दसैं नेपाली समाजको ठुलो सांस्कृतिक पर्व हो। यो केवल टीका, जमरा, नयाँ लुगा र मिठोमसिनो खानेकुरामा सीमित पर्व होइन, आपसी सद्भाव, पारिवारिक एकता, सामाजिक मेलमिलाप, प्रेम, करुणा र मानवीय सम्बन्धलाई प्रगाढ बनाउने अवसर पनि हो।
वर्षभरि आआफ्ना काम र जिम्मेवारीमा व्यस्त रहने मानिसलाई दसैंले परिवार, आफन्त र समाजसँग जोड्ने काम गर्छ। टाढिएका सम्बन्धलाई नजिक ल्याउँछ, मनमुटाव मेटाउने अवसर दिन्छ र जीवनमा नयाँ उत्साह भर्छ। यही कारण दसैं नेपालीको जीवनमा विशेष महत्त्व राख्ने पर्वका रूपमा स्थापित भएको छ। यस वर्ष पनि दसैं घरआँगनमा आइपुगेको छ। तर यसपालिको दसैंको रौनकसँगै पीडा, वेदना र विपत्तिका अनेक तस्बिर पनि हाम्रो सामुन्ने छन्।
हिमाली क्षेत्रमा प्रकृतिले देखाएको रौद्ररूप, बाढीपहिरोले निम्त्याएको विनाश र विपत्तिले प्रभावित परिवारको पीडाबिच यस वर्षको दसैं आएको छ। कतिपयका घर उजाडिएका छन्, कतिपयका आफन्त गुमेका छन् र कतिपय परिवार अझै पनि आफ्नो जीवनलाई सामान्य अवस्थामा फर्काउने संघर्षमा छन्।

कसैका लागि दसैं खुसी साट्ने अवसर बनेको छ भने कसैका लागि विगतका दुःखद घटना सम्झेर आँसु झार्ने समय। कतिपय घरमा दसैंको स्वागतमा दीप प्रज्वलित भइरहँदा कतिपय घरमा प्रियजनको अभावले सन्नाटा छाएको छ। त्यसैले यस वर्षको दसैंलाई केवल उत्सव र उल्लासका दृष्टिले मात्र हेर्न मिल्दैन। यो दुःखमा परेकाहरूको पीडा बुझ्ने, उनीहरूप्रति सहानुभूति प्रकट गर्ने र सम्भव भएसम्म सहयोगको हात बढाउने अवसर पनि हो।
पर्वको वास्तविक अर्थ अरूको खुसीमा खुसी हुनु र अरूको दुःखमा साथ दिनु हो। हामीले आफ्ना घरमा दसैं मनाइरहँदा विपत्तिमा परेका परिवारलाई पनि सम्झनुपर्छ। उनीहरूको पीडालाई आफ्नो पीडासरह अनुभूति गर्न सक्नुपर्छ। दसैंको नाममा गरिने खर्च, प्रदर्शन र तडकभडकको केही अंश मात्र पनि दुःखमा परेकाहरूको सहयोगमा खर्च गर्न सकियो भने त्यसले पर्वको सार्थकता बढाउनेछ। दसैंको खुसी त्यतिबेला मात्र पूर्ण हुन्छ, जतिबेला हाम्रो खुसीले अरूको अनुहारमा पनि मुस्कान ल्याउन सक्छ।
दसैंको अर्को महत्त्वपूर्ण पक्ष यसको सांस्कृतिक र सामाजिक विशिष्टता हो। नेपाली समाज विविध जातजाति, भाषा, धर्म, परम्परा र जीवनशैलीको साझा फूलबारी हो। यही विविधताभित्रको एकता हाम्रो सामाजिक शक्ति हो। दसैंले परिवारका सदस्य, आफन्त, छरछिमेक र समुदायलाई एक ठाउँमा ल्याउने काम गर्छ।
मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने, आफूभन्दा ठुलालाई सम्मान गर्ने, सानालाई माया गर्ने र टाढिएका आफन्तसँग भेटघाट गर्ने परम्पराले पुस्तान्तरणसँगै सम्बन्धको निरन्तरता कायम राख्छ। दसैंका यस्ता मौलिक पक्षलाई जीवन्त राख्नु हाम्रो सांस्कृतिक जिम्मेवारी हो। समय परिवर्तन हुँदै जाँदा जीवनशैलीमा परिवर्तन आउनु स्वाभाविक हो तर परिवर्तनका नाममा हाम्रा असल परम्परा, सामाजिक सद्भाव र मानवीय मूल्यहरू हराउन दिनु हुँदैन।
संस्कृति मानव जीवनलाई सभ्य, मर्यादित र अर्थपूर्ण बनाउने आधार हो। संस्कृति शब्दलाई ‘सम्’ र ‘कृति’सँग जोडेर हेर्दा यसको आशय राम्रो, परिष्कृत र सुसंस्कृत कर्मसँग सम्बन्धित देखिन्छ। संस्कृतिको मूल उद्देश्य मानिसलाई असल कर्मतर्फ प्रेरित गर्नु, समाजमा सद्भाव कायम गर्नु र जीवनलाई सकारात्मक दिशा दिनु हो। त्यसैले संस्कृति आफैंमा नकारात्मक हुन सक्दैन तर संस्कृतिका नाममा समाजमा प्रचलित सबै अभ्यास असल हुन्छन् भन्ने पनि होइन। संस्कृतिको आवरणमा हुर्काइएका विभेद, अन्धविश्वास, अराजकता र अमानवीय व्यवहारले समाजलाई उन्नत बनाउँदैनन्। तिनले समाजलाई पछाडि धकेल्छन्।
दसैंजस्तो सकारात्मक पर्वमा पनि केही विकृति देखिने गरेका छन्। चाडपर्वका नाममा जुवातास खेल्ने, मादक पदार्थ सेवन गरेर झैझगडा गर्ने, अनावश्यक तडकभडक र प्रतिस्पर्धामा लाग्ने, आर्थिक हैसियतभन्दा बाहिर गएर खर्च गर्ने तथा पशुपक्षीप्रति अनावश्यक क्रूरता देखाउने प्रवृत्तिले पर्वको वास्तविक मर्मलाई कमजोर बनाउँछन्।
जात, वर्ग, लिंग वा आर्थिक अवस्थाका आधारमा मानिसलाई सानोठुलो ठान्ने व्यवहार पनि कुनै संस्कृतिको गौरव हुन सक्दैन। परम्पराका नाममा गरिने विभेदलाई निरन्तरता दिनु संस्कृतिको संरक्षण होइन, विकृतिको संवर्धन हो। त्यसैले हामीले संस्कृति र विकृतिबिचको भिन्नता बुझ्नुपर्छ। राम्रा परम्परालाई आत्मसात गर्दै नराम्रा अभ्यासलाई सुधार्नु नै संस्कृतिप्रतिको सच्चा सम्मान हो।
दसैंको शुभकामना केवल औपचारिक शब्दमा सीमित नहोस्। यो हाम्रो व्यवहारमा प्रकट होस्, हाम्रो सोचमा प्रतिबिम्बित होस् र हाम्रो सामाजिक जीवनमा अनुभूत होस्। यस दसैंले दुःखमा परेकाहरूलाई धैर्य र साहस प्रदान गरोस्, विपत्तिमा परेका परिवारको जीवनमा आशाको उज्यालो छरियोस् र सबैका घरआँगनमा सुख, शान्ति तथा समृद्धिको सञ्चार गरोस्। आपसी वैमनस्यता, घृणा, विभेद र द्वन्द्व अन्त्य गर्दै प्रेम, सद्भाव र सहकार्यको भावना बलियो बनोस्। हाम्रा असल संस्कार र परम्परा नयाँ पुस्तामा हस्तान्तरण हुँदै जाऊन्, समाजमा रहेका विकृति क्रमशः हट्दै जाऊन् र दसैंको सकारात्मक सन्देश व्यवहारमा रूपान्तरण होस्।सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी सद्भावको हार्दिक मंगलमय शुभकामना !


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।