ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

दसैँको शुभकामना दिँदै महासचिव पोखरेलले भने : जीवन जोखिममा राखेर यात्रा नगरौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्राकृतिक विपद्का कारण देश शोकमा रहेका बेला एकअर्कालाई सहयोग गरेर दसैँ मनाउन आग्रह गरेका छन्। उनले जीवन जोखिममा राखेर यात्रा गर्नुभन्दा जहाँ बसेर पनि सांस्कृतिक पर्व मनाउनु उचित हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत बडादसैँको शुभकामना सन्देश दिँदै महासचिव पोखरेलले बेमौसमी वर्षाका कारण हिमाली क्षेत्रमा हिमपहिरो, बाढी र डुबानको विपद् निम्तिएको तथा हजारौँ व्यक्ति बेपत्ता भएको अवस्थामा थुप्रै परिवार शोकमा रहेको उल्लेख गरेका छन्।

उनले भने, ‘विपद्‍बाट थुप्रै परिवारहरू यति बेला शोकमा हुनुहुन्छ। वास्तवमा हाम्रा चाडपर्वहरू सांस्कृतिक सम्मेलनका पर्वका रूपमा छन्। यो पीडाको समयमा हामी एक अर्काको सहयोगको रूपमा जुट्न जरुरी छ। एक वर्ष घर नजाँदा केही फरक पर्दैन, तर जीवन जोखिममा राखेर यात्रा गर्ने कुरा उचित हुँदैन।’

विज्ञापन

उनले चाडपर्व केवल उत्सव मनाउने अवसर मात्र नभइ संकट र पीडाबाट बाहिर निस्कन एकअर्कालाई सहयोग गर्ने माध्यम पनि भएको बताए। विस्थापित परिवार र विपद्‍बाट प्रभावित नागरिकलाई सहयोग गर्दै हुनेले नहुनेलाई साथ दिएर चाडपर्व मनाउनुपर्नेमा उनले जोड दिएका छन्।

पोखरेलले दसैँ नेपाली समाजलाई एकता र अनुशासनको बाटोमा अघि बढाउने महत्वपूर्ण सांस्कृतिक पर्व भएको बताए। परम्पराअनुसार दसैँलाई आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने उल्लेख गर्दै उनले प्रकृतिको उपासनासँग पनि यो पर्व जोडिएको बताए।

उनले जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढिरहेको विषय उठाउँदै विकसित देशहरूले अनियन्त्रित रूपमा गरेको कार्बन उत्सर्जनको पीडा नेपालजस्ता देशले भोग्नुपरेको बताए। अन्तर्राष्ट्रिय छलफलमा जलवायु न्यायको विषय उठिरहेको सन्दर्भमा प्राकृतिक विपद्‍बाट सुरक्षित रहने विषय महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

दसैँमा घर जाने क्रममा यात्रुहरूले सवारीसाधनको अवस्था, सडकको स्थिति र क्षमताअनुसार यात्रु राखिएको छ वा छैन भन्ने विषयमा ध्यान दिनुपर्ने उनले बताए। असुरक्षित यात्रा नगरी जीवनको सुरक्षा गर्न आग्रह गर्दै उनले सम्बन्धित सरकारी निकायलाई पनि समयमै सडक मर्मतसम्भार गर्न ध्यानाकर्षण गराएका छन्।

‘चाडपर्वको समयमा आफ्नो गाउँबस्तीमा जाँदाखेरि पनि यातायात साधनहरू प्रयोग गर्दाखेरि क्षमताभन्दा बढी व्यक्तिहरू नबस्ने र यातायातका साधनहरूको कन्डिसन कस्तो छ भन्ने कुरा बुझेर यात्रा गर्ने, बाटोको अवस्थाको जानकारी लिने र असुरक्षित यात्रा नगरिकन जीवनलाई सुरक्षित गर्ने कुरामा पनि ध्यान दिनुपर्दछ,’ उनले भने।

महासचिव पोखरेलले बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।