मध्यपूर्वमा जारी युद्धका कारण इराकले करिब ६० अर्ब अमेरिकी डलरको आर्थिक क्षति बेहोरेको त्यहाँका विदेशमन्त्री फुआद हुसेनले बताएका छन्।
इरानले विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण होर्मुज जलमार्गमा अवरोध सिर्जना गरेपछि इराकको तेल उत्पादन र निर्यात प्रभावित भएको हो।
युद्धअघि इराकले दैनिक करिब ४० लाख ब्यारेल तेल उत्पादन गर्दै आएको थियो भने ३५ लाख ब्यारेल निर्यात हुने गरेको थियो।

इराकको अधिकांश तेल दक्षिणी क्षेत्रबाट होर्मुज हुँदै निर्यात हुने भएकाले जलमार्गमा अवरोध भएपछि उत्पादन घटाउनु परेको थियो।
भण्डारण क्षमता सीमित हुँदा इराकले सिरिया र टर्कीए हुँदै ट्रक तथा पाइपलाइनमार्फत सीमित मात्रामा तेल निर्यात गर्नुपरेको छ।
हुसेनले रोममा इटालीका विदेशमन्त्री सँगको भेटमा युद्धका कारण भएको क्षतिबारे जानकारी दिएका छन्।
इराकको कुल सरकारी राजस्वको करिब ९० प्रतिशत हिस्सा तेल निर्यातबाट प्राप्त हुन्छ।
तेल उत्पादनमा आएको गिरावटपछि निर्यातमा केही सुधार देखिए पनि सेप्टेम्बर १ देखि २१ सम्म दैनिक २६ लाख ब्यारेल तेल निर्यात भएको त्यहाँको तेल मन्त्रालयले जनाएको छ।
यसैबीच, इराकको विदेशी मुद्रा सञ्चिति २० अर्ब डलरले घटेको छ भने उपभोक्ता मूल्यसमेत तीव्र रूपमा बढेको छ।
आर्थिक संकट नियन्त्रण गर्न इराकको केन्द्रीय बैंकले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक अमेरिकी डलरको तुलनामा इराकी दिनारको मूल्य घटाएको छ।
तेल बिक्रीबाट प्राप्त विदेशी मुद्रामा निर्भर इराकले आयात, मुद्रा स्थिरता तथा सरकारी कर्मचारी र अवकाशप्राप्त व्यक्तिको तलब व्यवस्थापन गर्दै आएको छ।
आर्थिक निर्भरता घटाउन इराकले सन् २०३७ सम्म गैरतेल राजस्वको हिस्सा १० प्रतिशतबाट बढाएर ४५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।