४ वर्षअघि मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका ७ अँधेरी झर्ना नजिकै सडक छेउको रुख ढलेर रोकिइराखेको अटो टेम्पोमाथि बज्रियो।
रुखले किच्दा अटोभित्र रहेकी खाउँखाउँ लाउँलाउँ उमेरकी ३२ वर्षीया शर्मिला दनुवारको ऐया भन्न नपाई समाप्त भयो।
बज्रिदा ३२ वर्षीया भर्खरै सञ्चालनमा आएको लोकमार्गमा पहिचान भएको अँधेरी झर्ना हेर्न र घुम्न आउने क्रम बढ्दै गर्दा श्रीमान श्याम दनुवार छोरासहित घुम्न आएका कटारी नगरपालिका ४ जहडीका शर्मिला दनुवारको अकालमै प्राण उड्यो।

रुखले किचेर श्रीमती गुमाउनु परेपछि वैदेशिक रोजगारीबाट भर्खर घर फर्केर परिवारसहित रमाउन झर्ना आएका श्यामलाई पर्नु चोट पर्यो। उनलाई नाबालक छोरा र जीवन सँगिनीको लास लिएर घर फर्कनु पर्ने विडम्बना आइलाग्यो।
बिहानै आएको दनुवार परिवार दिन ढल्कनै लागेपछि शर्मिला श्रीमानलाई छिटो फर्कन आग्रह गर्दै अटोमा गएर बसेकी थिइन्।
श्याम र नाबालक छोरा तथा चालक भने झर्नामै थिए। एकाएक सडकमाथिको सालको रुख ढल्यो, अटोमाथि बज्रियो, शर्मिलाको ठाउँका ठाउँ ज्यान गयो। श्रीमान्, छोरा र चालक भने केही पर भएकाले बच्न पुगे।
सामान्य झरना र जमेको पोखरीमा पौडी खेल्न, नुहाउन र वन भोज खान नजिक टाढाबाट युवा युवति, बालबालिका र सबै उमेर समूहका व्यक्तिहरू आउने क्रम बढेपछि सो ठाउँले सानो तिनो बजारकै रूप लिइसकेको थियो।
खास गरी वनभोज खान आउनेहरू ह्वात्तै बढेपछि वरिपरि ससाना पसल, व्यापारसमेत जम्न थालेको थियो।
तर, सो घटनापछि विभिन्न ठाउँबाट जिप, पिकअप, अटो रिजर्भ गरेर घुम्न आउने, दिनभर पौडी खेल्ने, झरनामा रमाउने, वनभोज खान आउने क्रम एकाएक घट्यो।
शर्मिलाको दुःखद घट्नापछि सडक छेउका जोखिमयुक्त रुखहरू तत्काल हटाउनु पर्ने माग स्थानीयले गर्न थाले। तर, कानुनी प्रक्रिया झन्झटिलो भएकाले झन्डै २ वर्षपछि मात्र ती जोखिमयुक्त रुखहरू ढाल्ने काम भयो।
अहिले मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुर खण्डमा सडक छेउ यस्ता जोखिमयुक्त रुखहरू प्रायः हटाइसकिएको छ र जोखिम न्यूनीकरण भएको मान्न सकिन्छ।
पूर्वमा सुनसरी सीमा चतरादेखि पश्चिममा सिन्धुली सीमा कटारीसम्मकै सडक छेउका खतरा सूचक मानिएका सबै रुखविरुवा हटाउनुमा अँधेरी घटना नै प्रमुख कारण हो।
यसरी मदन भण्डारी लोकमार्गको जोखिमयुक्त रुखविरुवा हटाइए पनि गाईघाट दिक्तेल सडक सगरमाथा लोकमार्गमा भने यस्ता जोखिमयुक्त रुखहरू जताततै छन्।
सो सडकका ठाउँ ठाउँमा यस्ता खतरनाक रुखहरू टाउकोमाथिको तरबार साबित भइरहदासम्म कसैको नजर नपुग्नुले अर्को शर्मिला काण्ड दोहोरिने सम्भावना नकार्न सकिन्न।
गाईघाट साउने खण्डको बरुवा पुल तरेपछि १२ किलोमिटरसम्म दूरीमा मात्र दुई दर्जन बढी यस्ता जोखिमयुक्त रुखहरू विपतको कारक बन्ने तरखरमा छन्।
त्यसैगरी १२ किलोदेखि खाँबु रानीबास, अँधेरी हुँदै फोक्सिन्टार, रसुवासम्म झन्डै ३ सय हाराहारी रुखहरू सडक दुर्घटनाको सम्भावित खतरा पर्खेर बसेको पाइएको छ।
ती जोखिमयुक्त रुखहरू तत्काल नहटाइए कुनै पनि बेला ढलेर सडक दुर्घटनाको दुःखद घटना आइपर्ने सम्भावना रहेको स्थानीय बताउँछन्।
