ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

प्रविधि र अनुसन्धानमार्फत जलवायु संकटको मुद्दा विश्वमञ्चमा उठाउन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रविधि, अध्ययन र अनुसन्धानको वर्तमान समयमा विशेष महत्त्व रहेको बताएका छन्।नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले अनुसन्धानबाट प्राप्त निष्कर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पुर्‍याउनुपर्नेमा जोड दिएका हुन्।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पार्ने प्रभावबारे चर्चा गर्दै हिमनदी पग्लिने जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले इरान, अफगानिस्तान, पाकिस्तान, भारत र नेपाललगायत देशलाई समेटेर क्षेत्रीय सम्मेलन आयोजना गरी यस समस्याको समाधान खोज्नुपर्ने बताए।

उनका अनुसार टाढाका क्षेत्रमा हुने आगलागीबाट उत्पन्न धुवाँ, खरानी र कार्बनयुक्त कण वायुमण्डलमार्फत हिमाली क्षेत्रमा पुग्दा हिउँमा असर पर्न सक्छ। यस्ता कणले हिमनदीको सतहमा प्रभाव पारेर हिउँ पग्लिने प्रक्रिया तीव्र बनाउन तथा हिमनदी अस्थिर बनाउने जोखिम बढाउन सक्ने उनको भनाइ थियो।

विज्ञापन

‘सानो देशको प्रधानमन्त्रीले उठाएको भएर नसुनिएको हो कि, यसमा विज्ञताको अभाव भएर हो कि, यो कुरा सुनिएन,’ ओलीले विगतमा आफूले उठाएको विषयबारे भने। उनले जलवायु संकटका विषयमा पुनः सजग हुँदै आवश्यक प्रस्ताव तथा संकल्प पारित गरेर त्यसलाई विश्वव्यापी रूपमा उठाउनुपर्ने बताए।

प्रतिष्ठानले पनि यस विषयमा अग्रसरता लिएर आफ्ना अध्ययन, अनुसन्धानका निष्कर्ष र अवधारणालाई संयुक्त राष्ट्रसंघ तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय निकायसम्म पुर्‍याउनुपर्ने उनको सुझाव थियो। हिमाली क्षेत्रमा देखिएको जोखिमलाई बेवास्ता गरिए समस्या अझ बढ्न सक्ने उनले चेतावनी दिए।

कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारले अघि सारेका सामाजिक सुरक्षा तथा जनकल्याणसम्बन्धी कार्यक्रमको पनि चर्चा गरे।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणाअनुसार सडकमा अलपत्र परेका सहयोगापेक्षी नागरिकको व्यवस्थापन, असहाय तथा बेसहाराको संरक्षण र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा कार्यक्रम अघि बढाइएको उनले बताए।

उनले सडकमा सहयोग मागेर जीवनयापन गर्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बिमा र असहाय नागरिकको व्यवस्थापनजस्ता कार्यक्रमलाई समाजवादतर्फका महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरे।

‘नागढुंगाबाट साइनबोर्ड फाल्न सकिन्छ, ती कामको इतिहास फाल्न सकिँदैन,’ ओलीले आफ्नो नेतृत्वमा भएका कामको चर्चा गर्दै भने।

सरकार नागरिकप्रति जिम्मेवार हुनुपर्ने धारणा राख्दै उनले जिम्मेवारीलाई औपचारिक जवाफदेहिताभन्दा पनि नागरिकप्रतिको दायित्वका रूपमा व्याख्या गरे। आमाले आफ्नो बच्चाको हेरचाह गर्ने स्वाभाविक जिम्मेवारीसँग तुलना गर्दै सरकारले पनि नागरिकको संरक्षण र हितका लागि काम गर्नुपर्ने उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।