नेपाल आयल निगमले आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि हाल कायम साविककै बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।
मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक (१५ दिन) रूपमा ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।

विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ।
सोही कारण स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन गर्नुपर्ने अवस्था रहे पनि चाडबाडको मुखमा उपभोक्तालाई मार नपरोस् भनेर मूल्य नबढाइएको निगमले जनाएको छ।
निगमका अनुसार हाल तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १८० रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १६० रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् छ।
यसैगरी, हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) काठमाडौं, भैरहवा र पोखरा विमानस्थलका लागि तोकिएको साविककै दर कायम गरिएको निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।