नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही दशक पछाडि धकेलिएको बताएका छन्।
उनले यो अभियान असफल वा पराजित नभएको तर लक्ष्य प्राप्तिको यात्रा भने पछाडि धकेलिएको बताए। समाजवादको आधार निर्माण गर्ने क्रममा सरकारले सामाजिक क्षेत्रमा गरेका कामको चर्चा गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा सडकमा अलपत्र परेका बालबालिकाको संरक्षण गर्ने घोषणा गरेको बताए।
‘हाम्रा छोराछोरी, नातिनातिनी सडकमा अलपत्र परेर कुकुरसँग सुत्ने, गाईसँगै फ्याँकिएको खाना खाने अवस्थामा रहन मिल्दैन। यो देश त्यति गरिब पनि छैन,’ ओलीले भने, ‘त्यसकारण हाम्रा बालबालिका अलपत्र पर्न सक्दैनन्, हामी व्यवस्था गर्छौं भनेर काम सुरु गर्यौँ।’

त्यसैगरी, सडकमा घाउखटिरा, भोकमरी र रोगसँग संघर्ष गरिरहेका सहयोगापेक्षी मानवको अवस्था अन्त्य गर्न पनि सरकारले काम गरेको उनले बताए।
उनले विभिन्न नाममा भिख माग्नेहरूको संख्या बढिरहेको उल्लेख गर्दै यसले सामाजिक व्यवस्थापनमा चुनौती थपेको बताए।
सामाजिक क्षेत्रमा भएका यस्ता कामले समाजलाई सुन्दर र व्यवस्थित बनाउँदै लगेको दाबी गर्दै ओलीले पछिल्लो घटनाक्रमले समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध पुर्याएको बताए।
‘यो हाम्रो गन्तव्य अलि पछाडि धकेलिएको छ। गत वर्षको घटनाले अझ पछाडि धकेल्यो, केही दशक पछाडि धकेल्यो,’ उनले भने, ‘यो अभियान सधैँ असफल भएको वा पराजित भएको होइन, तर समृद्ध नेपाल, सुखी नेपाली बनाउने बाटोमा हामी पछाडि धकेलिएका छौँ।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।