नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको विधान र पद्धतिविपरीत विदेशी शक्तिको इसारामा कथित विशेष महाधिवेशनको नाटक मञ्चन गरी कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र भएको आरोप लगाएका छन्।
बिहीबार काठमाडौं निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै नेता सिंहले गगन थापा समूहले गरेको विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गर्ने नियमित महाधिवेशन नै वास्तविक कांग्रेसको आधिकारिक महाधिवेशन हुने जिकिर गरे।
हाल नेपाली कांग्रेसभित्र गगन थापा पक्षले चुनावअघि विशेष महाधिवेशन गरी हालै १५औं महाधिवेशनसमेत सम्पन्न गरिसकेको छ भने शेरबहादुर देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै समानान्तर रूपमा वडादेखि जिल्ला तहसम्म आफ्ना नियमित अधिवेशनहरू अगाडि बढाइरहेको छ।

देउवा समूहले आयोजना गरेको काठमाडौं क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनमा बोल्दै नेता सिंहले पार्टीभित्रको वर्तमान विभाजनकारी अवस्थालाई लिएर गगन समूहप्रति आक्रोश पोखे।
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय नेतृत्व र कार्यसमितिलाई मात्र १५औं नियमित महाधिवेशन गराउने वैधानिक अधिकार रहेको बताउँदै उनले भने, ‘केन्द्रीय कार्यसमितिमा बसेर नियमित महाधिवेशनको कार्यतालिका स्वीकृत गरिसकेपछि कसको स्वार्थमा विशेष महाधिवेशनको भ्रम छरियो ? केही व्यक्तिहरू एउटा कोठामा भेला भएर सभापति हटायौं र केन्द्रीय समिति भङ्ग गर्यौं भन्दैमा पार्टी फुट्छ ? यस्तो अराजकताले कहाँबाट वैधानिकता पाउँछ ?’
ऐतिहासिक पृष्ठभूमि स्मरण गराउँदै सिंहले २०१४ सालको विशेष महाधिवेशनसँग अहिलेको गतिविधिलाई तुलना गर्नै नमिल्ने बताए।
२०१२ सालको वीरगन्ज महाधिवेशनबाट सुवर्णशमशेर सभापति चुनिए पनि २०१५ सालको आमनिर्वाचनलाई लक्षित गरी सुवर्णशमशेर स्वयम्ले केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराएर मात्र विराटनगरमा विशेष महाधिवेशन बोलाएको उनले उल्लेख गरे। अहिलेको नेतृत्वले विधान र प्रक्रियालाई लत्याएर मनपरी गरेको उनको आरोप छ।
क्रियाशील सदस्यता वितरण र व्यवस्थापनको मुख्य जिम्मेवारी पाएका महामन्त्रीहरूले आफ्नो दायित्व पूरा नगरी उल्टै संस्थापनमाथि दोष थोपर्न खोजेको सिंहले दाबी गरे।
उनले भने, ‘नेपाल भारत र चीनजस्ता ठूला मुलुकको बीचमा रणनीतिक अवस्थामा छ। विगतमा सिक्किमलाई भारतमा विलय गराउँदा कसरी पैसाको खेल खेलिएको थियो भन्ने इतिहास हामीले बिर्सनु हुँदैन। अहिले पनि पद र पैसाका लागि मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई दाउमा राख्दै पार्टी फुटाउने गैरजिम्मेवार गतिविधि भइरहेका छन्।’
सिंहले सामाजिक सञ्जालको भ्रामक प्रचारका पछि नलाग्न कार्यकर्तालाई सचेत गराउँदै बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेरजस्ता शीर्ष नेताहरूको योगदानबाट स्थापित चुनाव चिह्न ‘रुख’ नै कांग्रेसको मूल पहिचान भएको बताए।
अधिवेशनमा संविधानसभा सदस्य भीमसेनदास प्रधानले गगन थापाको व्यक्तिगत सभापति बन्ने महत्त्वाकांक्षाका कारण पार्टीले ठूलो क्षति बेहोर्नुपरेको दाबी गरे।
सरोजकुमार बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति
यसैबीच, अधिवेशनले काठमाडौं क्षेत्र नं. ६ को क्षेत्रीय सभापतिमा सरोजकुमार बस्नेतलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
नेपाली कांग्रेसका युवा नेता प्रबिनबहादुर भडेलका अनुसार प्रदेश सभा क्षेत्र ६ (क) को सभापतिमा पेम्बा तामाङ (सानु) र प्रदेश सभा क्षेत्र ६ (ख) को सभापतिमा निर्मला अधिकारी सर्वसम्मत चयन भएका छन्। त्यसैगरी, अधिवेशनले सभापतिसहित ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित गरेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।