बेलायतको पश्चिम लन्डनमा तीन वर्षका बच्चासँगै अचेत अवस्थामा भेटिएकी अबु धाबीको शाही परिवारसँग सम्बन्धित ३२ वर्षीया महराह अल नाह्यानलाई अदालतले दुई वर्षको सामुदायिक आदेश सुनाएको छ।
उनले बच्चाको हेरचाहमा लापरबाही गरेको आरोप स्वीकार गरेपछि साउथवार्क क्राउन कोर्टले मंगलबार उक्त सजाय सुनाएको हो।
डेली मेलका अनुसार घटना गत जुन १३ मा पश्चिम लन्डनको व्यस्त सडकनजिक भएको थियो। अल नाह्यान सडकछेउको रेलिङमा अचेत अवस्थामा ढलिरहेकी थिइन्। त्यही बेला उनीसँग रहेका तीन वर्षका बच्चा खाली खुट्टा स्कुटरसँग खेलिरहेका थिए। एक बटुवाले बच्चा एक्लै र व्यस्त सडकनजिक रहेको देखेपछि सहयोगका लागि अघि सरेका थिए।

प्रहरी घटनास्थलमा पुगेपछि पनि अल नाह्यान करिब आधा घण्टासम्म होसमा आएकी थिइनन्। घटनास्थलमा रहेका एक व्यक्तिले खिचेको भिडियोमा उनी फुटपाथमा ढलिरहेको र नजिकै बालबालिकाका खेलौना रहेको देखिएको थियो।
अभियोजन पक्षका रियो पहलवानपुरले बच्चा खाली खुट्टा सडकनजिक स्कुटरसँग खेलिरहेको र चलिरहेको गाडीको नजिक पुगेपछि सर्वसाधारणले हस्तक्षेप गरेको बताएका थिए। न्यायाधीशले पनि समयमै सहयोग नगरिएको भए बच्चा गम्भीर जोखिममा पर्न सक्ने बताए।
होसमा आएपछि अल नाह्यानले उपस्थित मानिसलाई ‘यो वधशाला होइन, तिमीलाई किन यति धेरै वास्ता छ? तिमी किन यति धेरै चिन्तित छौ?’ भनेकी थिइन्। प्रहरीले उनको झोला जाँच गर्दा लागूपदार्थ सेवनमा प्रयोग हुने सामग्री फेला पारेको थियो। तर, कुनै अवैध लागूपदार्थ भेटिएको थिएन।
अभियोजन पक्षले अल नाह्यानले घटनाअघि कोकेन सेवन गरेको विवरण अदालतमा प्रस्तुत गरेको थियो। तर, उनका वकिल स्टेफन भुलो केसीले घटनाको दिन उनले लागूपदार्थ सेवन नगरेको र अघिल्ला दिनमा कोकेन सेवन गरेकाले निकै थकित भएको बताएका थिए।
वकिलका अनुसार अल नाह्यान अहिले बेलायतको सरेस्थित वोकिंगमा रहेको प्रायरी उपचार केन्द्रमा लागूपदार्थको लत छुटाउन उपचार गराइरहेकी छन्। उपचार सुरु गरेपछि उनले लागूपदार्थ सेवन गर्न छाडेको र लतबाट मुक्त हुन प्रयास गरिरहेको वकिलले बताएका थिए।
उनले तीन महिनाको उपचार कार्यक्रम पूरा गर्ने योजना बनाएको पनि वकिलले बताए। त्यसपछि गिल्डफोर्ड क्षेत्रमा घर भाडामा लिएर उपचारलाई निरन्तरता दिने र नार्कोटिक्स एनोनिमसको कार्यक्रममा सहभागी हुने उनको योजना रहेको बताइएको छ।
न्यायाधीश जोनसन केसीले अल नाह्यानलाई पुनर्वाससम्बन्धी व्यवस्था सहित दुई वर्षको सामुदायिक आदेश सुनाएका छन्। साथै, उनलाई पाँच हजार पाउन्ड जरिवाना र एक हजार पाउन्ड अदालती खर्च तिर्न आदेश दिइएको छ। अन्य शुल्कसमेत जोड्दा कुल ६ हजार ११४ पाउन्ड तिर्नुपर्ने इन्डियन एक्सप्रेसले जनाएको छ।
सजाय सुनाउँदै न्यायाधीशले बच्चाको सुरक्षामा लापरबाही भएको बताए। सर्वसाधारणले हस्तक्षेप नगरेको भए बच्चा हराउन सक्ने, अपरिचित व्यक्तिको हातमा पर्न सक्ने वा गम्भीर चोट लाग्न सक्ने जोखिम रहेको उनको भनाइ थियो। सामुदायिक आदेशअनुसार अल नाह्यान जेल नबसी समुदायमै रहेर दुई वर्षसम्म तोकिएका सर्त पालना गर्नुपर्नेछ।
महराह अल नाह्यान विवाहमार्फत अबु धाबीको शासक परिवारसँग जोडिएकी हुन्। अबु धाबीको शाही परिवार विश्वकै धनी र प्रभावशाली परिवारमध्ये एक मानिन्छ। तेल र विश्वव्यापी लगानीमा परिवारको ठुलो प्रभाव रहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।