चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने तथा गुणस्तरहीन र म्याद गुज्रेका वस्तु बिक्रीवितरण नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।
बिहीबार साँझ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चाडपर्वका अवसरमा विशेष अनुरोधसहितको सूचना जारी गर्दै बडादसैँ, तिहार र छठ पर्वमा नागरिक, सरोकारवाला निकाय, कार्यालय तथा सङ्घसंस्थालाई आफ्नो काम, कर्तव्य र जिम्मेवारी बोध गर्दै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न अनुरोध गरेका छन्।
उनले चाडपर्वका बेला मनोरञ्जनका नाममा प्रयोग हुने आतिसबाजी, भुइँचम्पा, पटाका, बारूद तथा अन्य विस्फोटक र आगलागी हुने वस्तुको खरिद, बिक्री, ओसारपसार र प्रयोग नगर्न तथा नगराउनसमेत आग्रह गरे।

त्यस्तै, चाडपर्वको बहानामा गैरकानुनी गतिविधि जुवातास, चिठ्ठा, कौडा र सट्टेबाजी नगर्न तथा नगराउन आग्रह गर्दै सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको छ।
अनलाइन सपिङ (किनमेल), गैरकानुनी चिठ्ठा वा सामाजिक सञ्जालमार्फत आउने अपरिचित व्यक्तिका अफर तथा स्क्यामबाट सतर्क रहनसमेत प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गरे।
उनले परम्परागत रूपमा मनाइने चाडपर्वको सम्मान र संरक्षण गर्दै सबै धर्म, जातजाति र संस्कृतिप्रति आदर–सम्मान व्यक्त गर्नुपर्नेमा जोड दिए। तडकभडक र अवाञ्छित गतिविधिबाट टाढा रही एकापसमा शुभकामना, सहयोग र मेलमिलापको भावनाका साथ मर्यादित एवं अनुशासित भई चाडपर्व मनाउनुपर्ने उनको भनाइ छ।
सामाजिक सद्भाव र भाइचारा कायम राख्दै चाडपर्व मनाउन आग्रह गर्दै उनले चाडपर्वका समयमा अत्यावश्यक तथा आपत्कालीन सेवा सञ्चालनका लागि अस्पताल, एम्बुलेन्स, दमकल, स्काभेटर, जनशक्ति र इन्धनलगायतको तयारी अवस्थामा राख्न प्रशासन मातहतका सबैलाई अनुरोध गरे। बदलिन सक्ने मौसमबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारीको अवस्थामा रहनसमेत प्रशासनले आग्रह गरेको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ महेन्द्रनगर बजारमा सञ्चालित मासु पसलमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अस्वस्थकर मासु बरामद गरी जफत गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।