इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सिरियाली राष्ट्रपति अहमद अल–शारासँग द्रुज समुदायमाथि भएको हिंसाबारे कुरा गरेको स्वीकार गरेका छन्। यो शारासँग आफ्नो प्रत्यक्ष सम्पर्क भएको नेतन्याहूको पहिलो स्वीकारोक्ति हो।
नेतन्याहूले फोनवार्ता कहिले भएको थियो भन्ने बताएका छैनन्। तर उनको भनाइले सन् २०२५ जुलाईमा दक्षिण सिरियामा द्रुज समूह, बेदुइन लडाकु र सरकारी सुरक्षा बलबीच भएको रक्तरञ्जित झडपका क्रममा फोनवार्ता भएको सङ्केत गर्छ।
‘मैले अल–शारालाई फोन गरेँ। यो धेरै छोटो र धेरै लक्षित कुराकानी थियो, र हत्या रोकियो,’ नेतन्याहूले इजरायलको द्रुज समुदायसँगको चुनावी सभामा भने। उनको भिडियो इजरायली सार्वजनिक प्रसारक कानले प्रसारण गरेको थियो।

सन् २०२५ को झडप सिरियाको स्वेइदा प्रान्तमा सशस्त्र द्रुज समूह र बेदुइन लडाकुबीच सुरु भएको थियो। त्यसपछि सरकारी सुरक्षा बल र केही जनजातीय समूहले बेदुइनको पक्ष लिएका थिए।
‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’का अनुसार दुई हजारभन्दा बढी मानिस मारिएका थिए भने तीमध्ये ७८९ द्रुज नागरिक थिए। सिरियाली सरकारले गठन गरेको समितिले एक हजार ७६० जनाको मृत्यु दर्ता गरेको बताएको छ। त्यसबेला सरकारी बल र उनीहरूका सहयोगीहरूमाथि नागरिकहरूको हत्या र अन्य दुर्व्यवहारको आरोप लागेको थियो।
इजरायलमा पनि झडपका क्रममा सैन्य हस्तक्षेप भएको क्षेत्रमा बसोबास गर्ने द्रुज जनसङ्ख्या छ। स्वेइदा र दमास्कसमा सरकारी लक्ष्यमा आक्रमण गर्दै इजरायलले अल्पसङ्ख्यक समुदायको रक्षा गरिरहेको बताएको थियो।
पछि सरकारी पक्षका बलहरू स्वेइदा सहरबाट फर्किए र कमजोर युद्धविराम कायम भयो। यसै वर्ष जुलाईमा दमास्कसले हिंसाका आरोपीहरूको मुद्दा चलाउन थालेको बताएको थियो।
सन् २०२४ डिसेम्बरमा लामो समयदेखि शासन गरेका बशर अल–असदको पतनपछि इजरायलले सिरियामा सयौँ आक्रमण गरेको छ र सन् १९७४ देखि गोलानमा इजरायली र सिरियाली बललाई छुट्याउने संयुक्त राष्ट्रसङ्घको गस्ती क्षेत्रमा सेना पठाएको छ।
इजरायलले सिरियाली भूमिभित्र गहिरो घुसपैठ पनि गरेको छ र दक्षिण सिरियामा तथाकथित ‘सुरक्षा क्षेत्र’ मा सेना राख्ने वाचा गरेको छ, जहाँ उसले फराकिलो सैन्यमुक्त क्षेत्र खोजिरहेको छ।
सिरियाका नयाँ नेताहरूले देशको दक्षिणमा इजरायली सैन्य कारबाहीको निन्दा गरेका छन् तर बल प्रयोग गरेर जवाफ दिएका छैनन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।