बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिक्षा, स्वास्थ्य, पर्यटन र योगका आधारमा भक्तपुरलाई नमूना जिल्ला बनाउने बताएका छन्।
सूर्यविनायक नगरपालिकालाई बिहीबार बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्दै उनले भक्तपुरको विकास, समृद्धिको यात्रामा स्थानीय तहसँग सहयोग, समन्वय र साझेदारी गर्दै लगिने बताए।
मुख्यमन्त्री थापामगरले भने, ‘गुणस्तरीय तथा सुलभ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, बालमैत्री एवं आधुनिक प्रविधियुक्त शैक्षिक केन्द्रका रूपमा विकास गर्ने, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने, शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग र प्राकृतिक चिकित्सा प्रणालीको विस्तार गर्ने सोचका साथ अघि बढिरहेको छ।’

कार्यक्रममा नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाका १० वटै वडा र नगरपालिकले सरकारले निर्धारण गरेको ५१ र नगरपालिकाको एक गरी ५२ वटा सूचक पूर्ण रूपमा पालना गरी प्रदेशको अनुगमन र प्रमाणीकरणबाट नै नगरपालिका बालमैत्री पालिका घोषणा गरेको बताए।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव कमल भट्टराई, नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराई, नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यलगायतले नगरपालिकाले बाल अधिकार र बालबालिकाको भविष्य सुनिश्चित गरेको बताउँदै नगरपालिकाले पूरा गरेको ५२ सूचकलाई घट्न नदिने बताए।
कार्यक्रममा बालपत्रिका विमोचन गर्नुका साथै पुराना संस्कति झल्कने ऐतिहासिक नृत्यहरू प्रस्तुत गरिएको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।