ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै अध्यक्ष ओलीले राजनीतिक तथा नीतिगत बहसहरू आम नागरिकको वास्तविक जीवनस्तर उठाउने दिशामा केन्द्रित हुनुपर्ने बताए।

अध्यक्ष ओलीले पार्टी र सरकारको मुख्य उद्देश्य जनताको जीवनस्तर माथि उठाउनु, गरिबी हटाउनु र विपन्नतालाई दिगो समृद्धिमा रूपान्तरण गर्नु रहेको बताए। यसका लागि आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

विज्ञापन

रोजगारीको मूल्याङ्कनसम्बन्धी आफ्नो दृष्टिकोण राख्दै ओलीले रोजगारीको मूल्य काम गरेको समयले नभई त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्ने स्पष्ट पारे। नागरिकलाई आर्थिक रूपमा सुरक्षित र सबल बनाउन सामान्य अल्मलिने वा नाम मात्रको होइन, परिवारको सम्पूर्ण आधारभूत आवश्यकता पूरा गर्न पुग्ने गुणस्तरीय र मर्यादित रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।

आफ्नो राजनीतिक तथा सामाजिक मान्यताको मूल आधार मानवतावाद भएको उल्लेख गर्दै उनले प्रत्येक नागरिकले खान, लाउन, बस्न, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको मुख्य दायित्व भएको बताए।

जात, वर्ग वा समुदायका आधारमा कुनै पनि किसिमको विभेद नगरी आम जनतालाई नै प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा ओलीले जोड दिए। अन्ततः सत्य, न्याय र समानताको बाटोबाट मात्रै समग्र समाजको कल्याण र समतामूलक समृद्धि हासिल गर्न सकिने उनको दृढोक्ति थियो।

नीति निर्माण प्रक्रियाको चर्चा गर्दै उनले पार्टी र सरकार सञ्चालन गर्दा परम्परागत वा मनगढन्ते तवरले नभई गहिरो अनुसन्धान र यथार्थ तथ्याङ्कका आधारमा निर्णय लिनुपर्ने बताए। गाउँका सामान्य जनतादेखि देशका मूर्धन्य बुद्धिजीवी र विज्ञहरूको सल्लाह र सुझावलाई आत्मसात् गरेर बनाइएका नीतिले मात्र नतिजा दिन सक्ने उनले उल्लेख गरे।

वर्तमान विश्व व्यवस्थामा आएको फेरबदलबारे टिप्पणी गर्दै ओलीले आज अलोकतान्त्रिक, षड्यन्त्रकारी र पपुलिस्ट माध्यमबाट सरकार ढाल्ने र लोकप्रिय नेताहरूलाई बदनाम गर्ने प्रवृत्ति बढेको बताए। यस्ता अराजक र षड्यन्त्रकारी प्रवृत्तिका विरुद्ध राजनीतिक रूपमा अत्यन्त सजग र सतर्क रहनुपर्ने चेतावनी उनले दिए।

जलवायु संकटको प्रसङ्ग जोड्दै ओलीले रसुवा भोटेकोशीमा आएको बाढी सामान्य मौसमी घटना नभई हिमालयमा भइरहेको गम्भीर जलवायु संकटको चेतावनी भएको बताए। दक्षिण एसियाको प्राकृतिक ‘वाटर टावर’ को रूपमा रहेको हिमालय क्षेत्रको पर्यावरण जोगाउन ‘सगरमाथा संवाद’ जस्ता मञ्चमार्फत क्षेत्रीय सहकार्य र विश्वव्यापी रूपमा सशक्त पैरवी आवश्यक रहेको उनले औंल्याए।

कार्यक्रममा सुरक्षा तथा विदेश मामिला विज्ञ डा. विष्णुराज उप्रेतीले आधुनिक राज्य सञ्चालनमा नीति अनुसन्धान र थिङ्क ट्याङ्कको भूमिका अपरिहार्य हुने बताउँदै भू-राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा नीतिको पुनर्संरचना गर्नुपर्ने सुझाइदिए।

त्यसैगरी जनसङ्ख्या तथा मानव विकास विज्ञ प्रा. डा. योगेन्द्रबहादुर गुरुङले नेपालमा जनसङ्ख्या वृद्धिदर घटे तापनि हाल ६५.२ प्रतिशत सक्रिय जनशक्ति ‘जनसांख्यिक लाभ’ को अवस्थामा रहेकाले यसलाई शिक्षा र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिए।

जलवायु तथा विपद् व्यवस्थापन अध्येता डा. नेत्रप्रसाद तिम्सिनाले भोटेकोशीको बाढीलाई जलवायुजन्य विपद्का रूपमा परिभाषित गर्दै अन्तर्राष्ट्रिय जलवायु कोषमा क्षतिपूर्तिको अधिकारसहित दाबी पेस गर्नुपर्ने बताए।

कार्यक्रममा बहस पत्र प्रस्तुत गर्दै वरिष्ठ अर्थशास्त्री एवं पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा अझै पनि ६० प्रतिशतभन्दा बढी परिवार अति निम्न र निम्न-मध्यम वर्गमा रहेको तथ्यांक प्रस्तुत गर्दै एमालेका नीतिहरू गरिबी निवारण, सामाजिक सुरक्षा र उत्पादनमुखी अर्थतन्त्रमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।