विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुन आज मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरिक्षणका लागि म्याग्दी पुगेका छन्।
यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण प्रभावित बनेको म्याग्दीको स्थलगत निरीक्षणका लागि म्याग्दी पुगेका हुन्।
बाढीपहिरोले पुर्याएको क्षतिको स्थलगत निरीक्षण, प्रभावितसँग भेटघाट र सरोकार भएका निकायका प्रतिनिधिसँग छलफलका लागि उनी म्याग्दी पुगेका उनको सचिवालयले जनाएको छ।

‘म्याग्दीका छ वटै स्थानीय तहको केन्द्रमा पुगेर विपद्ले पुर्याएको क्षतिको निरीक्षण, प्रभावितसँग भेटघाट र पुनर्निर्माण तथा पुनःस्थापनाका विषयमा छलफल गर्न आएको हुँ’, मन्त्री पुनले भने, ‘क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र बाढीपहिरोबाट घरवासविहीन बनेकाहरुको पुनःस्थापनालाई प्राथमिकता दिएर म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।’
सरकार विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनामा केन्द्रित भएको मन्त्री पुनले बताए।
उनले स्थलगत निरिक्षण, प्रभावितको अपेक्षा र सरोकारवालाहरुको सुझावका आधारमा पुननिर्माण तथा पुनःस्थापनाको कार्ययोजना बनाएर अघि बढ्ने बताए।
आज बिहान बेनीमा प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा अधिकारीहरूसँग भेटघाट गरेर धौलागिरि, मालिका र मङ्गला गाउँपालिकाको निरीक्षणमा गएका थिए।
शुक्रबार बिहान बेनी, दिउँसो रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको निरीक्षण गरी त्यहाँका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मन्त्री पुनका सम्पर्क व्यक्ति चित्र तिलिजा पुनले बताइन्।
विपद्का कारण म्याग्दीमा सात जनाको मृत्यु र दुई जना बेपत्ता भएको, सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत्, सञ्चार, सिँचाइ पूर्वाधार र निजी सम्पत्तिमा अर्बौंको क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्लाभर १११ घर पूर्णरुपमा क्षति भई परिवार विस्थापित भएका छन्। ९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा रहेका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए।
प्रारम्भिक विवरणअनुसार बेनी–जोमसोम सडकखण्डमा मात्रै करिब रु ८० देखि ९० करोड बराबरको क्षति भएको छ।
बेनी–दरबाङ सडकखण्डमा करिब रु आठ करोडको क्षति पुगेको छ।
सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा रु आठदेखि १० करोड बराबरको क्षति भएको छ भने विद्युत् संरचनामा करिब रु दुई करोड ५० लाखको क्षति पुगेको प्रशासनले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।