खासगरि यातायातमा सवार यात्रुलाई यस्ता रुखहरू जोखिमयुक्त हुने सम्भावना हुन्छ। पछि स्थानीय त्यस्ता रुखहरूको व्यवस्थापन गर्न माग गरेका छन्।
उनीहरूले डिभिजन वन कार्यालयले यस्ता रुखहरू तत्काल काटेर व्यवस्थापन गर्न माग गर्दै अन्यथा कुनै पनि बेला दुर्घटना भएर जनधनको क्षति हुने खतरा रहेको बताएका छन्।
त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष मानबहादुर राईले सडकतर्फ ढल्केका, सडक मर्मत गर्दा जरा निस्केर ढल्न लागेका तथा बांगा टिंगा रुखहरू कुनै पनि बेला हावाहुरी चल्दा ढलेमा यातायात साधनमाथि पर्न सक्ने भएकाले यात्रु जोखिममा रहेको बताए। उनले यस्ता रुखहरूको बेलैमा वन कार्यालयले व्यवस्थापन गर्नुपर्ने सुझाव दिए।
त्रियुगा नगरपालिका १४ की ममता मगरले हावा हुरी चलेमा यस्ता रुखहरू ढले भने बाटो हिँड्ने पैदलयात्री तथा सडकमा गुडिरहेका बस, मोटरसाइकलजस्ता सवारी साधनमाथि लागेमा जनधनको क्षति हुने जोखिम रहेको बताइन्।
मगरले यस्ता जोखिमयुक्त रुखहरू बेलैमा व्यवस्थापन गरेर जोखिम हटाउन वन कार्यालय र सामुदायिक वन समूहहरूको ध्यानाकर्षण गराएकी छिन्।
डिभिजन वन कार्यालय गाईघाटले भने सडक किनारमा जोखिमयुक्त रुखहरू भए छपान गरेर व्यवस्थापन गर्न सकिने तर, त्यसका लागि स्थानीय तहहरुले समर्थन दिनुपर्ने जनाएको छ।
वन कार्यालय गाईघाटका डिभिजन प्रमुख गजेन्द्र श्रेष्ठले त्यस्ता जोखिमयुक्त रुखहरू हटाउन सम्बन्धित वडा कार्यालयबाट हटाउन माग गर्दै सिफारिस दिनुपर्ने प्रावधान रहेको बताउँदै त्यसरी आएको सिफारिस बमोजिम डिभिजन वनले सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहसँग मिलेर सर्भे गरी हटाउनु पर्ने देखिएमा छपान गरेर व्यवस्थापन गर्न सकिने बताए।
डिएफओ श्रेष्ठका अनुसार यसरी हटाइएका रुखको काठबापतको राजश्व १० प्रतिशत स्थानीय तहलाई, १० प्रतिशत प्रदेश सरकारलाई जाने र बाँकी ८० प्रतिशत सम्बन्धित वन समूहमा रहने कानुनी व्यवस्था रहेको छ।
सम्बन्धित वडा कार्यालय र वन समूहबाट माग भई आएमा जोखिमयुक्त रुखहरू हटाउन डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया अघि बढाउने डिएफओ श्रेष्ठले बताए।
सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट साउने खण्डको सडकको चप्पनदेखि साउने १२ किलोमिटरसम्म सवडिभिजन वन कार्यालय गाईघाट अन्तर्गत पर्छ भने १२ किलोदेखि खाँबु अँधेरीसम्म सबडिभिजन वन कार्यालय खाँबु अन्तर्गत पर्छ।
त्यसभन्दा उता फोक्सिन्टारसम्मको भूभाग भने डिभिजन वन कार्यालय कटारी अन्तर्गत पर्छ।
सवडिभिजन वन कार्यालय खाँबुका प्रमुख सहायक वन अधिकृत गिरीराज पोखरेलले सो रुटको सडकछेउका रुख हटाउनका लागि त्रियुगा नगरपलिका ११ गाईघाट, १४ साउने र १५ खाँबु वडा कार्यालयले सिफारिस दिनुपर्ने प्रावधान रहेको सुनाए।
सम्बन्धित वडा कार्यालयबाट सिफारिस आएमा सम्बन्धित सामुदायिक वन समूहसँग सहकार्य गरेर जोखिमयुक्त रुख हटाउन डिभिजन वन कार्यालयलाई आग्रह गर्ने अधिकृत पोखरेलले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।