पछिल्ला तीन ठुला विपद्का कारण सडक र पुलमा ठुलो क्षति पुगेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपद्ले पक्की, झोलुंगे र क्यान्टिलिबर (भित्तामा खोपिएका) समेत गरी एक सय ३४ वटा पुलमा हानि पुर्याएको छ।
गत भदौ १० गते आएको भोटेकोसी बाढीले ३१ वटा पक्की पुल तथा ६४ वटा झोलुंगे पुलमा क्षति गरेको छ। ६४ मध्ये ५३ वटा बगेका छन् भने ११ वटामा आंशिक क्षति पुगेको छ। त्यस्ता पुललाई मर्मत गर्ने तयारी भएको सरकारको भनाइ छ।
यसैगरी यही असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षाले कालीगण्डकी कोरिडोरमा ठुलो क्षति पुर्याएको छ। अविरल वर्षापछि पहिरो आई २७ वटा झोलुंगे पुलमा हानि गरेको सस्पेन्सन डिभिजन ब्रिज कार्यालयले जनाएको छ। उक्त कार्यालयका अनुसार २७ पुलमध्ये आठ वटा पुल क्षतिग्रस्त भएका छन् भने बाँकी सबै बगेका छन्।

अविरल वर्षाले कालीगण्डकी कोरिडोरमा मालढुंगामा एउटा पक्की पुलमा क्षति गरेको थियो। उक्त पुलको मर्मत भई सञ्चालनमा समेत आइसकेको विभागले जनाएको छ।
गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बिचमा सिरिंगे हिमालमा हिमपहिरो गई स्थानीय उइनगुलुङ खोला थुनिन गई असोज २५ गते बिहान बुढीगण्डकी नदीमा आएको बाढीले दुई वटा पक्की पुल तथा नौ वटा झोलुगें पुल बगाएको छ।
सडक विभागका अनुसार बुढीगण्डकी बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीमा फलामे मोटरेबल पक्की पुल तथा आरुघाट–९ स्थित आरूघाटबाट धादिङ जोड्ने पक्की पुल बगाई बाटो पूर्ण रूपमा अवरोध भएको छ।
स्थानीय पूर्वाधार विभाग (डोली) मातहतका सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख शंकर बुढाथोकीका अनुसार बुढीगण्डकी बाढीले नौ वटा झोलुगें पुल बगाएको छ। ‘गोरखाको चुनडुम्रे, धार्चे, आरुघाट तथा गोरखाका माथिल्लो भागमा सहित नौ वटा झोलुंगे पुल बुढीगण्डकी बाढीले बगाएको देखिएको छ।’
उनका अनुसार बुढीगण्डकी बाढीले गोरखामा बुढीगण्डकीको किनारामा बनाइएको करिब पाँच सय मिटर लामो क्यान्टिलिबर (नदीको छेउमा भित्ता काटेर हिँड्न बनाइएको पुल) समेत बगाएको छ।
असोज ९ देखि ११ गतेसम्म आएको वर्षाले कालीगण्डकी कोरिडोरमा ठुलो क्षति गरेको छ। त्यसबाट लामो समय त्यस क्षेत्रमा सडक यातायात ठप्प भयो। सोमबारदेखि मात्र उक्त कोरिडोरमा सवारीसाधन आवतजावत गर्न सुरु गरेका छन्।
भोटेकोसी बाढीले गरेको क्षतिपछि सरकारले पूर्वाधार क्षेत्रमा पुनर्निर्माणको काम अघि बढाइरहेको बेला फेरि दुई विपद् थपिएका हुन्। यसबाट पूर्वाधार क्षेत्रमा खर्बभन्दा क्षति पुगेको छ। झोलुंगे पुल भत्काएको ठाउँमा सरकारले तत्कालका लागि केबुलकार प्रकृतिका तुइन राख्न सुरु गरेको छ। बुढाथोकीका अनुसार भोटेकोसी बाढीपछि त्यस क्षेत्रमा चार वटा तुइन निर्माण गरिसकिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।