दशैंको मौका छोपेर खसीको मासुको मूल्य बढाएका विराटनगरका व्यापारीलाई जिल्ला प्रशासन कार्यालय मोरङले लगाम लगाएको छ। प्रशासनले खसीको मासुको मूल्य प्रतिकिलो १ हजार २०० रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गर्दै अस्वाभाविक मूल्यवृद्धिमा रोक लगाएको हो।
विराटनगरका मासु व्यापारीले यसअघि प्रतिकिलो १ हजार ३०० रुपैयाँमा बिक्री गर्दै आएको खसीको मासुको मूल्य मंगलबारदेखि बढाएर १ हजार ४०० रुपैयाँ पुर्याएका थिए। चाडपर्वको समयमा उपभोक्ताको माग बढ्ने मौका छोपेर व्यापारीले पुनः मूल्य बढाएपछि प्रशासनले हस्तक्षेप गरेको हो।
जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार सूचना जारी गर्दै खसीको मासु प्रतिकिलो १ हजार २०० रुपैयाँभन्दा बढीमा बिक्री गर्न नपाइने जनाएको छ। निर्धारित मूल्यभन्दा बढीमा मासु बिक्री गरेको पाइए कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मासुको मूल्य अस्वाभाविक रूपमा बढाइएको गुनासो आएपछि प्रशासनले मूल्य निर्धारण गर्नुपरेको बताए। वस्तुको मूल्य सामान्यतया माग र आपूर्तिका आधारमा तय हुने भए पनि चाडपर्वको मौका छोपेर अस्वाभाविक मूल्य कायम गरिएपछि त्यसलाई नियन्त्रण गर्न प्रशासनले हस्तक्षेप गरेको उनको भनाइ छ।
कटेलका अनुसार मोरङमा खसीको मासु प्रतिकिलो १ हजार २०० रुपैयाँभन्दा बढीमा बिक्री गर्न पाइने छैन। यद्यपि, उपभोक्ताले छानेर बोसो नभएको वा हड्डीविनाको मासु किन्न चाहेमा त्यसको मूल्य भने फरक निर्धारण गर्न सकिने उनले बताए।
विराटनगर बजारमा गत वर्षसम्म खसीको मासु प्रतिकिलो १ हजार १०० रुपैयाँमा बिक्री हुँदै आएको थियो। गत फागुनमा व्यापारीले एकैपटक प्रतिकिलो २०० रुपैयाँ बढाएर मूल्य १ हजार ३०० रुपैयाँ पुर्याएका थिए। त्यसपछि दशैंको मुखमा पुनः १०० रुपैयाँ बढाएर प्रतिकिलो १ हजार ४०० रुपैयाँ पुर्याएपछि प्रशासनले मूल्य नियन्त्रणका लागि कदम चालेको हो।
प्रशासनले निर्धारित मूल्य कार्यान्वयन भए–नभएको विषयमा बजार अनुगमन गर्ने जनाएको छ। प्रमुख जिल्ला अधिकारी कटेलले प्रतिकिलो १ हजार २०० रुपैयाँभन्दा बढीमा खसीको मासु बिक्री गरेको पाइए सम्बन्धित व्यापारीमाथि कारबाही गरिने स्पष्ट पारे।
चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ्ने र त्यसैको आडमा मूल्यवृद्धि हुने प्रवृत्तिबीच प्रशासनको यो निर्णयले उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।