसैँको समयमा उदयपुरका आठवटै स्थानीय तहबाट खसीबोका, राँगा र सुँगुर-बङ्गुर जिल्ला बाहिर बढी बिक्री हुने गरेको छ। चाडपर्वबाहेकका समयमा पनि पशुपन्छी तथा मासुजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुने गरेको उनको भनाइ छ। रासस


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।