ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कर्णालीका मन्त्रीको सम्पत्ति कसको कति ?

कर्णाली प्रदेश सरकारका ६ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणमा मन्त्रीहरूबीच घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, सेयर लगानी, सवारीसाधन र ऋणको अवस्थासम्म उल्लेख्य भिन्नता देखिएको छ ।

सार्वजनिक विवरणअनुसार आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई सबैभन्दा बढी सम्पत्ति भएका मन्त्री हुन् भने भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोका सबैभन्दा कम सम्पत्ति भएकी मन्त्री हुन् । केही मन्त्रीको आफ्नै नाममा बसोबासका लागि घर छैन भने केहीको परिवारका सदस्यको नाममा समेत घरजग्गा र बैंक मौज्दात छ ।

नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नेतृत्वको सरकारमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट गत भदौ पहिलो साता ६ जना मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री शाहीको सम्पत्ति विवरण भने यसअघि नै सार्वजनिक भइसकेको थियो ।

विज्ञापन

ऊर्जामन्त्री हमालको ८ लाख ऋण, पुर्ख्यौली जग्गा २५ कित्ताभन्दा बढी

जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमालले विभिन्न व्यक्तिबाट वैदेशिक रोजगारी तथा अध्ययनका लागि लिएको आठ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको विवरणमा उल्लेख गरेका छन् ।

हुम्लाको अदानचुली–५ घर भएका हमालको गाउँमा ०.३२३५ वर्गमिटरमा फैलिएको पुर्ख्यौली घर छ । सुर्खेतको वीरेन्द्रनगर–लाटीकोइलीमा पाँच लाख रुपैयाँ मूल्यको जग्गा रहेको उनले उल्लेख गरेका छन् । उक्त सम्पत्तिको स्रोत व्यवसाय भएको विवरणमा जनाइएको छ ।

लाटीकोइलीमै रहेको अर्को ९६ वर्गमिटरको जग्गा भने छोरी–ज्वाइँको जग्गा बैंक प्रयोजनका लागि रोक्का रहेको उल्लेख छ । हुम्लाको अदानचुली र ताँजाकोटमा उनको २५ कित्ताभन्दा बढी पुर्ख्यौली तथा पैतृक जग्गा रहेको छ । ती जग्गाको अंशबन्डा हुन बाँकी छ ।

हमालसँग २०५७ सालमा २० हजार रुपैयाँमा खरिद गरेको दुई तोला सुन र ४० तोला चाँदी छ । उनले उक्त सुनचाँदी पैतृक सम्पत्ति नभएको बताएका छन् । चारवटा बैंक खातामा कुल दुई लाख ७० हजार रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ । त्यसमध्ये दुई लाख ५० हजार रुपैयाँ वैदेशिक रोजगारीबाट प्राप्त भएको र बाँकी रकम तलबबाट बचत गरेको उनले जनाएका छन् ।

उनले आफ्नै जग्गामा उत्पादित १५ मुरी धान, तीन मुरी कोदो, पाँच मुरी गहुँ तथा मकै र दुई मुरी सिमी तथा कागुनो रहेको विवरण पनि सार्वजनिक गरेका छन् । त्यसैगरी, उनीसँग १६ थान राडीपाखी, १५ थान गलैँचा, दुई सय थान तामा तथा पित्तलका भाँडा र एक सय थान काँसका भाँडा छन् ।

सामाजिक विकासमन्त्री मल्लको परिवारसँग चार घर, १० ठाउँमा जग्गा

सामाजिक विकासमन्त्री जितबहादुर मल्ल र उनकी श्रीमती राधिका मल्लको नाममा चारवटा घर र १० ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री मल्लको नाममा बाँकेको कोहलपुर नगरपालिका–७ मा ३७४.२५ वर्गमिटर क्षेत्रफलमा बनेको घर छ । उक्त घर ३० लाख रुपैयाँमा खरिद गरेको र त्यसको स्रोत पेसा तथा व्यवसाय रहेको उनले उल्लेख गरेका छन् ।

श्रीमती राधिकाको नाममा मुगुको छायानाथ रारा नगरपालिकामा तीनवटा घर छन् । छायानाथ रारा–२ मा ५० लाख रुपैयाँ मूल्यको घर रहेको छ भने वडा नम्बर १ मा पाँच लाख र १५ लाख रुपैयाँमा खरिद गरिएका अन्य दुई घर छन् । यी सम्पत्तिको स्रोत पेसा, व्यवसाय र नोकरी भएको विवरणमा उल्लेख छ ।

राधिकाकै नाममा छायानाथ राराका विभिन्न वडामा १० ठाउँमा जग्गाजमिन रहेको छ । ती जग्गाको खरिद मूल्य कुल ९७ लाख रुपैयाँ रहेको छ । चार ठाउँको जग्गा खरिद गर्दा ऋण लिएको र बाँकी जग्गाको स्रोत नोकरी तथा व्यवसाय भएको विवरणमा जनाइएको छ ।

मन्त्री मल्लसँग नोकरी तथा व्यवसायबाट आर्जित चार तोला सुन र पाँच तोला चाँदी छ । उनको बैंक मौज्दात तीन लाख रुपैयाँ रहेको छ भने श्रीमती राधिकाको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ६३ लाख रुपैयाँ ऋण रहेको उल्लेख छ ।

मल्लसँग एक लाख ९० हजार रुपैयाँ मूल्यको मोबाइल, एक लाख रुपैयाँको ल्यापटप र एक लाख ८० हजार रुपैयाँको ट्याब्लेट पनि छ । ती सामग्री वैदेशिक रोजगारीमा रहेका व्यक्तिबाट उपहारस्वरूप प्राप्त भएको विवरणमा जनाइएको छ ।

कृषिमन्त्री लामासँग १२० तोला सुनचाँदी, बीमाबाट प्राप्त रकम बैंकमा

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामाको सम्पत्ति विवरणमा घरजग्गा, सुनचाँदी र बैंक मौज्दातसँगै दुर्घटना बीमाबाट प्राप्त रकमसमेत उल्लेख छ ।

लामासँग १० तोला सुन, ११० तोला चाँदी तथा तुषो, मुगा र मोतीका २५ तोला माला छन् । विभिन्न बैंकमा उनको नाममा दुई लाख ३२ हजार रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ ।

सांग्रिला विकास बैंकमा उनको नाममा १५ लाख रुपैयाँ रहेको छ । उक्त रकम श्रीमान्को दुर्घटना मृत्यु दाबीबापत प्राप्त बीमाको रकम भएको उनले जनाएकी छन् । त्यस्तै, छोरा चन्दसिंह कार्कीको नाममा सिटिजन्स बैंकमा ४२ लाख रुपैयाँ रहेको छ । उक्त रकम पनि बुवा चन्दसिंह कार्कीको दुर्घटना बीमा दाबीबाट प्राप्त भएको विवरणमा उल्लेख छ । छोराकै नाममा तीन लाख रुपैयाँ मूल्यको मोटरसाइकलसमेत रहेको छ ।

हुम्लाको सर्केगाड–२ घर भएकी लामाको गाउँमा पैतृक घर छ । जिल्ला सदरमुकाम सिमकोट–६ मा १७.२५ वर्गमिटर क्षेत्रफलको २५ लाख रुपैयाँ मूल्यको जग्गा आफ्नै नाममा रहेको उनले उल्लेख गरेकी छन् । सुर्खेतको वीरेन्द्रनगर–११ मा ३० लाख रुपैयाँ मूल्यको जग्गासमेत रहेको विवरणमा जनाइएको छ ।

पर्यटनमन्त्री खड्काको नाममा घर छैन, बैंकमा ९ लाख रुपैयाँ

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काको नाममा घर नरहेको सम्पत्ति विवरणमा उल्लेख छ । तर, उनको बैंक खातामा नौ लाख रुपैयाँ मौज्दात छ ।

रुकुम पश्चिमको चौरजहारी–९ घर भएकी खड्काले आफू अविवाहित रहेको र बुवाआमाको घर भूकम्पका कारण क्षतिग्रस्त भएको उल्लेख गरेकी छन् । गाउँमा अंशबन्डाबाट चार कित्ता जग्गा प्राप्त गरेको उनले जनाएकी छन् ।

दाङमा १२० वर्गमिटर क्षेत्रफलको तीन लाख ६० हजार रुपैयाँ मूल्यको घडेरी पनि अंशबन्डाबाट प्राप्त भएको विवरणमा उल्लेख छ ।

खड्काको बैंक खातामा बुवाबाट प्राप्त पाँच लाख रुपैयाँ रहेको छ । बाँकी चार लाख ४६ हजार रुपैयाँ तलब, भत्ता तथा जग्गा बिक्रीबाट जम्मा भएको उनले उल्लेख गरेकी छन् ।

भौतिक पूर्वाधारमन्त्री रोकासँग ९० हजार बैंक मौज्दात, १२ लाख ऋण

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाको बैंक खातामा ९० हजार रुपैयाँ मौज्दात छ । उनले आफन्तबाट लिएको १२ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

रुकुम पश्चिमको मुसीकोट–१३ घर भएकी रोकाको गाउँमा कच्ची पुर्ख्यौली घर छ । आफ्नो र मोती रोकाको नाममा ११ कित्ता पुर्ख्यौली जग्गा रहेको उनले जनाएकी छन् ।

रोकासँग माइतीमा रहँदा कमाएको दुई तोला सुन छ । विभिन्न कम्पनी तथा संस्थामा तीन लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको विवरणमा उल्लेख छ । उक्त सेयर सगोलको भएको उनले जनाएकी छन् ।

उनको घरमा एउटा गाई र पाँचवटा बाख्रा छन् । अन्य चल सम्पत्तिका रूपमा एउटा साधारण मोबाइल सेट रहेको विवरणमा उल्लेख छ ।

सम्पत्तिको स्रोत र पारिवारिक स्वामित्व पनि विवरणमा

सार्वजनिक विवरणमा मन्त्रीहरूको व्यक्तिगत सम्पत्तिसँगै श्रीमान्, श्रीमती तथा छोराछोरीको नाममा रहेका घरजग्गा, बैंक मौज्दात, ऋण र अन्य सम्पत्तिसमेत उल्लेख गरिएको छ । केही सम्पत्ति पैतृक तथा अंशबन्डाबाट प्राप्त भएका छन् भने केहीको स्रोत नोकरी, व्यवसाय, वैदेशिक रोजगारी र बीमा दाबीबाट प्राप्त रकम रहेको जनाइएको छ ।

मन्त्रीहरूको सम्पत्ति विवरणले कर्णाली प्रदेश सरकारका पदाधिकारीहरूको आर्थिक अवस्था र सम्पत्तिको स्वरूपमा विविधता रहेको देखाएको छ । यद्यपि, सम्पत्तिको परिमाण मात्रले आर्थिक हैसियतको पूर्ण चित्र नदिने भएकाले ऋण, सम्पत्तिको स्वामित्व, खरिदको स्रोत र मूल्याङ्कनलाई समेत सँगसँगै हेर्नुपर्ने हुन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।